प्रस, वीरगंज, १ चैत/

वीरगंज महानगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा खोजी अभियानलाई निरन्तरता दिएको छ ।

वडा नं १९ मा पाँच बिघा सात कट्ठा जग्गा अतिक्रमण मुक्त गरेको टोलीले हिजो करीब सात बिघा र आज करीब चार बिघा गरी अहिलेसम्म १६ बिघा सार्वजनिक जग्गा नियन्त्रणमा ल्याएको महानगरले जनाएको छ ।

स्थानीय केही व्यक्तिले अतिक्रमण गरेको जग्गा फागुन २७ गते सोमवारदेखि महानगरको अधीनमा लिने कार्य शुरू गरेको छ । यसअघि सो क्षेत्रका अमिनहरूसमेतबाट नापजाँच गरी जग्गाको यकीन गरेर सार्वजनिक जग्गा अतिक्रमणमुक्त गर्ने अभियान शुरू गरिएको हो । सोमवार, मङ्गलवार र बुधवार गरी तीन दिनमा महानगरले करीब १६ बिघा जग्गाभन्दा बढी अधीनमा लिइसकेको महानगरका सचिवालय  सल्लाहकार हरि पोखरेलले बताए ।

महानगरले अधीनमा ल्याएको सार्वजनिक जग्गाको बुधवार नगरप्रमुख राजेशमान सिंह, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलसमेतको टोलीले स्थलगत निरीक्षण गरेको थियो । सो क्रममा नगरप्रमुख सिंहले तारबार लगाएर सार्वजनिक जग्गामा वृक्षारोपण गर्न निर्देशन दिएका थिए ।

अतिक्रमित जग्गा वडा नं १७ का स्थानीय केही व्यक्तिले भोगचलन गर्दै आएको वडा नं १९ का अध्यक्ष मुकेशकुमार चौरसियाले बताए ।  सार्वजनिक जग्गा नापजाँच गरी छुट्याउने कार्यमा वडाध्यक्ष सञ्जु छतकुली, नगरप्रमुखका प्रेस सल्लाहकार महेश दास, सचिवालय सल्लाहकार सत्यराज घिमिरे, महानगरका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगरप्रहरी प्रमुख हरि भुसाल, अमिन लेखनारायण कर्ण, अनिल पण्डित, रामेश्वरप्रसाद कुशवाहा लगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here