प्रस, परवानीपुर, १ चैत/
मध्यतराईका पर्सा, बारा, रौतहट, सर्लाहीमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक)को आवश्यकता बढ्दै गए तापनि सरोकारवाला निकायको ध्यान त्यसतर्फ नगएको देखिएको छ ।
पर्सादेखि सर्लाहीसम्म नेपाल रेडक्रस सोसाइटी, पर्साको मातहतमा वीरगंजमा ब्लड बैंक रहेको छ भने रौतहटको गौर र सर्लाहीको मलङ्गवामा दुईवटा साधारण युनिट गरी तीन ठाउँमा ब्लड बैंकले सेवा दिइरहेको छ । त्यसमा पनि गौर र सर्लाहीको युनिटले नाम मात्रैको सेवा दिन्छ ।
वीरगंजबाहेक प्रभावकारी सेवा दिने ब्लड बैंक यस क्षेत्रमा छैन । गौर र सर्लाहीका युनिटले महीनामा १०–१२ युनिट मात्रै रगत खपत गर्छन् ।
गत फागुन २५ गते सिमरामा नारायणगढतर्फ गइरहेको एक यात्रुवाहक बस पल्टेर दुर्घटना भयो । उक्त बस दुर्घटनामा २९ जना घाइते भए, २६ जनाको उपचार सिमरास्थित अल्पाइन हस्पिटलमा भयो ।
बाँकी तीनजना सिकिस्त बिरामीलाई वीरगंजको मेडिसिटी वयोधा अस्पताल रेफर गर्नुपर्याे । कारण थियो, रगतको व्यवस्था नहुनु । तीनजना बिरामीको तत्कालै शल्यक्रिया गर्नुपर्ने भएकोले उनीहरूलाई रगतको खाँचो भएकोले उनीहरूलाई वीरगंज पठाउनुबाहेक अन्य विकल्प नरहेको अस्पतालका सञ्चालक शिव शर्माले जानकारी दिए । उनको अनुसार सिमरामा ब्लड बैंकको व्यवस्था भएमा वीरगंज पठाउने बिरामीको चाप घट्ने र सही समयमा बिरामीले उपचार सेवा पाएर ज्यान बचाउन सकिने उनले बताए । उनले जीतपुरसिमरा उपमहानगरसँग ब्लड बैंकको लागि तीनपटक नेपाल रेडक्रस सोसाइटी, सिमरा शाखाबाट निर्णय गराएर दिंदासमेत कुनै पहल नभएको बताए ।
नेरेसो, सिमराका सभापतिसमेत रहेका शर्माले बारामा कलैया, निजगढ, सिमरामा ब्लड बैंकको आवश्यकता रहेको बताए । तर उचित भौतिक पूर्वाधार तथा ब्लड बैंक सञ्चालनको लागि उचित खर्चको टुङ्गो नलाग्दा ब्लड बैंक स्थापनामा समस्या उत्पन्न भइरहेको बताए । उनले पर्साको पोखरिया, रौतहटको चन्द्रपुर, सर्लाहीका अन्य शहरमा पनि ब्लड बैंक स्थापनाको लागि स्थानीय सरकारले पहल गर्नुपर्नेमा जोड दिए ।
यता, रक्तसञ्चार केन्द्र वीरगंजका इन्चार्ज सौरभराज पाण्डेले ब्लड बैंक दाताहरूको सहयोगबाट चल्ने भएकोले समस्या भइरहेको बताए । यस क्षेत्रमा सरकारले खर्च छुट्याइ ब्लड बैंक सञ्चालनका लागि सहयोग गर्नुपर्ने बताए । “ब्लड बैंकका लागि कम्तीमा १५ लाख र बढीमा ३५ लाखसम्म खर्च लाग्छ,” उनले भने, “त्यसपछि भौतिक पूर्वाधार र मेशिनबाहेक पाँचजना प्राविधिक एवं दुईजना कार्यालय सहयोगीको सेवा सुविधा पनि आवश्यक पर्ने भएकोले ब्लड बैंक सञ्चालनमा समस्या भइरहेको छ ।” उनले ब्लड बैंक सञ्चालनमा राज्यले नीतिगत योजना ल्याउनुपर्ने बताए । आजको बढ्दै गएको जनसङ्ख्यालाई एकै थलोबाट सेवा दिन समस्या भइरहेको उनले बताए । उनले रौतहट र सर्लाही सम्मका बिरामीलाई वीरगंजबाटै सेवा दिनुपर्ने बताउँदै ठाउँठाउँमा ब्लक बैंक भएमा बिरामीले रगतको अभावमा ज्यान गुमाउने नपर्ने बताए ।