प्रस, निजगढ, २१ फागुन/
युथ अफ निजगढको आयोजनामा शनिवार सम्पन्न नवौं प्रि–होली कन्सर्टमा गायिका मिलन नेवारले निजगढका दर्शकहरूलाई नाच्न बाध्य पारिन् भने जोगिन्दर पानवाला शिवशङ्कर रिजालले दर्शकहरूलाई खूबै हसाए ।
कार्यक्रमको पहिलो प्रस्तुतिमा गायिका नेवारले ‘तिमी टाढा छौं, भेट हुन गाहो छ …’ बोलको गीतले दर्शकहरूलाई शान्त, स्तब्ध पारेको थियो भने लगत्तै ‘तिमी उता म यता साइँला, मन सन्चो कहाँ छ …’ बोलको गीतले विदेशिएका पतिको पीडा सम्झन दर्शकहरूलाई विवश पार्यो । गायिका नेवारको साङ्गीतिक प्रस्तुतिले माहोललाई बिस्तारै तताउँदै ‘फूल बुट्टे सारी सपक्क पारी’को गीति प्रस्तुतिमा दर्शकहरू कार्यक्रमस्थलमा धूलो उड्ने गरी नाचेका थिए ।
निजगढ निवासी अमृता नेपालले चलचित्र ‘काली’का लागि लेखेकी गीत ‘बट स्लोली–स्लोली’ले पनि दर्शकलाई झुमाएको थियो । कार्यक्रमको अन्तमा गायिका मिलनले दर्शकलाई स्टेजनजीक बोलाएर ‘चरीले काफल टिप्यो खानलाई हो कि, खुवाउन’ बोलको गीतले थप मनोरञ्जन गराएर दर्शकहरूलाई नाच्न र गाउन बाध्य पारेको थियो ।
कार्यक्रममा हाँस्यव्यङ्ग्य कलाकार शविशङ्कर रिजाल (जोगिन्दर पानवाला)को प्रस्तुतिले दर्शकहरू पेट मिचीमिची हाँसेका थिए ।
प्रथम निजगढ आइडल सन्तोष लम्सालले संस्थाका वरिष्ठ सल्लाहकार एवं पत्रकार जीतलाल श्रेष्ठको शब्द रचना र सङ्गीतमा तयार पारिएको ‘आऊ प्रिय आऊ अलिअलि नजीक आऊ’ बोलको गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेशसभाकी सदस्य मीना लामा, निजगढका प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङले संयुक्तरूपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य लामाले युथ अफ निजगढको सामाजिक कार्यप्रतिको लगावको प्रशंसा गरिन् । निजगढका प्रमुख पुरीले युथ अफ निजगढले कला, संस्कृतिलाई जर्गेना गर्दै स्थानीय कलाकारहरूको पहिचान बढाउँदै आएको बताए ।
जिल्ला समन्वय समिति, बाराकी उपप्रमुख चण्डिका उप्रेतीले सामाजिक कार्यहरूमा युथ अफ निजगढको योगदानलाई बिर्सन नसक्ने र अन्य क्लब, सङ्घसंस्थाहरूले पनि सिको गर्नुपर्ने सुझाए । नगर उपप्रमुख थिङले संस्थाले गरीब, दीनदुःखी, असहाय, आगलागीपीडित, मुटु, मिर्गौलालगायतका बिरामीहरूलाई मानवीय सेवा पुर्याउँदै आएको बताइन् । उनले संस्थालाई सामाजिक, सांस्कृतिक कार्यलाई निरन्तरता दिन सुझाइन् ।
कार्यक्रममा पूर्वउपप्रमुख लीलादेवी लामिछाने, प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौला, नेपाली सेनाका पूर्वमहासेनानी सुशीलकुमार कार्की, निजगढ नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, वडाध्यक्ष स्वर्ण लामालगायतको सहभागिता थियो ।
संस्थाकी अध्यक्ष उषा थापा मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कमल बजगाईं र सहजीकरण भाइकाजी श्रेष्ठ, मनीता पाण्डे, सन्तोष पौडेलले गरेका थिए ।