प्रस, सिम्रौनगढ, २८ माघ/

महिलाहरूको लागि निश्शुल्क स्वास्थ्य जाँच तथा शल्यक्रिया शिविर सिम्रौनगढ नगरपालिका–७ स्थित सिम्रौनगढ स्वास्थ्य चौकीमा हिजो शुक्रवारदेखि शुरू भएको  छ ।

शिविरको उद्घाटन गर्दै नगरप्रमुख किशोरीप्रसाद कलवारले महिलाहरूमा लाग्ने रोगबारेमा कतिपय महिलाहरूलाई जानकारी पनि नहुने गरेको बताए । उनले महिलाहरूमा हुने रोगहरूबारे जानकारी गराउन र शिविरको माध्यमबाट त्यस्ता रोगको उपचार गराउने उद्देश्यले नगरपालिकाले सबै वडामा निश्शुल्क स्वास्थ्य शिविर आयोजना गर्ने बताए । उनले आफूमा भएको रोगका बारेमा खुलेर चिकित्सकलाई बताउन आग्रह गरे ।

उपप्रमुख नजमु शेहरले आफू पनि महिला भएको र पुरुषप्रधान समाजमा महिलाहरूको अवस्था राम्ररी थाहा भएको बताइन् । उनले पिछडिएका महिलाहरू स्वास्थ्य र प्रजननका कुरा निर्धक्क गर्न सक्ने अवस्थामा नरहेको बताइन् । महिलाहरूले आफ्नो रोग लुकाउने गरेका कारणले समस्या झेल्दै आएको बताउँदै उनले रोग नलुकाएर चिकित्सकलाई खुलस्त बताउन र सल्लाह सुझाव अनुसार उपचार गराउन सुझाइन् ।

सामुदायिक सेवा प्रतिष्ठान, भक्तपुरको सहयोगमा सिम्रौनगढ नगरपालिकाले आयोजना गरेको निश्शुल्क स्वास्थ्य शिविरमा डा दीपक साह, डा अजय साह, स्वास्थ्यकर्मीहरू रूपा कर्मचारी, रमा दाहाल, कृष्णसिकु श्रेष्ठले स्वास्थ्य चेकजाँच गरेका थिए ।

शिविरमा पाठेघरको क्यान्सर जाँच, पिसाब चुहिने रोगको पहिचान र उपचार, अङ्ग खस्ने समस्याको प्रतिरोधात्मक उपचार र परामर्श, अन्य रोगसम्बन्धी परीक्षण गरिएको थियो ।

सिम्रौनगढ स्वास्थ्य चौकी इन्चार्ज हरेरामप्रसाद जयसवालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार न्यौपाने, वडाध्यक्ष  विवेक मेहता, कर्मचारी प्रशासन प्रमुख जयनारायणप्रसाद यादव, स्वास्थ्य संयोजक विजय ठाकुर, कार्यक्रम संयोजक लीला सिलवाल, प्राविधिक निर्देशक महादेव बनिया, रामबाबू कुशवाहा, सुभाषप्रसाद कुशवाहालगायत सहभागी थिए ।

कार्यक्रममा स्वास्थ्य संयोजक विजय ठाकुरले स्वागत र सहजीकरण स्वास्थ्य  उपसंयोजक मणु यादवले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here