प्रस, निजगढ, २ चैत/
कोल्हवी नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को नदीजन्य पदार्थ (दहत्तर बहत्तर)को ठेक्का लगाउँदा ठेकेदारसँग गरिएको सम्झौताको कागजात माग गर्दा उपलब्ध नगराएको जनाइएको छ ।
नदीजन्य पदार्थ उत्खननका लागि कोल्हवी नपाले तयार गरेको वातावरणीय परीक्षण प्रतिवेदन, ठेकेदारसँगको सम्झौता, पट्टा फारामलगायत आवश्यक कागजात सूचनाको हक प्रयोग गरी माग गर्दा पनि नगरपालिकाले नदीजन्य पदार्थ ठेक्काको कागजात दिन बेवास्ता गरेको सिम्रौनगढका अजय यादवले आरोप लगाएका छन् ।
उनले निवेदन दर्ता गर्न खोज्दा नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत नभएकाले कर्मचारीले दर्ता नगरेको बताए । सार्वजनिक चासो र सार्वजनिक स्रोत साधनको ठेक्का लगाउँदाका कागजातहरू नगरपालिकाले पारदर्शी तरीकाबाट उपलब्ध हुने व्यवस्था गर्नुपर्नेमा नपाले आफ्नो आधिकारिक वेबसाइटमा पनि नराखेको र माग गर्दा दिन पनि नचाहेको यादवले आरोप लगाए ।
कोल्हवी नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ५७ लाख ११ हजार ८३५.५२ घनफिट नदीजन्य पदार्थको न्यूनतम ठेक्का सकार रकम तीन करोड ९९ लाख ८२ हजार ८४८ रुपैयाँ ६९ पैसा तोकेको थियो ।
ठेकेदार कम्पनीले चार करोडमा ठेक्का सकार गरेको कोल्हवी नपाले जनाएको छ ।
सो परिमाणको नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, ढुवानी २७० दिन अर्थात् नौ महीनामा र प्रतिदिन १० हजार ५८४ घनफिटभन्दा बढी गर्न नपाइने वातावरणीय परीक्षण प्रतिवेदनमा उल्लेख छ । तर यहाँ दैनिक ८० हजारदेखि एक लाख २० हजार घनफिटसम्म नदीजन्य पदार्थ उत्खनन, सङ्कलन र ढुवानी भइरहेको स्रोतले जनाएको छ ।