प्रस, सेढवा, २८ माघ/

पर्साका ग्रामीण बासिन्दाहरू अहिलेसम्म पनि पूर्णरूपमा स्वास्थ्य सेवाबाट वञ्चित छन् । यस क्षेत्रका बासिन्दा स्वास्थ्य सेवा अन्तर्गत सुरक्षित गर्भपतन सेवा पाउनबाट वञ्चित छन् ।

गर्भधारण भएको १२ हप्तासम्म गर्भपतन गर्ने कानूनी व्यवस्था रहे पनि यस क्षेत्रमा यो सेवा उपलब्ध नरहेको स्थानीयले जनाएका छन् । जसका कारण सुरक्षित गर्भपतन गर्न वीरगंजस्थित मेरी स्टोप्समा निश्शुल्क सेवा लिन जानुपरेको स्थानीयले बताए । यसका साथै वीरगंजस्थित विभिन्न निजी अस्पतालमा यो सेवा शुल्क तिरेर लिने गरेका छन् ।

जिल्लाका ठोरी, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, छिपहरमाई गाउँपालिकामा दर्जनौं स्वास्थ्य संस्था रहे पनि सुरक्षित गर्भपतन सेवा उपलब्ध नरहेको सम्बन्धित पालिकाका स्वास्थ्य शाखा प्रमुखहरूले बताए । ती स्वास्थ्य संस्थामा सम्बन्धित तालीमप्राप्त स्वास्थ्यकर्मीहरू नभएका कारण सो सेवा सञ्चालन गर्न नसकिएको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

जीराभवानी गाउँपालिका वडा नं २ स्थित सेढवा स्वास्थ्य चौकीका इन्चार्ज ज्ञानकिशोर प्रसादका अनुसार करीब पाँच वर्ष पहिले सो सेवा सञ्चालनमा थियो । तर कर्मचारी सरुवा भएर गएपछि सो सेवा बन्द भएको इन्चार्ज ज्ञानकिशोर प्रसादले बताए ।

सखुवाप्रसौनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारका अनुसार गाउँपालिकाका दुईवटा स्वास्थ्य संस्थामा उक्त सेवा सञ्चालनमा रहेको बताए ।

वडा नं २ स्वास्थ्य चौकी पंचगावाँमा मासिक तीनजना र वडा नं ५ स्वास्थ्य चौकी महुवनमा मासिक पाँचजनाले सुरक्षित गर्भपतन गराउने गरेको शाखा प्रमुख रौनियारले बताए । सीमावर्ती भारतीय बजार इनर्वामा जोखिमपूर्ण यो सेवा लिन जाँदा कतिपय महिलाहरूको मृत्युसमेत हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here