वेलिङ्टन, ५ फागुन/सिन्ह्वा

न्युजिल्यान्डको उत्तरी टापुमा यस साता आएको चक्रवात ‘ग्याब्रिएल’का कारण आएको बाढी र पहिरोमा परी आठजनाको मृत्यु भएको छ । चक्रवात र यसका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा तीन हजार ५०० भन्दा बढी मानिस बेपत्ता भएका छन् ।

सन् २०११ को फेबु्रअरीमा क्राइस्टचर्चमा गएको भूकम्पपछि न्युजिल्यान्डमा अहिलेसम्म नदेखिएको उक्त प्रतिकूल प्राकृतिक घटनाका कारण करीब १० हजार मानिस विस्थापित भएको अधिकारीहरूले बताएका छन् ।

प्रधानमन्त्री क्रिस हिपकिन्सले शुक्रवार हक्स बेमा सञ्चारकर्मीसँग भने, “यो हाम्रो देशमा यो शताब्दीमा देखिएको सबैभन्दा ठूलो प्राकृतिक प्रकोप हो । आँधीका कारण धेरै नागरिकले ज्यान गुमाएका हुन सक्ने बताइएको छ ।”

प्रहरीका अनुसार दुई वर्षीया बालिका बिहीवार बाढीमा फसेको अनुमान गरिएको छ । अकल्यान्डको मुरीबाईमा बिहीवार गएको पहिरोमा परेर एक स्वयंसेवक अग्निनियन्त्रकको शव पनि फेला परेको थियो ।

न्युजिल्यान्डका अन्य भागबाट ७० जनाभन्दा बढी कर्मचारीलाई हक्स बे र तायराविटीमा पुनः खटाइएको प्रहरीले जनाएको छ । “दूरसञ्चार सेवाहरू अनलाइनमा आउन थालेपछि हराएका व्यक्तिहरू, फेला परेका व्यक्तिहरू, सम्पत्तिको क्षति, खाद्यान्न, पानी र इन्धन जस्ता आधारभूत स्रोतहरूको मागको सङ्ख्यामा वृद्धि हुनेछ,” प्रहरीले जनाएकोे छ ।

न्युजिल्यान्डले सोमवार देशको इतिहासमा तेस्रोपटक आपत्कालीन अवस्थाको घोषणा गरेको छ । उत्तरी टापुमा व्यापकरूपमा विद्युत् कटौती, उडान रद्द र विद्यालयहरू बन्द गरिएका छन् । अकल्यान्ड र आसपासका क्षेत्र वाइकाटोमा भारी वर्षा र बाढीका कारण डुबानमा परेको दुर्ई सातापछि मात्र यो घटना भएको हो । दुर्ई साताअघि देशको सबैभन्दा ठूलो शहर अकल्यान्डमा भएको यस विपत्तिमा परी चारजनाको मृत्यु भएको थियो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here