नितेश कर्ण, सौराहा, २ चैत/
नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाको आयोजनामा चितवनको पर्यटकीय क्षेत्र सौराहामा बिहीवारदेखि तीन दिने आवासीय तालीम शुरू भएको छ ।
आमसञ्चारकर्मीको दक्षता अभिवृद्धिका लागि वीरगंज महानगरपालिकाको सहयोगमा भएको तालीम उद्घाटन गर्दै नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य एवं नगरप्रमुखका प्रेस सल्लाहकार महेश दासले पत्रकारिताको विकासका लागि महानगर सदैव सहयोगी रहेको बताए । उनले पत्रकारहरूको दक्षता, क्षमता वृद्धिका लागि आगामी दिनमा पनि महानगरले महासङ्घसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।
कार्यक्रममा शाखा अध्यक्ष अनुप तिवारीले वीरगंजमा तालीम आयोजना गर्दा प्रभावकारी सहभागिता हुन नसकेको कारण सौराहामा आवासीय तालीम आयोजना गरिएको बताए । उनले वीरगंजमा तालीम आयोजना गर्दा पहिलो सत्रमा ठूलो सङ्ख्यामा सहभागिता हुने तर अन्तिम सत्रमा सङ्ख्या पातलिने गरेकोले सौराहामा आवासीय तालीम आयोजना गर्नुपरेको बताए । उनले तालीमका साथै पर्यटकीय क्षेत्र सौराहामा पुनर्ताजगी पनि हुने बताए ।
उद्घाटन कार्यक्रममा पत्रकार महेश गौतम, विजय भण्डारी, कृष्णउदास खनाललगायतको सहभागिता थियो । तालीमको सहजीकरण उपाध्यक्ष युवराज खड्काले गरेका थिए ।
तीन दिन आवासीय तालीममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा.महेन्द्र विष्टलगायतले प्रशिक्षण दिने बताइएको छ ।