- राजेश मिश्र
कमिशनमा आधारित साँठगाँठ
उपचार प्रक्रियामा अनेकौं अत्यावश्यक संसाधन प्रयोग हुन्छ, तर चिकित्सकबाहेक ती सबै अप्रत्यक्ष माध्यम हुन् । त्यसैमध्ये प्रयोगशाला पनि एक अप्रत्यक्ष माध्यम हो । अप्रत्यक्ष किन भने उपचारको लागि बिरामी सोझै प्रयोगशाला जाने होइन । उपचारको सिलसिलामा चिकित्सकले परीक्षण गर्नु आवश्यक ठानेमा प्रयोगशाला पठाउन सक्छ । रोग पत्ता लगाउनको लागि चिकित्सकहरूले प्रयोगशालालाई माध्यमको रूपमा प्रयोग गर्ने गरेकोे पाइन्छ । त्यस कारण अप्रत्यक्ष माध्यमको दोषभन्दा प्रत्यक्ष संलग्न चिकित्सकहरू बढी आरोप खेप्नुपर्ने हुन्छ ।
आम चर्चामा सधैं सुनिएको कुरा हो, प्रयोगशालासँग चिकित्सकहरूको कमिशनजन्य साँठगाँठ । किनभने अपवाद बाहेक चिकित्सकको आशीर्वादविना प्रयोगशालाको अस्तित्व पानीविनाको माछाजस्तै हुन्छ । उनीहरूको व्यावसायिक र आर्थिक गतिविधि चलायमान हुन मुश्किल हुन्छ ।
एकातर्फ दुर्ई पक्षबीच अदृश्य साँठगाँठले नियम कानूनको मान मर्दन त हुने नै भयो, अर्कोतर्फ प्रयोगशालाहरूको किंकर्तव्यविमुढता बाहिर आउने सम्भावना न्यून हुन्छ । कमिशनको सवालमा चिकित्सक तथा प्रयोगशाला सञ्चालकको अस्वीकारोक्ति पाच्य हुने कुरै भएन । झन् दुवै पक्षबाट विश्वासिलो जाँच रिपोर्ट पाइने/दिने आशयको झूटो उत्तर आउँछ । आमजनताको कोणले चिकित्सक र निजी प्रयोगशालाबीच कमिशनको लेनदेन हुने आरोप भलै कानूनी हिसाबले अप्रमाणित हुन सक्ला तर अकाट्य/अमान्य चाहिं होइन । हावा आँखाले देख्न नसकिने तर महसूस गर्न सकेझैं चिकित्सक र प्रयोगशालाबीच कानूनविपरीत कमिशनको खेल दुनियाँसामु छर्लङ्ग छ ।
समग्रमा हेर्ने हो भने स्वास्थ्य सेवामा संलग्न यस्ता अप्रत्यक्ष माध्यमहरूले गलती गरे पनि दण्डमुक्त हुनुको मूल कारण चिकित्सकहरूले बिरामीलाई आआफ्नो निकट प्रयोगशालामा पठाउनु हो । त्यस कारण प्रयोगशालाको रिपोर्टमा त्रुटि भए पनि चिकित्सकले मुख खोल्दैन् । त्यसमा उनीहरूकै बदनामी हुन्छ । अन्ततः प्रयोगशालाहरूकोे चर्तिकला बाहिर आउने सम्भावना न्यून हुन्छ । समय र पैसाको बर्बादी त बिरामीको नै हुने हो । यसको अर्थ सबै चिकित्सक सेवाभावबाट विमुख छन् भन्ने होइन । सेवाभावको जगमा खिया लगाउने चिकित्सकहरूभन्दा निस्स्वार्थ भावनाले सेवारत चिकित्सकहरूको सङ्ख्या थोरै भए पनि उनीहरूकै कारण सेवा भावको जग तटस्थ छ ।
एक ठाउँमा बिरामी निको नभए बाध्य भएर अर्को स्वास्थ्य संस्था वा चिकित्सको शरणमा पुग्छन् । चिकित्सकको सिफारिश बमोजिम पुनः अर्को प्रयोगशालामा जाँच गराइन्छ । त्यसपछि ‘दूधको दूध र पानीको पानी’ भनेझैं कसले कस्तो रिपोर्ट दियो भन्ने कुराको भण्डाफोर हुन्छ । यद्यपि अति न्यून सङ्ख्यामा प्रयोगशालाको गडबडी उजागर हुन पाउँछ ।
इतिहासले मानिसलाई भविष्यको लागि सचेतना प्रदान गर्दछ । सम्बन्धित पक्षमा सुधार होस् तथा आम मानिसमा सचेतना वृद्धि होस् भनेर समाचारहरूमा प्रकाशित विगतका केही घटना स्मरण गरौं ।
घटना नं १
विसं २०६७ को घट्ना हो । हेटौंडा–४ कमलडाँडाकी २५ वर्षीया एक महिला महीनावारी रोकिएपछि परीक्षणका लागि स्वास्थ्य कार्यालय जाँदा गर्भ बसेको जानकारी दिइयो । स्वास्थ्यकर्मीबाट टिटी खोपसमेत लगाएकी ती महिलाले स्वास्थ्यकर्मीले भने अनुसार आइरन चक्कीसमेत सेवन गर्न थालिन् ।
बच्चा बसेको लक्षण अनुभूति नभएर होला, केही महीनापछि उनी पुनः अस्पताल पुगिन् । त्यहीं अस्पतालले यस पटकको चेकजाँचमा महिलाको पेटमा बच्चा नभएको जानकारी दियो । घरपरिवारलाई तनाव र अविश्वास हुने नै भयो । उनीहरू भरतपुर हानिए । त्यहाँ जाँच गराउँदा बच्चा नभएको पुष्टि भयो । यसरी जिल्ला स्वास्थ्य कार्यालय, मकवानपुरको लापरवाही सार्वजनिक भएको थियो । शुरूमैं अस्पतालको चेक जाँचमा गडबडी नभएको भए महिलाले अनाहक दुःख पाउने थिइनन् ।
घट्ना नं २
विसं २०७३ मा तत्कालीन वीउमनपा–३ का बिरामी इस्लाम मन्सुरी प्रयोगशालाको गलत रिपोर्टको शिकार भएको घटना उजागर भएको थियो । ५५ वर्षीय मन्सुरी ज्वरो लागेर
वीरगंजको एक निजी अस्पतालमा भर्ना भएका थिए ।
चिकित्सकको सल्लाहमा उनको रगत, पिसाबको जाँच र भिडियो एक्सरे गरिएको थियो । प्रयोगशालाको रिपोर्ट अनुसार जन्डिस र भिडियो एक्सरेको रिपोर्टले उनको मिर्गौलामा समस्या भएको मन्सुरीलाई जानकारी दिइयो ।
दुवै रिपोर्टको आधारमा चिकित्सकले बिरामीलाई तत्काल चितवन जान सल्लाह दिए । चिकित्सकको सल्लाहबमोजिम उनी चितवन गए । चितवनको अस्पतालमा उपचार गराउँदा त्यहाँको प्रयोगशाला र भिडियो एक्सरेको रिपोर्टमा सबैथोक सामान्य देखिएको थियो । चिकित्सकले रिपोर्ट अनुसार कुनै प्रकारको समस्या नदेखिएकोले बिरामलाई फिर्ता पठाइदिए । मन्सुरी वीरगंज फर्किए । पैसा र समयको फजुल खर्च तथा तनावको शिकार मन्सुरीले वीरगंजको प्रयोगशाला र भिडियो एक्सरे सञ्चालकविरुद्ध जिल्ला प्रशासन कार्यालय, पर्सामा लिखित उजूरी दिएका थिए ।
घटना नं ३
बाराको परसौनी गाउँँपालिकाकी २५ वर्षीया महिलाको रगत परीक्षण स्थानीय स्वास्थ्य चौकीमा भएको थियो । स्वास्थ्य चौकीको प्रयोगशालाले परीक्षण गर्दा बिरामीको रगतमा ८५ हजार प्लेटलेट र ८.२ हेमोग्लोबिन देखिएको थियो । बिरामी महिलालाई चार दिन अघिदेखि हल्का ज्वरो आइरहेको थियो । टाउको र जीउ एकदमै दुखेकोले उपचारको लागि गाउँँपालिकाको स्वास्थ्य चौकी गएकी थिइन् । न्यून हेमोग्लोबिन र प्लेटलेट देखिएपछि स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूले डेंगुको आशङ्का गरे । बिरामीलाई वीरगंज अस्पताल उपचार गराउने सुझाव दिएर पठाइयो ।
बिरामीको परिवार उपचार गराउन वीरगंज हानियो । चिकित्सकको सल्लाह अनुसार पुनः रगत परीक्षण गराउँदा हेमोग्लोबिन ११.२८ र प्लेटलेट दुर्ई लाख देखियो । गलत रिपोर्टको कारण बिरामीमा डेंगु रोगको त्राससँगै मानसिक तनाव मात्र भएन, अपितु अतिरिक्त पैसा र समय खर्च भयो ।
उपरोक्त उदाहरणहरूले के प्रस्ट हुन्छ भने स्वास्थ्य प्रयोगशालाको त्रुटि दुर्ईवटा प्रयोगशालामा परीक्षण नगराई पत्ता लगाउन गा¥हो छ । तर प्रश्न के उठ्छ भने स्वास्थ्य उपचार गराउनु भनेको बजारको सबै पसल चहारेर घरायसी सामग्री खरीद गरेझैं सबै प्रयोगशालामा परीक्षण गराउनु सम्भव छ ?
‘ए र बी’ वर्गको प्रयोगशालाको सङ्ख्या
स्वास्थ्य प्रयोगशाला सञ्चालन तथा मापदण्डसम्बन्धी निर्देशिका, २०७७ अनुसार ए वर्गको निजी प्रयोगशालाहरूको सङ्ख्या देशैभरि कुल १६ छ । धेरैलाई थाहा नहोला, ‘ए’ वर्गको प्रयोगशाला कुन शहरमा कति छ ? निर्देशिकामा उल्लेख भए अनुसार काठमाडौंममा ११, ललितपुरमा २, भक्तपुरमा १, बुटवलमा १ र भरतपुरमा १ गरी १६ वटा ए वर्गका निजी स्वास्थ्य प्रयोगशाला रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको तथ्याङ्क अनुसार मधेस प्रदेश अन्तर्गत ए वर्गको निजी प्रयोगशाला छैन ।
त्यसैगरी बी वर्गको निजी प्रयोगशालाको सङ्ख्या देशभरि ५७ छ । काठमाडौंमा २५, ललितपुरमा ५, भरतपुरमा ५, वीरगंजमा ४, नेपालगंजमा ४, पोखरामा ३, भैरहवामा २, बुटवलमा २, विराटनगरमा २, भक्तपुरमा १, दमकमा १, धनगढीमा १, इटहरीमा १, बिर्तामोडमा १ । मधेस प्रदेशमा बी वर्गको निजी प्रयोगशाला वीरगंजबाहेक अन्य जिल्लामा छैन ।
रिपोर्टमा उल्लेख गर्नैपर्ने
सबै वर्गका प्रयोगशालाले प्रदान गर्ने परीक्षण रिपोर्टमा प्रयोगशालाको नाम, ठेगाना, सम्पर्क नम्बर, लाइसेन्स नम्बर, प्रयोगशालाको समूह वर्गीकरण, बिरामीको परिचय, सन्दर्भकर्ता/अनुरोधकर्ता/चिकित्सकको परिचय, नमूना सङ्कलन भएको स्थान, रिपोर्ट मिति, परीक्षण मिति, परीक्षणको विवरण, परीक्षण विधि, व्याख्यासहित परीक्षण नतीजा र योग्यता तथा परिषद्को दर्ता सङ्ख्यासहित अधिकृत व्यक्तिको हस्ताक्षर हुनु अनिवार्य रहेको निर्देशिकाले निर्दिष्ट गरेको छ । प्रावधान बमोजिम अपवादबाहेक प्रयोगशालाहरूले रिपोर्टमा परीक्षण विधि उल्लेख गरेको पाइँदैन ।
प्रयोगशालाहरूको कर्तव्य
प्रयोगशाला जुनसुकै वर्गको भए पनि मापदण्ड अनुसार कर्तव्य निर्वाह गर्नुपर्ने निर्देशिकाको मर्म हो । प्रयोगशालाको वर्गले परीक्षण रिपोर्ट कमसल, राम्रो वा अति राम्रो हुने होइन । प्रयोगशाला परीक्षणको तरीका पारम्परिक, अत्याधुनिक, विधि र प्रविधि आदिले छिटोछरितो र शुद्ध परिणाम आउने हुनुपर्छ । कुन–कुन परीक्षण कुन–कुन वर्गमा गर्न मिल्छ भन्ने आधारमा प्रयोगशलाहरूको वर्गीकरण गरिएको हो । प्रयोगशालाको वर्गीकरणले तोकिएको परीक्षणबाहेक वा तोकिएकोभन्दा कम प्रकारको जाँच गर्नुहुन्न भन्ने कुरालाई दर्शाउँछ । तोकिएको वर्ग अनुसार जाँचको प्रकार, उपकरण, प्रविधि, क्षेत्रफल आदिको समुचित व्यवस्था हुनुपर्छ ।
उदाहरणको लागि ‘ई’ वर्गको प्रयोगशालाले आधारभूत उपकरण तथा रिएजेन्ट/किट्सका साथै बाइनाकुलर माइक्रोस्कोप, सेन्ट्रीफ्यूज, कोलोरीमिटर, वाटर बाथ, भिडिआरएल शेकर, हाट एयर ओभेन, माइक्रोपिपेट्स, डिसी काउन्टर, पावर बैकअप, अटोक्लेभ आदि हुनुपर्छ ।
क्रमशः