• सञ्जय मित्र

तराई–मधेसमा प्रचलित अनेक किसिमका लोकगीतमध्ये चैतावर पनि एक हो । चैत महीनामा गाइने भएर यसलाई चैतावर भनिएको हो । कतिपय ठाउँमा यसलाई चैता वा चैतागीत पनि भनिएको पाइन्छ । नेपालका अनेक लोकगीतमध्ये चैतावर पनि लोपोन्मुख लोकगीत हो ।

चन्द्रमास अनुसार एक वर्षमा बार्ह महीना हुन्छ । बार्ह महीनामध्ये पहिलो महीना चैत हो । यही महीनादेखि वसन्त ऋतुको सुरुआत हुन्छ । वसन्त ऋतु चैत र वैशाख महीनाको समन्वित रूप हो । मिथकलाई मान्ने हो भने चैत महीनाको शुक्ल प्रतिपदाको दिनदेखि भगवान् ब्रह्माले सृष्टिको रचना आरम्भ गरेका थिए । अर्को के मान्यता छ भने सत्ययुगको सुरुआत पनि चैत महीनादेखि नै भएको थियो । सृष्टिको पालनकर्ता मानिने भगवान् विष्णुका दुई अवतार पनि यसै महीनामा भएको मानिन्छ । विष्णुको पहिलो अवतार मत्स्यावतार हो । मत्स्यावतार पानीमा भएको हो भन्ने मान्यता धेरैले बुझेका छन् ।

यस चैत महीनादेखि पानीमा जीव जन्मन शुरू हुन्छ भन्ने पनि बुझिन्छ । यसैगरी, भगवान्को चैत महीनामैं मत्स्यावतार भएको हुनाले यो पनि बुझ्न सजिलो हुन्छ कि जलजन्य जीवजन्तुको संरक्षणको कुनै समयमा अत्यधिक आवश्यकता महसूस गरिएमा भगवान्को यही अवतारको विशेष चर्चा गरिनेछ । सामान्यरूपमा हिन्दूहरूमा निकै लोकप्रिय रहेको रामायण कथाका नायक रामको जन्म पनि यही महीनामा भएको थियो । चैत शुक्ल नवमीका दिन रामको जन्म भएको हुनाले त्यस दिनलाई रामनवमी भनिन्छ । हिन्दू क्यालेन्डर चैत महीनादेखि नै आरम्भ हुन्छ ।

चैत महीना सांस्कृतिक दृष्टिकोणले पनि सम्पन्न महीना हो । अहिले त के भनिन थालेको छ भने चैतमा शुभ कार्य गर्नुहुँदैन । यसैले हिन्दूहरू चैत महीनामा विवाह, पूजा, गृह प्रवेश, घरको शिलान्यासजस्ता काम गर्दैनन् । यसको अर्थ यो होइन कि चैतलाई हाम्रो संस्कृतिले नराम्रो मानेको छ । चैत महीनाको, मुख्यगरी, शुक्ल पक्ष पर्व नै पर्वको रूपमा मनाइन्छ । चैती छठ र चैते दशैं यसका मुख्य सांस्कृतिक आकर्षण हुन् । चैते दशैंको धूमधाम हरेक वर्ष बढ्दो छ । यसैगरी, हरेक वर्ष चैती छठले निकै विस्तार पाइरहेको छ । जहाँ पहिले चैतमा व्रतालु एक/दुई जना हुने तर दर्शक भने बढी हुने गर्दथे र दर्शक पनि दुई/चार मिनेट हेरेर फर्किहाल्ने किसिमका हुन्थे, अब भने चैती छठमा सयौं व्रतालु हुन्छन् र हजारौं मानिस हेर्न पुग्न थालेका छन् । दश/पन्ध्र वर्ष पहिले कात्तिक महीनाको छठप्रति जुन किसिमको भौतिक वातावरण र आकर्षण हुन्थ्यो, आजभोलि चैती छठप्रतिको वातावरण र आकर्षण सोही किसिमको हुन थालेको छ ।

पहिले पनि चैठी छठ हुन्थ्यो र पहिले पनि चैते दशैं मनाइन्थ्यो तर अहिलेको जस्तो होइन । अहिले यी दुवै पर्वको निकै विस्तार भइसकेको छ । पहिले त चैते दशैं त्यति बेला आएको बुझिन्थ्यो, जब जनकपुरको रामनवमी मेला र सिम्रौनगढको गढ मेलाको चर्चा हुन थाल्थ्यो । तराई–मधेसमा जुन घरमा चैती छठ वा जुन घरमा चैते दशैं मानिन्थ्यो, त्यो घर, परिवार वा समाजलाई मात्र बढी जानकारी हुन्थ्यो तर अहिले परिस्थिति र परिवेश फेरिएको छ । बदलिएको परिवेशमा चैतको शुक्ल पक्ष आउनासाथ मन्दिरहरूमा देवीको गीत गुञ्जिन थाल्छ र गाउँघरमा थोरै भएपनि छठ पबनीको गीतले आधिपत्य जमाउँछ । दुवै किसिमको भक्ति गीतमा समाज एक किसिमले रमाउन थाल्छ । कतै रामकथा भन्न थालिन्छ त कतै दुर्गा भगवतीको कथा । कतै छठ पबनीको तयारी हुन थाल्छ । तर पहिलेदेखि चलिआएको चैतावरको उत्थान कतैबाट भएको पाइन्न ।

बितले फगुनवा आहो चैत अलई

हो, चैत अलई, हो चैत अलई

हो राम …

पहिले विरहको यो गीत निकै सुनिन्थ्यो । परदेश कामको खोजीमा गएको पिया फागुनमा पनि फर्केर नआएको र बाटो कुरेर बसेकी विरहिणीको विरह चैती गीत लगभग हराइसकेको छ । चैती गीतमा विरह, विछोड, प्रेम, हास्य, करुणा पाइन्छ । यसैगरी, विरह वेदनाको उन्मुक्त अभिव्यक्ति पनि पाइन्छ । यदि चैती गीतको राम्ररी अध्ययन गर्ने हो भने जीवनका सबै क्षेत्रको प्रस्तुति यसमा पाइन्छ तर विडम्बना यो छ कि अहिले कतैबाट पनि यस लोकगीतको संरक्षणतिर ध्यान गएको पाइएको छैन ।

केही दशक पहिले फगुआ गीत अर्थात् होरी गीत सरेहमा जहाँतहीं सुन्न पाइन्थ्यो, फागुनमा । फागुन बितेपछि जब चैत लाग्थ्यो, तब चैतावर शुरू हुन्थ्यो । कुनै पनि गाउँमा केवल चैत महीनामा मात्र चैतावर गाइन्थ्यो । चैतावर गाउन शुरू गर्ने समय करीब निश्चित थियो ।

हरेक गाउँमा फागु पूर्णिमाको भोरबामा हुने होलिकादहन, जसलाई स्थानीय भाषामा समत भनिन्छ, त्यहाँ नै होलीको समापन गरेर मात्र चैती गीत गाउन शुरू गरिन्थ्यो । जब समत जलाइन्छ, तब होली खेल्न शुरू हुन्छ र गाउँको होली समापन त्यतिखेर भएको मानिन्छ, जब समतको धूलो अर्थात् होलिकादहन गरिएको खरानी–धूलो उडाइन्छ । दिनभर होली खेलेर गाउँको होली सम्पन्न भएपछि विधिपूर्वक होली गीत गाउँदै समतको खरानी हातमा उठाएर आकाशतिर फाल्दै उडाएपछि गाउँको फागुन सकिएको र चैत शुरू भएको मानिन्थ्यो र अहिलेसम्म पनि यो चलन छँदैछ । जब समतको धूलो उडाइन्छ, तब फागुन समाप्त भएको मानिन्छ र त्यतिबेलै गाउँलाई जानकारी दिन होलीको त्यहीं डम्फू र अन्य बाजासहित तिनै सहभागीहरू चैतावर गीत गाउन थाल्छन् ।

चैतावर गीतको महत्व कम भइसकेको छैन । यसको आवश्यकता पनि कम भइसकेको छैन तर वर्तमानमा सर्वसाधारणले यसलाई बुझ्न नसकेर यो हराउँदै गएको हो । यसको पुस्तान्तरण हुन नसक्दा यो लोपोन्मुख बनेको छ । पुस्तान्तरणमा अवरोध देखिएको छ । एक किसिमको खालीपन देखिएको छ । पुराना पुस्ता जसले चैतावर गाउन सक्छन्, तिनीहरूको गायन कला वा गीतको कुनै मूल्य छैन ।

चैतावरको कुनै प्रयोजन बाँकी रहन सकेन । चैती छठ र चैते दशैंले केही हदसम्म प्रभाव पारेको अवश्य हो तर यी दुवै विशिष्ट पर्वको उत्कर्ष बढीमा नौ दिन रहन्छ । चैत नौ दिन मात्र रहने होइन, यसले गर्दा चैतावर पनि महीनाभर गाइनुपर्ने हो तर हराउँदै गएको छ । चिन्ता त यस कुराको हुनुपर्ने हो कि चैतावरजस्ता लोकगीत सामाजिक सम्पदाहरू बिस्तारै हराउँदै जाँदा पनि चिन्ता गर्ने कोही छैन ।

बारमासाको आफ्नै लय छ, बारमासा पनि लोकगीत नै हो । बारमासाले यो पनि सङ्केत गर्दछ कि बा¥है महीना गाइने लोकगीतहरू फरक छन् । अन्य महीनाका मौलिक लोकगीतहरू करीब हराइसकेका छन् । बढी मात्रामा फागुन र चैतका विशिष्ट लोकगीतहरू बाँकी थिए । फागुनको लोकगीतको लागि विशिष्ट पर्व फगुआ रहेकोले फगुआ मनाउने चलन बढ्दै जाँदा थोरै भएपनि फगुआ सचेतनाको अवसर रहेको छ तर चैतको कुनै विशिष्ट अवसर नभएकोले यो तीव्र गतिमा लोपोन्मुख लोकगीत बन्न पुगेको छ ।

वर्तमान पुस्तामा चैतावर गाउन सक्ने बाँकी रहेका केही मानिसलाई प्रोत्साहन दिन सके चैतावरलाई जोगाउन सकिन्थ्यो कि ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here