• राजेश मिश्र

 “बच्चासन के जन्मदर्ता प्रमाणपत्र बनवावे के बा, काथी–काथी करे के परी ?” वडा कार्यालयमा सेवाग्राहीले प्रश्न गरे । नयाँ जनप्रतिनिधिहरूको आगमनपश्चात् कार्यालयको कामकारबाही सरल, सहज, द्रुत र भ्रष्टाचारमुक्त हुने आमअपेक्षा हो । सेवाग्राहीका एक छोरा र एक छोरी विद्यालय जाने उमेरका भइसकेका छन् । जन्मदर्ता प्रमाणपत्र वडा कार्यालयमार्फत जारी हुने नियम रहेकोले सेवाग्राही वडा कार्यालय गएका रहेछन् । विद्यालयमा नामाङ्कन हेतु जन्मदर्ता प्रमाणपत्र आवश्यक पर्र्छ ।

उनी बच्चाहरूको जन्मदर्ता प्रमाणपत्रको लागि वडा कार्यालयमा कति दिन धाउनुपर्यो ? दलालले उनीसँग के भन्यो ? सित्तैमा हुनुपर्ने कामको अतिरिक्त रकम कति र किन खर्च गर्नुपर्यो ? लगायतका व्यङ्ग्यमा आधारित यस कथाका काल्पनिक पात्र रामरतनको व्यथा प्रस्तुत छ । 

विद्यालयहरूमा विद्यार्थी भर्ना अभियान चलिरहेको थियो । रामरतनले विद्यालय प्रशासनद्वारा बच्चाहरूको जन्मदर्ता प्रमाणपत्र आवश्यक पर्ने जानकारी पाए । एक दिन रामरतन वडा कार्यालय पुगे । कार्यालयको सरसफाइ गरिरहेका कार्यालय सहयोगीसँग उनको भेट भयो । कार्यालय सहयोगीले वडासचिव आएपछि जन्मदर्ताको काम हुनेबारे रामरतनलाई अवगत गराए । रामरतन पर्खिबसे । साँझको पाँच बज्यो, कर्मचारी आएनन् र उनी घर फर्के । दोस्रो दिन पनि कार्यालय सहयोगीबाहेकका कर्मचारीहरूको आगमन भएन । यसैगरी, रामरतनको एक हप्ता बित्यो ।

बिहानको समय गाउँको मुख्य चोकमा हुने गाउँलेहरूको जमघट सधैंझैं आज पनि भव्य थियो । रामरतनले आफू एक हप्तादेखि वडा कार्यालयमा जन्मदर्ताका लागि धाइरहेको कुरा मानिसहरूको जमघटमा व्यक्त गरे । सोहीमध्ये एकजनाले भने, “हो, रामरतन काहे आलटाल होता, जा के वडाध्यक्ष से पुछ ना ।”

भीडको राय अनुसार रामरतन तुरुन्तै वडाध्यक्षको घरतर्फ लागे । फोनमा व्यस्त वडाध्यक्षले कार्यालयमा आउने इशारा गरे । निर्वाचनको बेला आमजनताको खुट्टा ढोगेर नथाक्ने जनप्रतिनिधिको चर्तिकला देखेर रामरतन चकित थिए । बिहानको ठीक दश बजे रामरतन वडा कार्यालयमा पुगे । कार्यालय सहयोगीले कार्यालयको कोठा सफा गरिरहेका थिए । रामरतन कार्यालयअगाडि कर्मचारीहरूको प्रतीक्षा गरिरहँदा बिहानको ११ बज्यो । चकित र थकित रामरतनले अन्ततोगत्वा कार्यालय सहयोगीसँग गुनासो पोख्दै भने, “हो मरदे एगारे बज गइल, ना अभिले वडाध्यक्षजी अइलें ना सचिव, ई का ह हो ? रोज इहे लीला काहे होता ?” प्रतिउत्तरमा कार्यालय सहयोगीले, “हम वो लोग के हाथ पकड के थोरे लियाएम, हमर कर्तव्य हम पालन करतानी, ऊ लोग के कर्तव्य उहे लोग जानों ।”

दिउँसोको १२ बज्न लागेको थियो । कार्यालयमा सेवाग्राहीहरूको भीड बढ्न थाल्यो । रामरतनसँगै १०/१५ जना वडावासी सेवाग्राहीहरू यताउति भौंतारिरहेका थिए । कार्यालय नियमित खुल्ने तर काम नहुने अवस्थाले सेवाग्राही वाक्कदिक्क नहुने कुरै थिएन । रामरतन वडा कार्यालयमा धाइरहेको आज एक हप्ताभन्दा बढी भइसकेको थियो । जाबो एउटा जन्मदर्ताका लागि यति धेरै सास्ती खेप्नुपर्छ भन्ने कुराले उनलाई हदैसम्म पिरोलिरहेको थियो । नागरिकताको सिफारिश, चौहद्दी प्रमाणित र जन्मदर्ता आदि कार्यका लागि सेवाग्राहीहरूको ताँतीमा रामरतन पनि थिए ।

वडा कार्यालयको साजसज्जामा कुनै प्रकारको कमी थिएन । वडाध्यक्षको कक्षमा हर्ताकर्ताहरूको जमघट थियो । शायद उनीहरू विकास निर्माणको काम हात पार्ने ध्याउन्नमा वडाध्यक्षको प्रतीक्षा गरिरहेका थिए । औंठाछाप वडाध्यक्षको टेबलमा नयाँ ल्यापटप राखिएको थियो । ल्यापटप खरीद भएदेखि काम गर्न सक्षम डेस्कटप कम्प्युटर कार्यालयको भर्याङमुनि फ्याँकिएको थियो । टेबल क्लथले सजाइएको टेबलमाथि राष्ट्रिय झन्डा, पेनदानीमा रातो र कालो कलम, पानीको जग, सीसाको ग्लास, भित्तामा केही थान तस्वीर र वाइफाई आदि सुविधाले सुसम्पन्न कोठामा १२ बजिसक्दा वडाध्यक्षको आगमन भएको थिएन ।

वडासचिव आफ्नो कार्यकक्षमा मोबाइल चलाएर रमाइरहेका थिए । उनीहरू पनि कम थिएनन् । उनीहरूमध्ये कोही सामाजिक सञ्जाल त कोही आफन्तसँग भिडियो च्याटमा व्यस्त र मस्त थिए । मोबालइमा व्यस्त वडासचिवलाई रामरतनले प्रणामपाती गरे । आफ्नो समस्या अवगत गराए । प्रतिउत्तरमा वडासचिवले प्रक्रियाबारे अर्का एक कर्मचारीसँग भेट गर्न सुझाए । ती कर्मचारीतर्फ रामरतनको पाइला अघि बढ्यो । रामरतनले ती कर्मचारीलाई शिष्ट अभिवादन गरे । बच्चाहरूको जन्मदर्ता प्रमाणपत्र बनाउनेबारे अवगत गराउँदै थिए । सोही बेला गाउँकै एक युवक रामरतनको नजीक आयो र रामरतनको कानमा खुसखुस गर्यो ।

रामरतन अक्क न बक्क भए । उनको मुखबाट प्रश्नको बौछार हुन थाल्यो– तिमी यहाँको कर्मचारी हौ ? तिमीलाई पाँच सय किन चाहियो ? यो त्यही युवक थियो, जो निर्वाचनताका वडाध्यक्षको हालीमुहालीमा सक्रिय थियो । घरघर मत माग्न जान्थ्यो । अहिले ती युवक सेवाग्राहीलाई चङ्गुलमा फसाउँछ । दलाली गर्छ । सेवाग्राहीको कामको ठेक्का लिन्छ । सेवाग्राहीसँग दक्षिणास्वरूप नियमविपरीत रकम लिन्छ । त्यहाँ दलालसँग रकम तय नगरी काम गराउन सजिलो छैन ।

दलालले रामरतनसँग बिस्तारै बोल्ने अनुनय गर्दै काँधमा हात थापेर कार्यालयको पछाडिपट्टि लिएर गयो । उसले रामरतनसँग भन्यो, “सुन काका, जन्मदर्ता करावे खातिर कार्यालय में दौरत तोहरा केतना दिन भइल ? का तोहर काम आज ले भइल ? काहे ना भइल ?” रामरतनसँग उसले पाँच सय रुपियाँ खर्च गरे काम दु्रत गतिमा हुने युक्ति सुझायो ।

हप्तौंदेखि सास्ती खेपिरहेका रामरतन एक पैसा खर्च गर्ने पक्षमा थिएनन् । पुनः कार्यालयभित्र छिरे । वडाध्यक्षको आगमन भइसकेको थियो । हालीमुहालीकर्ताहरू र वडाध्यक्षबीच चियापानसँगै हाँसोठट्टा भइरहेको थियो । गर्त वर्ष जुन नाला र सडकको मर्मत कार्यमा लाखौं रुपियाँ खर्च भएको थियो, सोही नाला र सडकको मर्मत हेतु बजेट पास गर्ने र कागजमा विकास देखाएर रकम भागबन्डा गर्नेबारे सानो आवाज रामरतनको कानमा पुग्यो ।

कार्यालयको कामकारबाहीप्रति रुष्ट रामरतन दलालको चङ्गुलमा फस्न बाध्य भए । दलाल युवकलाई उनले रु पाँच सय दिंदै काम छिटो गराउनुपर्ने शर्त राखे । युवकले रामरतनलाई आफूसँगै लिएर कर्मचारीकहाँ पुग्यो । पाँच सयको अलावा जन्मदर्ताको निवेदनमा तोक लगाएबापत रु पचास र जन्मदर्ताको प्रमाणपत्र छपाइबापत रु एक सय माग गरियो । रामरतन केहीबेर सोचमग्न भए । भोलि पैसा लिएर आउने भन्दै घरतर्फ लागे ।

आज वडा कार्यालयअगाडि प्रहरी र स्थानीयवासीहरूको घुइँचो लागेको थियो । प्रहरीले दलाल र कर्मचारीलाई समातेर लग्यो । हिजो वडा कार्यालयबाट निस्केर रामरतन सीधैं प्रहरी कार्यालयमा पुगेका रहेछन् । वडा कार्यालयमा कर्मचारी र दलालबारे अवगत गराएका रहेछन् । प्रहरीको योजना अनुसार रामरतनले कार्य गरे । अन्ततः दलाल र कर्मचारी प्रहरीको फन्दामा परे । जब भ्रष्ट कर्मचारी र दलाल पक्राउ परेको खबर फैलियो, मानिसहरू औधी खुशी भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here