अङ्कारा, ३ माघ/सिन्हवा
टर्कीका राष्ट्रपति तैयेप एर्दाेगानले आफ्नो देशको दक्षिणी प्रान्तमा गत माघ २३ को भूकम्पबाट भएको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै खोज तथा उद्धारका साथै मानवीय सहायता सामग्री उपलब्ध गराएकोमा अन्तर्राष्ट्रिय समुदायप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
संयुक्त अरब इमिरेट्सले मङ्गलवार आयोजना गरेको शासन प्रणालीसम्बन्धी विश्व सम्मेलनलाई यहाँबाट अप्रत्यक्ष (भर्चुअल) सम्बोधन गर्दै राष्ट्रपति एर्दाेगानले कठिन परिस्थितिमा विश्व समुदायले प्रकट गरेको ऐक्यबद्धता, उपलब्ध गराएको सहयोग र प्रदर्शन गरेको मैत्रीलाई आफ्नो देशले कहिल्यै पनि बिर्सन नसक्ने बताए ।
विश्वका एक सय राष्ट्रबाट आफूलाई ऐक्यबद्धताका सन्देश प्राप्त भएको जानकारी दिंदै उनले दुर्ई करोड टर्कीका नागरिक भूकम्पबाट प्रभावित भएका बताए । भूकम्पबाट एक करोड ३५ लाख जनसङ्ख्या भएको देशको १० प्रान्तमा सर्वाधिक क्षति भएको बताउँदै उनले राहत सामग्री सङ्कलनमा अहोरात्र खटेका मित्र राष्ट्र र तिनका नागरिकप्रति आभार व्यक्त गरे ।
टर्कीको कहरामनमारसलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युडको भूकम्प र त्यसको केही क्षणपछिको त्यति नै शक्तिशाली अर्काे परकम्पमा परी टर्की र सिरियामा ४१ हजारभन्दा बढीको मृत्यु भएको छभने दशौं हजार घाइते भएका छन् । दुवै देशमा हजारौं घरवारविहीन भएका छन् ।
वैज्ञानिकहरूका अनुसार उक्त भूकम्पबाट ५०० आणविक बमले निष्कासन गर्ने ऊर्जा जत्तिकै ऊर्जा निष्कासन भएको थियो । रासस