प्रस, गरुडा, ५ फागुन/
उपराष्ट्रपति नन्दबहादुर पुनले विश्वकै मौलिक र पृथक शैलीको पूजा मौलापुरमा हुने गरेको बताएका छन् । महाशिवरात्रिको अवसरमा रौतहटको मौलापुर नगरपालिकाद्वारा आयोजित मधानी महोत्सव २०७९ को शुक्रवार उद्घाटन गर्दै उपराष्ट्रपति पुनले पुरातात्विक महादेव मन्दिरको पूजा मौलिक प्रकृतिले भएको भन्दै प्रशंसा गरेका छन् ।
मौलापुर नगरपालिकाले पुरातात्विक महादेव मन्दिर परिसरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न गरिरहेको पहलका लागि आफ्नोतर्फबाट नेपाल सरकारलाई पहल गर्न लगाउने प्रतिबद्धता व्यक्त गर्दै उपराष्ट्रपति पुनले कूटनीतिक तथा अन्य आवश्यक सहयोग गर्ने बताएका छन् ।
प्राकृतिक र सांस्कृतिक सम्पदाहरूलाई अनुपम उपहार भन्दै उपराष्ट्रपति पुनले नेपालमा थुप्रै पुरातात्विक सम्पदा रहेको बताएका छन् ।
उपराष्ट्रपति पुनले शुक्रवार नै पुरातात्विक महादेव मन्दिर परिसरमा निर्मित पुरातात्विक महादेव सङ्ग्रहालयको पनि उद्घाटन गरे । यसैगरी, उपराष्ट्रपति पुनले विवाह भवनको पनि उद्घाटन गरेका थिए । उपराष्ट्रपति पुनले विजय यादव निर्बिजद्वारा बज्जिका भाषामा रचित प्रतिमा नामक उपन्यासको पनि लोकार्पण गरे । उपराष्ट्रपति पुनले विभिन्न साहित्यकार, कलाकार, भाषासेवी, समाजसेवी, कर्मचारीलगायतलाई सम्मानपत्रले सम्मानित पनि गरे ।
उपराष्ट्रपति पुनले महाशिवरात्रि पर्व मनाउँदा हुने नकारात्मक कार्यलाई पनि रोक्न सक्नुपर्ने बताए ।
मौलापुर नगरपालिकाले २०७६ देखि हरेक वर्ष मधानी महोत्सवको आयोजना गर्दै आएको छ ।
कार्यक्रममा पूर्वमन्त्री एवं मधानी महोत्सवका परिकल्पनाकार प्रभु साहले इतिहासको भण्डार तराई–मधेसको रूपमा रहेको तथा धरतीभित्रको इतिहासलाई खोज्नुपर्ने बताएका थिए । मौलापुर नगरपालिकाले मधानी महोत्सवको आयोजन गरेर विलुप्त हुन लागेको संस्कृतिलाई बचाउन ठूलो भूमिका खेलेकोमा प्रशंसा गर्दै पूर्वमन्त्री साहले हाम्रो संस्कृति दुनियाँलाई बुझाउनुपर्ने आवश्यकता रहेको औंल्याए । मौलापुर पुरातात्विक महादेव मन्दिर, जनकपुरको जानकी मन्दिर, सिम्रौनगढलगायतलाई विश्वसम्पदा सूचीमा राख्नको लागि सरकारसित पहल गर्न आग्रह पनि गरे ।
कार्यक्रममा सञ्जय साह मित्रले मौलापुरको पुरातात्विक महादेव मन्दिर निकै पुरानो रहेको र बारा, रौतहट तथा सर्लाही जिल्लामा मात्र मनाइने शिवको विशिष्ट अनुष्ठान मधानी वैदिककालभन्दा पुरानो लोक अनुष्ठान रहेको बताएका थिए ।
मौलापुर नगरपालिकाका प्रमुख रीनाकुमारी साहको सभापतित्वमा भएको मधानी महोत्सव २०७९ मा मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल, मधेस प्रदेश सरकारका पर्यटन, उद्योग तथा वनमन्त्री सुनीता यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।