प्रस, वीरगंज, २८ माघ/
वीरगंज महानगरपालिका कार्यालयले युवाहरूका लागि निश्शुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ ।
तयारी कक्षाको शनिवार नगरप्रमुख राजेशमान सिंहले उद्घाटन गर्दै युवाहरूमा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व स्थापित गराउन लोकसेवा तयारी कक्षा शुरू गरिएको बताए ।
निजामती प्रशासन, शिक्षक तथा सुरक्षा क्षेत्रमा यहाँका युवाहरूको पहुँच र सहभागिता उल्लेख्यरूपमा हुन नसकेको बताउँदै नगरप्रमुख सिंहले युवाका लागि महानगरले तयारी कक्षा सञ्चालन गरेको बताए । तयारी कक्षामा ३८ जना महिला र ५७ जना पुरुष सहभागी छन् ।
तयारी कक्षामा पर्सालगायत बाराका विभिन्न स्थानका युवाहरूको सहभागिता रहेको महानगरले जनाएको छ ।
महानगरपालिकाको सहयोगमा युडिबाई सेफ कम्प्युटर एडुकेशनले तयारी कक्षा सञ्चालन गरेको हो ।
सहभागीहरूलाई धनञ्जयकुमार सिंह, सुरज राम, श्यामविनय चौधरी, सुरजकुमार यादव र हेमन्त यादवले प्रशिक्षण दिइरहेका छन् ।
युडिबाई सेफ कम्प्युटर एडुकेशनका सञ्चालक बन्सी गुप्ताको अध्यक्षतामा भएको तयारी कक्षा उद्घाटन सत्रमा वडाध्यक्ष बैजुलाल स्वर्णकार, कार्यपालिका सदस्य कनिका कौशिक, शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण, सामाजिक विकास शाखा प्रमुख राजीव गिरीलगायतको सहभागितो थियो ।