बेइजिङ, २६ फागुन/सिन्ह्वा
जनगणतन्त्र चीनको राष्ट्रपतिमा चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का महासचिव सी जिनपिङ निर्विरोध निर्वाचित भएका छन् । यहाँ जारी राष्ट्रिय जनकङ्ग्रेसको १४औं महाधिवेशनले उनलाई राष्ट्रपतिमा सर्वसम्मतिले चयन गरेको हो ।
महाधिवेशनले महासचिव सीलाई केन्द्रीय सैन्य आयोग (सिएमसी)को अध्यक्षमा समेत निर्विरोध निर्वाचित गरेको छ ।
राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि उनले ग्रेट हल अफ दी पिपलमा संविधानप्रति आफ्नो निष्ठा एवं प्रतिबद्धता दोहोर्याए ।
त्यसैगरी, महाधिवेशनले हान झाङलाई उपराष्ट्रपतिमा निर्वाचित गरेको छ ।
यसैबीच, अमेरिकी समाचार समिति एशोसिएटेड प्रेसले गम्भीर आर्थिक चुनौतीका साथै अमेरिका र अन्यसँग बढ्दो तनावका बीचमा तेस्रो पाँच वर्षे कार्यकालका निम्ति सी जनकङ्ग्रेसबाट अनुमोदित भएको टिप्पणी गरेको छ । उनले दुई हजार ९५२ मत प्राप्त गरेका तथा उनको विपक्षमा एक मत पनि नपरेको जनाइएको छ ।
चिनियाँ नेताहरूले दशकमा एकपटक सत्ता हस्तान्तरण गर्ने परम्परालाई तोड्दै ६९ वर्षीय सी गत अक्टोबरमा तेस्रो पाँच वर्षे कार्यकालका निम्ति सिपिसीको महासचिव बनेका हुन् । संविधानमा दुईपटकभन्दा बढी अवधि राष्ट्रपति बन्न नपाइने व्यवस्थालाई संशोधन गरेर उनी सत्तासीन भएका हुन् ।
गोप्यरूपमा भएको निर्वाचनमा उम्मेदवारको सूची सार्वजनिक भएको थिएन । सबै पदमा निर्विरोध भएको घोषणा गरिएको थियो । यद्यपि ग्रेट हलको विशाल सभागारमा मतपेटिका राखिएका थिए । रासस