चिरञ्जीवी सापकोटा, ठोरी, २८ माघ/
पर्साको छिपहरमाई गाउँपालिकामा शनिवार नेपाल शिक्षक सङ्घको दोस्रो स्थानीय अधिवेशन सम्पन्न भएको छ ।
नेपाल शिक्षक सङ्घ, छिपहरमाई गापा का अध्यक्ष सुरेश साह कानूको सभापतित्व र नेपाली काङ्ग्रेस मधेस प्रदेशका महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले सुरेश साह कानूकै नेतृत्वमा सर्वसहमतिमा कार्यसमिति चयन गरेको नेका, पर्साका सहसचिव नवीन सिंहले जानकारी दिए । कार्यसमितिमा उपाध्यक्ष गणेश दास सतवा, सचिव मुकेश राउत कुर्मीलगायतका शिक्षकहरू सर्वसहमतिले चयन गरिएको नेता सिंहले बताए ।
कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले शिक्षा विकासको मेरुदण्ड भएको कारण शैक्षिक विकासका लागि गाउँपालिकाले अधिकांश बजेट विनियोजन गरी गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिएको बताए । शिक्षाको अभावले मानिसले चाहे अनुसारको जीवन निर्माण गर्न नसकेको बताउँदै प्रमुख अतिथि श्रेष्ठले लगानी मात्र गरेर नहुने अनुगमनलाई प्रभावकारी बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा विशिष्ट अतिथि छिपहरमाई गापाका अध्यक्ष मनोज गुप्ताले शिक्षामा विकास गर्न आफूले कुनै कसर बाँकी नराख्ने बताए । सबैको सहयोगविना विकास निर्माण सम्भव नभएकोले शिक्षकहरूले विद्यालय सुधार र शिक्षामा परिवर्तन गर्न आवश्यक व्यवस्थासमेत मिलाउन आफू पछि नहट्ने अध्यक्ष गुप्ताले बताए ।
नेपाली काङ्ग्रेसका प्रवक्ता रमेश पाण्डेले शिक्षकहरूको सम्मान गर्न जाने समाज आफैं परिवर्तन हुने बताउँदै चेतनामूलक कार्यक्रममार्फत समाजलाई अगाडि लानुपर्नेमा जोड दिए ।
नेका, पर्साका सहसचिव सिंहले शिक्षा र शिक्षक नै समाज विकासको मेरुदण्ड भएको बताउँदै शिक्षकहरूको आत्मसम्मानका निम्ति पालिकाले कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । विद्यालय भएर मात्र समाज विकास नहुने बताउँदै गुणस्तरीय शिक्षा र प्राविधिक शिक्षामार्फत आजका बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्न गाउँपालिकाले कार्यक्रम निर्धारण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल शिक्षक महासङ्घ, पर्साका अध्यक्ष तीर्थराज यादव, नेपाल शिक्षक सङ्घ मधेस प्रदेशका उपमहासचिव मोहनलाल कुर्मी, नेपाल शिक्षक सङ्घ, पर्साका अध्यक्ष प्रदीप जैसवाल, सचिव अशोक साहलगायतका वक्ताहरूले अधिवेशन सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।