प्रस, वीरगंज, २ चैत/

ठाकुर राम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी जेठ १३ हुने भएपछि सो विषयलाई लिएर क्याम्पसमा बिहीवार पनि विवाद भयो । नेविसङ्घसँग आबद्ध मुनराज तिवारी नेतृत्वका विद्यार्थीहरूले आज क्याम्पसमा स्ववियु निर्वाचन चैत ८ गते नै हुनुपर्ने माग राख्दै तालाबन्दी गरेका छन् ।

मङ्गलवार साँझदेखि क्याम्पसमा अनशन शुरू गरेको तिवारी पक्षले हिजो साँझ अनशन तोडेको थियो । हिजै प्रजिअ हीरालाल रेग्मीको पहलमा जिल्ला प्रशासन कार्यालय, पर्सामा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले क्याम्पसमा विकसित पछिल्ला घटनाक्रमको मूल्याङ्कन गर्दै चैत १२ गतेदेखि शुरू हुन लागेको परीक्षालाई मध्यनजर गरी जेठ १३ गते स्ववियु निर्वाचन गराउने सहमति गरेको थियो । सो सहमतिपछि क्याम्पसमा अनशन गर्दै आएको तिवारी नेतृत्वको टोलीले साँझ अनशन तोडेको थियो । तर आज फेरि क्याम्पसमा तालाबन्दी गर्दै चैत ८ गते नै स्ववियु निर्वाचनको माग गरेको छ । स्ववियु निर्वाचनको विषयलाई लिएर ठाराब क्याम्पसमा यसअघि आगजनी, तालाबन्दी भएको थियो ।

विवाद साम्य पार्ने प्रयासहरू सफल नभएपछि चैत ५ गते घोषित स्ववियु निर्वाचन चैत ८ गते सारिएको र त्यसपछि पनि विवाद साम्य हुनुको साटो बढ्दै गएपछि जेठ १३ गतेका लागि सारिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here