नयाँ दिल्ली, २७ फागुन/एएनआई

प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणमा रहेकी अमेरिकी वाणिज्यमन्त्री जीना रेमन्डोसँग शुक्रवार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीको कार्यालयले ट्वीटमा उल्लेख गरेको छ, “अमेरिकी वाणिज्यमन्त्री रेमन्डोसँगको प्रधानमन्त्री मोदीको भेटवार्ता फलदायी रह्यो ।” रेमन्डोले शुक्रवार केन्द्रीय वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलसँग पनि प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेकी थिइन् । सो अवसरमा भारत र अमेरिकाबीच विभिन्न विषयमा व्यापारिक वार्ता भएको र थुप्रै समझदारीपत्रमा हस्ताक्षरसमेत भएको बताइएको छ ।

संयुक्त विज्ञप्तिमा भनिएको छ– भारत र संयुक्त राज्य अमेरिका दुवैले उनीहरूलाई वस्तु र सेवाको गुणस्तर आपूर्तिकर्ता र उपभोक्ताका रूपमा मान्यता दिएका छन् ।

अमेरिकाका थुप्रै कम्पनी भारतमा लगानी गर्न इच्छुक रहेको घोषणा गर्दै रेमन्डोले भनिन्, “विगत दुई वर्षमा भारतले प्रधानमन्त्री मोदीको नेतृत्वमा गरेका धेरै कार्यले भारतलाई व्यापार गर्न अझ आकर्षक ठाउँ बनाएको छ । थप पारदर्शिता, डिजिटल अर्थतन्त्रमा द्रुत गति, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, यी सबै कुराले भारतलाई अझ आकर्षक साझेदार बनाउँछ ।”

यसैगरी, भारत र अमेरिकाले सेमिकन्डक्टर आपूर्ति शृङ्खलालगायतका व्यापारिक क्षेत्रलाई बढावा दिन आपसी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । तीन वर्षको अन्तरालपछि आपूर्ति शृङ्खलामा लचिलोपन र विविधीकरण र नयाँ उदीयमान क्षेत्रमा जोड दिंदै रणनीतिक क्षेत्रमा व्यापक समझदारी विकास भएका छन् ।

पछिल्लो समय भारत–अमेरिका वाणिज्य वार्ता सन् २०१९ फेबु्रअरीमा भएको थियो । त्यसपछि कोभिड–१९ प्रकोपलगायतका कारणले वार्ता अगाडि बढ्न सकेको थिएन ।

यसैगरी,  भारत–अमेरिकी सिइओ फोरम सन् २०२२ नोभेम्बरमा भारतीय वाणिज्य र उद्योगमन्त्री र अमेरिकी वाणिज्यमन्त्रीद्वारा भिडियो कन्फ्रेन्समार्फत छलफल भएको थियो । सो वार्ताले प्रमुख प्राथमिकताका क्षेत्रमा आपूर्ति शृङ्खला बढाउने र ऊर्जा सुरक्षा प्रवर्धनलगायत थिए ।

हरितगृह ग्याँस उत्सर्जन, समावेशी डिजिटल व्यापारको विकास र विशेषगरी साना व्यवसायको लागि महामारीपछिको आर्थिक पुनर्उत्थानका निम्ति सहजीकरण गर्ने विषय पनि दुवै देशका प्राथमिकतामा परेका छन् ।

दुई देशद्वारा जारी समझदारीपत्रले अमेरिकाको चिप्स, विज्ञान ऐन र भारतको सेमिकन्डक्टर मिसनलाई ध्यानमा राख्दै अर्धचालक आपूर्ति शृङ्खलाको वृद्धि र विविधीकरणमा दुई सरकारबीच एक सहयोगात्मक संयन्त्र स्थापना गर्न खोजिएको उल्लेख गरेको छ ।

यसैगरी, समझदारीपत्रमा दुई देशबीच पारस्परिकरूपमा अनुसन्धान कार्य सञ्चालन गर्दै प्रतिभा र सीपको विकासमा फड्को मार्ने परिकल्पना गरिएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here