• राजेश मिश्र

सबै वर्गका प्रयोगशालाहरूमा जाँचका प्रकार तोकिएका छन् । उदाहरणको लागि ‘ई’ वर्गमा हेमाटोलोजी अन्तर्गत टिसी, डिसी, हेमोग्लोबिन, इएसआर, गैर रक्तसङ्क्रमण उद्देश्यका लागि रगतको समूह, बिटी र सिर्ट । त्यसैगरी, बायोकेमेस्ट्री अन्तर्गत मधुमेह, युरिया, बिलिरुबिन टी र डी, युरिक एसिड, टोटल प्रोटिन, सेरम एल्बुमिन र सरल व्याख्याद्वारा आरटिडिएस तथा विविध अन्तर्गत रूटिन युरिन एनालाइसिस, रूटिन स्टुल एनालाइसिस, युरिन प्रेग्नेन्सी टेस्ट र स्टूल फर रेड्युसिङ सब्सटेन्टेस परीक्षणहरू तोकिएका छन् । यद्यपि जाँच गर्ने उपकरणहरू तोकिएको भन्दा अत्याधुनिक राख्न मिले पनि जाँचको प्रकार तोकिएकोभन्दा बढी गर्न मिल्दैन ।

 ‘ई’ वर्गमा जाँच गर्न मिल्ने परीक्षणको प्रकारसँगै डी, सी, बी र ए वर्गमा परीक्षणको प्रकार, उपकरण, क्षेत्रफल र प्राविधिकको योग्यता आदि निर्देशिका बमोजिम थप हुँदै जाने बेहोरा उल्लेख छ ।

मनोमानी परीक्षण शुल्क

परीक्षण शुल्कको विषयमा एक बिरामीको गुनासोबाट प्रसङ्ग शुरू गरौं । बिरामीको भनाइ अनुसार गत माघ महीनाको दोस्रो हप्ताको कुरा हो । बिरामी वीरगंजको ख्यातिप्राप्त एक निजी स्वास्थ्य प्रयोगशालामा ‘डि–डाइमर’को परीक्षण गराउन गएका रहेछन् । प्रयोगशालाले उनीसँग परीक्षण शुल्कबापत रु ३०२५ मा दश प्रतिशत छुट गरी रु दुई हजार ७२२ रुपियाँ पचास पैसा लियो । बिरामीले चार/पाँच दिनपछि अर्को प्रयोगशालामा परीक्षण गराउँदा परीक्षण शुल्क एक हजार ८०० रुपियाँ मात्र तिर्नुपर्यो ।

उपरोक्त प्रकरणको सेरोफेरोमा प्रयोगशालासम्बन्धी जानकार व्यक्तित्व, नारायणी अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला आदि विभिन्न माध्यमबाट जानकारी सङ्कलन गरियो । काठमाडौंको ‘ए’ वर्ग र वीरगंजको ‘बी’ वर्गको प्रयोगशालमा ‘नेफेलोमेट्री’ विधिबाट डि–डाइमरको परीक्षण शुल्क रु एक हजार ८०० तोकिएको छ । त्यसैगरी, नारायणी अस्पताल, वीरगंजमा रु ७५० र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ‘क्वालिटेटिभ’ विधिबाट परीक्षण शुल्क रु तीन सय तोकिएको छ । जानकारहरूका अनुसार परीक्षण विधि अनुसार शुल्क फरक–फरक हुन सक्छ । त्यस कारण शुल्कको फरक छुट्याउनको लागि बिरामी वा सर्वसाधारण मानिसलाई परीक्षण विधिबारे जानकारी हुनुपर्दछ ।

बिरामीसँग झन्डै रु तीन हजार परीक्षण शुल्क लिएको वीरगंजको ख्यातिप्राप्त प्रयोगशालाले प्रदान गरेको रिपोर्टमा परीक्षण विधि उल्लेख छैन । स्वास्थ्य प्रयोगशाला सञ्चालन तथा मापदण्डसम्बन्धी निर्देशिका, २०७३ को दफा ५८ को उपदफा ४ को (ज)मा ‘परीक्षण विधि (Test Method) रिपोर्टमा उल्लेख गर्नुपर्ने’ प्रावधान अनिवार्य छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी लोकबन्धु चौधरी प्रयोगशालाहरूले परीक्षण रिपोर्टमा परीक्षण विधि अनिवार्य उल्लेख गर्नुपर्ने नियम रहेको बताउँदै मापदण्डअनुरूप कार्य नगर्ने प्रयोगशाला कारबाईको भागीदार हुने बताउँछन् । बिरामीले प्रमाणसहित उजूरी गरेमा कारबाई गरिने उनको भनाइ छ । उनले परीक्षण विधि जस्तैः पिसिआर, एलाइजा, किलिया, क्वान्टिटेटिभ, टेस्ट ट्युब आदि विभिन्न जाँच विधि रहेको बताए । उनी विधि अनुसार शुद्धता (Accuracy) फरक पर्ने हुनाले जाँच विधि अनुसार परीक्षण शुल्क पनि फरक हुन सक्ने बताउँछन् । त्यसैले जाँच विधि रिपोर्टमा उल्लेख गर्नैपर्छ । जाँच रिपोर्टमा विधि उल्लेख नगर्नु इमानदार प्रवृत्ति होइन, निर्देशिकाको घोर उल्लङ्घन पनि हो ।

मनोमानीको कारण

कुनै पनि पेशा व्यवसायमा यत्र–तत्र–सर्वत्र पाइने वस्तुहरूको दरभाउमा समानता वा न्यून फरक पाइन्छ । उदाहरणको लागि चामल, पीठो, नून, तेल आदि दैनिक उपभोग्य वस्तुको दरभाउमा पसलैपिच्छे एकाध रुपियाँभन्दा बढी फरक पाइँदैन । त्यसैगरी, सर्वत्र नपाइने वा सीमित पसलमा पाइने वस्तु उच्च मोलमा बिक्री गरी बढी मुनाफा खाने अनैतिक मानसिकता छताछुल्ल छ । दैनिक उपभोग्य वस्तु वा सधैं खरीद गरिरहने वस्तुको दरभाउ अधिकांश सेवाग्राहीलाई जानकारी हुन्छ । त्यस कारण एकले बढी मूल्य लिन खोज्यो भने सेवाग्राही अर्को पसलमा जाने सम्भावना रहन्छ । उपभोक्तालाई विश्वासमा लिने युक्ति प्रायःजसो पेशा व्यवसायमा अपनाइएझैं सोको असरबाट प्रगोगशाला पनि अछूतो देखिंदैन ।

स्वास्थ्य प्रयोगशालाहरूले धुत्र्याइँपूर्वक मधुमेह, हेमोग्लोबिन वा प्रेग्नेन्सी आदि बढी प्रचलित वा सर्वसाधारणलाई जानकारी भएका परीक्षणहरूको जाँच शुल्कमा एक समानता वा झिनो अन्तर पाइन्छन् ।

स्वास्थ्य प्रयोगशालाहरूमा परीक्षण शुल्कमा मनोमानी बढ्नुको एउटा अर्को प्रमुख कारण हो, सामान्य मानिसलाई परीक्षणको नाम, विधि र परीक्षण शुल्कबारे थाहा नहुनु । मानिस कहिलेकाहीं बिरामी पर्ने हो । बिरामीलाई जतिसक्दो चाँडो उपचार सेवा लिने र निको हुने आकाङ्क्षाभन्दा शुल्क आदिबारे केरकार गर्ने ध्यान रहँदैन । चिकित्सकले आवश्यक परीक्षण गर्नुपर्ने सिफारिश गरेसँगै बिरामीको पाइला सीधैं स्वास्थ्य प्रयोगशालातर्फ अग्रसर हुन्छ । प्रयोगशालाकर्मीले सबै परीक्षणको एकमुस्ट रकम बताउँछ । बिरामीले रकम बुझाउँछ र परीक्षण रिपोर्टको प्रतीक्षा गर्न थाल्छ वा तोकिएको समयमा उपस्थित हुन्छ । त्यसपछि रिपोर्ट लिन्छ, चिकित्सकसँग सम्पर्क गर्छ, सिफारिश गरिएका औषधि खरीद गर्छ र घर फर्कन्छ ।

एकातर्फ बिरामीलाई विभिन्न स्वास्थ्य प्रयोगशाला चहार्ने र मोलमोलाइ गर्ने समय हुँदैन भने अर्कोतर्फ कुन प्रकारको परीक्षणको शुल्क कति हो ? वा प्रयोगशालापिच्छे परीक्षण शुल्कमा कति भिन्नता छ ? आदि कुराबाट अनजान हजारौं बिरामी दिनहुँ ठगिएका छन् । स्वतन्त्र बजारमा प्रतिस्पर्धा नहुने कुरा हुँदैन । तर बिरामीलाई मनपरी दोहन गर्ने प्रवृत्ति कदापि राम्रो होइन । यद्यपि दुर्नियत किन मौलाइरहेको छ ? प्रश्नको घेरामा नियामक निकाय नपर्ने कुरै हुँदैन ।

उपभोक्ता संरक्षण ऐन, २०७५

सेवा भनेको के हो ? यसको परिभाषा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २ को (द) मा– “सेवा भन्नाले विद्युत्, खानेपानी, टेलिफोन, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा तथा परामर्श, यातायात, ढल निकास, बैंकिङ वा त्यस्तै प्रकृतिका अन्य सेवा सम्झनुपर्दछ र सो शब्दले कानूनी, चिकित्सा वा इन्जिनीयरिङ सेवालाई समेत जनाउँछ ।” उपभोक्ता संरक्षण ऐनको व्याख्या अनुसार स्वास्थ्य प्रयोगशाला पनि सेवामुखी निकाय हो ।

ऐनको दफा २१ मा ‘वस्तु वा सेवाको मूल्यको मापदण्ड निर्धारण गर्ने व्यवस्थाः  (१) उपभोक्ताको अधिकार संरक्षणका लागि तोकिएबमोजिम वस्तु वा सेवाको मापदण्ड तयार गर्नेछ । (२) उपदफा (१) बमोजिम मूल्य निर्धारणसम्बन्धी मापदण्ड तयार गर्दा वस्तुको उत्पादन लागत ढुवानी खर्च, पैठारीकर्ताले कानूनबमोजिम बुझाएको भन्सार, कर, दस्तुर र बिक्री गर्दा तोकिएको प्रतिशतभन्दा बढी नहुने गरी विक्रेताले लिन पाउने मुनाफा रकमसमेतलाई आधार मान्नुपर्नेछ । (३) उपदफा (१) बमोजिम तोकिएबमोजिमको निकायले कुनै सेवाको मूल्य निर्धारणसम्बन्धी मापदण्ड तयार गर्दा त्यस्तो सेवा प्रदान गर्ने व्यक्तिको नियमन गर्ने वा आचरण तथा कामकारबाही व्यवस्थित गर्ने कानूनबमोजिम कुनै निकाय वा अधिकारी तोकेको भए त्यस्तो निकाय वा अधिकारीले निर्धारण गरेको मापदण्ड बमोजिम तयार गर्नुपर्नेछ । (४) उपदफा (३) बमोजिमको निकाय वा अधिकारी तोकेको भएपनि मापदण्ड निर्धारण नगरेको अवस्थामा मापदण्ड तयार गर्दा त्यस्तो निकाय वा अधिकारीको परामर्श लिनुपर्नेछ ।’ भन्ने कुरा उल्लेख छ ।

पोल खुल्ने डर

शुल्क आदिबारे वीरगंजका केही निजी प्रयोगशालाका सञ्चालकहरूसँग प्रतिक्रिया लिने प्रयास गरियो । वीरगंजका एक ख्यातिप्राप्त प्रयोगशाला सञ्चालकको सडकपेटी र ठूलो होटलमा पाइने ममको दरको तुलनात्मक उदाहरण कुनै पनि कोणले सराहनीय मान्न सकिंदैन । चर्को शुल्क किन लिनुहुन्छ ? परीक्षण रिपोर्टमा विधि किन उल्लेख गर्नुहुन्न ? यो कानूनको उपहास हो कि होइन ? लगायत प्रश्नमा उनी निरुत्तर मात्र भएनन्, अपितु विचलित देखिए । उनको अनुहार रातो र शिर तथा निधारमा प्रकटोन्मुख पसिना उनको गैरकानूनी आचरणको साक्षी थियो । यी प्रश्नहरूबाट उनको शारीरिक हाउभाउ असन्तुलित देखिन्थ्यो ।

परीक्षण रिपोर्टमा विधि उल्लेख गर्दा मनोमानी शुल्कको पोल खुल्ने डर नै मूल कारण रहेको जानकारहरू बताउँछन् । हवाई, रेल, बस, होटल आदि विविध प्रकारका सेवाप्रदायकहरूले सेवा अनुसार मूल्य निर्धारण गरेका पाइन्छन् । सेवाग्राहीले आफूअनुकूल सेवाबापतको मूल्यमा सेवा उपभोग गर्छन् । जस्तै रेलमा साधारण, स्लीपर र वातानुकूलित तृतीय, द्वितीय र प्रथम श्रेणीका छुट्टाछुट्टै दर तोकिएका हुन्छन्, जुन कुरा विभिन्न माध्यमबाट सर्वसाधारण मानिसलाई सुसूचित गराइएको हुन्छ ।

त्यस कारण परीक्षण रिपोर्टमा विधि उल्लेख नगरी बिरामीसँग लिइने शुल्क ठगी धन्दा हो कि होइन ? परीक्षण शुल्कबमोजिमको विधि अपनाइएको हो वा होइन ? यावत् प्रश्नहरूको उत्तर थाहा पाउने बिरामीको अधिकार किन कुण्ठित पारिंदैछ ? आखिर जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला जस्ता तीन तहका नियामक निकाय कर्तव्यपथबाट किन विचलित छ ? क्रमशः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here