- विश्वराज अधिकारी
पिजा संस्कृति
अमेरिकामा संसारभरिका सयौं देशबाट बसाइँ सरेर अनेक धर्म, संस्कृति, परम्परा, विश्वास भएका व्यक्ति एवं परिवारहरू आएका छन् । अमेरिकालाई स्थायी बसोवास स्थल बनाएका छन् । संसारभरिका अनेक देशबाट अमेरिका आउनेहरूले आफ्नो घरमा आफ्नै मातृभाषा बोले तापनि कार्यालय, विद्यालय, कलेज, सार्वजनिक स्थानहरूमा केवल अङ्ग्रेजी मात्र बोलेझैं, आफ्नो घरभित्र आफ्नो धर्म, परम्परा, संस्कृति, विश्वास अनुसारको खाना खाए तापनि घरबाहिर भने मूलधारको अमेरिकी खाना–सेन्डविच, पिजा, पास्त, बर्गर आदि नै खान्छन् ।
अनेक देशबाट आएको भए तापनि, स्वदेशमा आफ्नै धर्म र संस्कृति अनुसारको खाना खाने भए तापनि, अमेरिका आएपछि प्रवासीहरू मूलधारको अमेरिकी खानामा घुलमिल हुन्छन् । पिजा संस्कृति अर्थात् मूलधारको खानामा विलीन हुन्छन् । अमेरिकी खाना मन पराउने हुन्छन् ।
अमेरिका आएका मातापिता पुस्ताले आफ्नो देशका खानेकुराहरू राम्रो मात्रामा खान्छन् । छोरीछोरा पुस्ताले आफ्नो देशका खानेकुरा सानै अंशमा खान्छन् । तर नातिनातिना पुस्ता भने पूर्णरूपमा पिजा संस्कृतिमा घुलमिल हुन्छन् । नातिनातिना पुस्ताका युवाहरूलाई अमेरिकी खाना अति मन पर्ने हुन्छ । हजुरआम/हजुरबाका देशका खानेकुराहरू ‘स्वादिलो हुँदैन’ भन्ने मनस्थितिमा समेत पुग्छन् । नेपाली आप्रवासीहरूको सन्दर्भमा कुरा गर्ने हो भने अमेरिकामा बसिरहेका तेस्रो पुस्ताका बालबालिका एवं युवकयुवतीहरूलाई ‘दाल, भात र तरकारी’ स्वाद नलाग्ने हुन्छ । खान मान्दैनन् । तर पिजा, सेन्डविच आदि दिने हो भने रमाएर खान्छन् । स्वादिलो मान्छन् ।
नेपाली आप्रवासीका सन्तानहरू जसरी पिजा संस्कृतिमा घुलमिल हुन्छन्, त्यसैगरी, अन्य मुलुकका आप्रवासीका सन्तानहरू पनि पिजा संस्कृतिमा घुलमिल हुन्छन् । यसरी अमेरिका बस्ने आप्रवासीको तेस्रो पुस्ता खानापिनको हिसाबले पिजा संस्कृतिमा घुलेर पूर्णरूपमा अमेरिकन हुन पुग्छ । भाषा र संस्कृतिको हिसाबले पनि अमेरिकन हुन पुग्छ । आप्रवासीका तेस्रो पुस्ताले आफ्नो मातृभाषा ज्यादै कम बोल्दा पनि अप्ठ्यारो गरेर बोल्छ । अङ्ग्रेजी भने फरर बोल्छ । यसरी तेस्रो पुस्ता पूर्णरूपमा अङ्ग्रेजी बोल्ने हुन पुग्छ । यो तेस्रो पुस्तालाई पहिलो पुस्ताको गृहदेशको चाडबाड कमै थाहा हुन्छ, स्थानीय चाडबाड बढी याद रहन्छ ।
अमेरिकी जीवन एउटा ‘पग्लिने भाँडो’ हो । यो पग्लिने भाँडोमा पसेपछि सबै पग्लिएर अमेरिकी हुन पुग्छन् र पिजा संस्कृतिमा रमाउन थाल्छन् । आप्रवासीको तेसो पुस्ता अमेरिकी जीवनमा घुलमिल भइसकेको हुनाले यस पुस्ताका युवाहरूले आफ्नो लागि स्वयम् पति वा पत्नी रोज्छन् । कलेज जान थालेपछि स्वतन्त्र भएर बस्न मातापिताको घर छाड्छन् । आफ्नो जीवन आफ्नो इच्छा अनुसार बाँच्छन् । मातपिताको हस्तक्षेपबाट पूर्ण मुक्त हुन्छ । मातापिताको हेरचाह (मातापिताको घरमा बसेर) गर्नु आफ्नो दायित्व हो भन्ने ठान्दैनन् । र यसरी शुरू हुन्छ पहिलो पुस्ताका आप्रवासीहरूको अमेरिकामा नीरस जीवन । आप्रवासीहरूको पहिलो र दोस्रो पुस्ताको बिजोग हुन्छ किनभने नेपालमा बसेका हुँदैनन्, अर्कोतिर अमेरिकी जीवन स्वीकार गर्ने मनस्थितिमा पुगिसकेका हुँदैनन् ।
आप्रवासीहरूको तेस्रो पुस्ता भने अमेरिकामा रमाउने भएर आफ्ना हजुरआमाहजुरबा, मातापिताको गृहदेश मन नपराउने स्थितिमा पुग्छ । त्यहाँको जीवनशैली, सामाजिक व्यवहार, परम्परा मन नपर्ने भइसकेको हुन्छ । यसरी पिजा संस्कृतिमा घुलमिल भएका आप्रवासीका सन्तानहरू अमेरिकी हुन पुग्छन् । अमेरिकामा रमाउन थाल्छन् ।