प्रस, वीरगंज, १ चैत/
सरकारको नियमलाई पाखा लगाउँदै पर्साका क्रसर उद्योग सञ्चालकहरूले अवैध तरीकाले क्रसर सञ्चालनमा ल्याएका छन् ।
पर्सामा इजाजतप्राप्त पाँचवटा क्रसर उद्योग रहेको जिल्ला समन्वय समितिका प्रमुख निरञ्जन सर्राफले बताए । सोमध्ये सबै आवश्यक कागजात ठीक रहेको एक क्रसर उद्योगलाई सञ्चालन इजाजत दिएको उनले बताए । तर बाँकी क्रसर उद्योगहरू भने आफूखुशी विनाइजाजत सञ्चालनमा आएको उनले बताए । उनले प्रक्रिया पूरा नगरी सञ्चालनमा आएका क्रसर उद्योगहरू बन्द गराउनेतर्फ पहल शुरू भएको बताएका छन् ।
वीरगंज महानगरको मुसौलीमा नै सबै पाँचवटा क्रसर उद्योग सञ्चालनमा छन् ।
जिससबाट प्रक्रिया पूरा गरेर एउटा उद्योग सञ्चालनमा आएको तर अन्य चारवटा विनाइजाजत सञ्चालनमा आए पनि बन्द गर्नेतर्फ पहल भएको छैन । शक्ति केन्द्रको आडमा चारवटा क्रसर उद्योग सञ्चालनमा रहेकाले स्थानीय प्रहरी प्रशासनले बल प्रयोग गरी बन्द गराउनेतर्फ पहल नगरेको स्रोतको आरोप छ । यसअघि गृहको आदेशमा पर्सा जिल्लामा रहेका सबै क्रसर उद्योगलाई जिल्ला प्रशासन कार्यालय, पर्साले पत्रका आधारमा बन्द गराएको थियो । तर अहिले सोही उद्योगहरूलाई मौखिक आदेश जारी हुँदा पनि बन्द नगरिएकामा आश्चर्य मानिएको छ । चारवटा क्रसर उद्योगले अवैधरूपमा बालुवा, गिट्टी सङ्कलन गरिरहेका छन् ।
मुसौलीमा जय नेपाल बालुवा प्रशोधन केन्द्र, गङ्गा बालुवा उद्योग, पप्पु कन्ट्रक्सन, यादव क्रसर उद्योग र नेपाल क्रसर उद्योग दर्ता छन् । तर यीमध्ये यादव क्रसर उद्योगले मात्र आधिकारिकरूपमा उद्योग सञ्चालन गर्न पाउने इजाजत पाएको जिल्ला समन्वय समिति, पर्साले जनाएको छ ।