• बैधनाथ श्रमजीवी

यतिबेला नेपालको तराई–मधेसमा यज्ञको मौसम छ । गाउँघरतिर प्रायः यस्तै बेलामा प्रत्येक वर्ष यज्ञ गरिन्छ । छिमेकी राष्ट्र भारतमा यतिखेर भारतलाई हिन्दू राज्य बनाउने भन्ने चर्चा पनि ब्राह्मणहरूले थालेका छन् । अर्कोतर्फ गैरब्राह्मणहरू भारत संविधान अनुसार चल्नुपर्छ, हामीलाई धर्मनिरपेक्षता नै ठीक छ भनेर भन्दैछन् । नेपालमा पनि हुन लागेको यज्ञहरूमा दलित भनिएका जातिहरूलाई हवन गर्नलाई अनुमति नदिने परम्परालाई यस वर्ष पनि कायम राख्न कसरत गरिंदैछ ।

यतिखेर पर्सा जिल्लाको सदरमुकाम वीरगंज महानगरपालिकामा हुन लागेको यज्ञमा हामीले पनि हवन गर्ने अनुमति पाउनुपर्छ भनेर दलितहरूले माग गरिरहेका छन् । अर्कोतर्फ दलितलाई यज्ञमा हवन गर्न दिएमा हुन सक्ने दैवी प्रकोपको जिम्मेवारी कसले लिने भन्ने काल्पनिक त्रास देखाएर ब्राह्मणहरू यज्ञबाट दलितहरूलाई टाढा राख्न खोजिरहेका छन् । त्यसैगरी, हवन गर्न प्रतिव्यक्ति रु २१ हजार शुल्क राखेका छन् । यस्तोमा दलितहरू गरीबीका कारण पैसा तिर्न सक्दैनन् र सजिलै हवन गर्न वञ्चित हुन सक्छन् भन्ने चलाखीपूर्ण उपाय पनि निकालिएको देखिन्छ ।

हाम्रो समाजभित्र मानिसहरूबीच जातपात कसरी जन्मियो ? दलित भन्ने शब्द कसरी आयो ? कसले बनायो ? तथा यज्ञको सुरुआत कसरी भयो ? आदि विषयमा आउनुस् थोरै कुराहरू गरौं ।

हिन्दू धर्ममा मनोकामना पूर्ति तथा अनिष्ट टार्नका लागि यज्ञ गरिएका थुप्रै प्रसङ्ग पाइन्छन् । रामायण तथा महाभारत जस्ता महाकाव्यमा थुप्रै यज्ञकर्ता राजाहरूको वर्णन पाइन्छन्, जसले आफ्नो जीवनमा यज्ञ गरेका थिए । देवतालाई प्रसन्न पार्न यज्ञ गरिने परम्परा नै रहेको देखिन्छ । वेदका अनुसार यज्ञको रचना सर्वप्रथम ब्रह्माले गरेका थिए ।   ब्रह्माले मानिससँग मिलेर यज्ञको रचना गरे र भने, यही यज्ञबाट तिमीहरूको उन्नति हुन्छ । यज्ञबाट देवतालाई प्रसन्न पारिनुका साथै मनले चाहेको फल प्राप्त गर्न सकिन्छ । धर्मशास्त्रमा उल्लेख भए अनुसार कर्महरूको प्रायश्चितस्वरूप, अनिष्ट र दुर्योगहरूको शान्तिका लागि,  कुनै अभावको पूर्तिका लागि, कुनै सुयोग वा सौभाग्य प्राप्त गर्नका लागि, रोगहरू हटाउनका लागि, देवताहरूलाई खुशी पार्नका लागि, धनधान्य र उब्जनी बढाउनका लागि हवन गरिन्छ ।

यस्तोमा प्रश्न उठ्छ, अहिलेसम्म नेपालमा हजारौंचोटि यज्ञ भइसकेका छन् तर नेपालको अर्थतन्त्र निरन्तर ओरालो लाग्दैछ किन ? खै त यज्ञ गरेर श्रीवृद्धि भएको ? आजको आधुनिक युगमा यज्ञ गरेर सम्पन्न हुने होइन । वास्तवमा विज्ञान र प्रविधि प्रयोग गरी आत्मनिर्भर उत्पादनमा लागे मात्रै समृद्धिको बाटोतिर अग्रसर भइन्छ न कि यज्ञ गरेर यसको ज्ञान हुनुपर्छ ।

वर्णाश्रम जातीय व्यवस्थाको उपज दलित हो । समाजको विकासक्रममा राज्यले घोषितरूपमा सम्पत्ति, शिक्षा, स्वास्थ्य, वस्त्र, बसोबास, घरपरिवारजस्ता मानवीय आधारभूत आवश्यकताबाट समेत वञ्चित गराएको समुदाय वा वर्ग दलित हो । त्यसैले दलित वर्ग–समुदाय भन्दा उपयुक्त हुन्छ । कतिपयलाई भ्रम छ, हिन्दू वर्णाश्रम जातीय व्यवस्था भनेको देवता, कुल, अन्य कुनै लोकबाट उत्पत्ति गराइएको व्यवस्था होला । सत्यतथ्य भने त्यस्तो होइन । हिन्दू वर्णाश्रम व्यवस्था भनेको मानिसलाई चार वर्ण ब्राह्मण, क्षत्री, वैश्य र शूद्रमा विभाजन गरिएको व्यवस्था हो । मध्य एशिया, युरोपलगायत देशबाट विशाल महाभारत खण्ड (सिन्धु नदी सभ्यता)मा खस–आर्य जातिको प्रवेशसँगै करीब तीन हजार वर्षअघि शुरू भएको आर्यशासनपश्चात् यो वर्णाश्रम व्यवस्था लादिएको हो । कतिपय दलित समुदायका जाति जस्तै कामी, दमाई, गाइने आदि आफूलाई खस–आर्य नै भएको दाबी गर्छन् । उनीहरू खस–आर्य नै हुन् भने उनीहरूमाथि अछूत, विभेद, दमन या शूद्र किन बनाइयो त ?

कालान्तरमा शूद्र वर्णको जातिभित्र अन्य वर्ण या जातिको रक्तमिश्रण हुन गई दलित समुदायका कतिपय जातिका शारीरिक बनावट नाक चुच्चो, लाम्चो अनुहार, गढेका आँखा अथवा आर्य वर्णजस्तै देखिने र उनीहरूका थर, गोत्र र संस्कारसमेत आर्यसँगै मिल्न पुगे पनि दलित (शूद्र)हरू अनार्य नै हुन् । जब आर्य शासकको छलपूर्ण युद्ध अस्वीकार गर्ने, हारेका जाति (वर्ण)लाई तत्कालीन समयदेखि नै शूद्र र दास जाति घोषणा गरी क्रूर वर्णाश्रम जातीय व्यवस्था लादिएको थियो । आर्य वर्णका प्रथम राजा ऋषि मनुले कठोर कानूनमार्फत वर्णाश्रम व्यवस्था लागू गरे । तत्कालीन कानून मनुस्मृतिमा त्यस प्रकारको कठोर व्यवस्था अझै पढ्न पाइन्छ ।

यतिबेला हाम्रो समाजको विकासको मूल बाधकको रूपमा जात–व्यवस्था पनि हो । यो जात–व्यवस्थालाई उन्मूलन नगरेसम्म वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न सकिंदैन । समाजभित्र समानताको अवस्था ल्याउन जात–व्यवस्थाको अन्त्य हुनैपर्छ । सांस्कृतिकरूपमा विभेद हटाएर समानता ल्याउन सकेन भने केवल राजनीतिकरूपमा संविधानमा हकअधिकार वा जातपात, छुवाछूत उन्मूलन लेख्दैमा त्यसको कुनै अर्थ हुँदैन, व्यवहारमा ।  यही कारण हो, जसले गर्दा जातपात, छुवाछूत उन्मूलनबारे संविधानमा धेरैचोटि लेखे पनि अहिलेसम्म जाति व्यवस्था पुरानैरूपमा कायम रहेको छ । समाजभित्र वैज्ञानिक सोचको विकास हुन जरुरी छ । नेपालमा रहेका ६५ लाख दलित समुदायलाई बहिष्कृत गरेर राष्ट्रले न समृद्धि प्राप्त गर्न सक्छ, न त स्थायित्व, न त दीर्घ शान्ति, न उन्नतिको कल्पना नै गर्न सक्छ ।

आजको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक समाजमा समानता, न्याय, विधिको शासन, शान्तिसुरक्षा, निष्पक्षता स्थापना गर्न जरुरी छ । यो लोकतान्त्रिक गणतन्त्रको युग हो । अब पनि मानिसहरूलाई जातविशेषको आधारमा विद्यालय, मन्दिर, पँधेरो, धारा, यज्ञ आदि ठाउँमा छुवाछूत गर्ने, प्रवेश निषेध गर्ने, होटल पसलमा खाँदा जूठो भाँडा सफा गर्न लगाउने, अन्तरजातीय विवाह वा प्रेम गर्दा सामूहिकरूपमा बीभत्स हत्या गर्ने जस्ता अमानवीय तथा गैरकानूनी काम कोही कतै गर्नुहुँदैन । संसारमा सबै मानिस समान हुन् भन्ने भावनालाई प्रेषित गर्दै सबैसँग समान व्यवहार गरिनुपर्दछ । अनिमात्र देश र समाजको शान्ति, समृद्धिको यात्राले सफलतापूर्वक वैज्ञानिक समाजवादको लक्ष्य प्राप्त गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here