प्रस, वीरगंज, २६ माघ/

वीरगंज महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरेको वीरगंज–१० प्रभु अस्पताल अगाडिको घर आज डोजर लगाएर भत्काएको छ ।

करीब १० धुर जग्गामा  पक्कीघर बनाएर व्यक्ति विशेषले कब्जा गरेको पुष्टि भएपछि महानगरले आज सो घर भत्काएको हो । यो जग्गाको सम्बन्धमा सर्वोच्च अदालतले आठ वर्ष अगाडि पैmसला गरे पनि व्यक्तिविशेषले जग्गा खाली नगरेर कब्जा गरेर बसेको थियो । नगरप्रमुख राजेशमान सिंह, वडाध्यक्ष रितेश गुप्ता, महानगरको ऐलानी पर्ती जग्गा संरक्षण समितिका संयोजक शम्भु मिश्र, सरसफाइ प्रमुख सर्फुद्दीन मियाँसमेतको उपस्थितिमा सार्वजनिक अतिक्रमित जग्गामा बनेको घर भत्काइएको हो ।

महानगरको ऐलानी पर्ती जग्गा संरक्षण समितिका संयोजक मिश्रले वीरगंज महानगर–२५ सुक्खा बन्दरगाह क्षेत्रमा करीब नौ कट्ठा जग्गा अतिक्रमण भएको र महानगरले शुक्रवार डोजर लगाएर अतिक्रमण हटाउने बताए । उनले रामगढवामा एकजना महिलाको मृत्यु भएको र निजको हकभोग खाने कोही नभएको अढाई कट्ठा जग्गा अतिक्रमण भएको र त्यसलाई पनि खाली गर्ने बताए ।

संयोजक मिश्रले शङ्कराचार्यद्वार नजीक करीब सात कट्ठा सार्वजनिक जग्गा अतिक्रमणको शिकार भएको र सो ठाउँलाई पनि अतिक्रमणमुक्त गरिने बताए । आजदेखि शुरू भएको अभियानले पहिलो चरणमा सार्वजनिक जग्गा अतिक्रमण देखिएका क्षेत्रहरू खाली गराएर पुनः सार्वजनिक जग्गाको खोजी गरिने र अतिक्रमणमुक्त गराउने बताएका छन् ।

चालीस वर्ष पुग्दा पनि माईराम पोखरीको अतिक्रमण खाली भएन

वीरगंज महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण अभियान अन्तर्गत आजदेखि पुनः अभियान शुरू गरे पनि पुरानो माईराम पोखरी (हालको चिल्ड्रेन पार्क)को अतिक्रमण भने हटाउन सकेको छैन ।

मझौला शहर एकीकृत वातावरणीय सुधार योजना अन्तर्गत एडिबीसमेतको सहयोगमा माईराम पोखरीमा चिल्ड्रेन पार्क निर्माण भएको थियो । पार्क निर्माण गर्दा पोखरीको करीब चार बिघा जग्गामध्ये १९ कट्ठामा मात्र पार्क निर्माण भएर पर्खाल लगाइएको थियो । करीब तीन बिघा एक कट्ठा जग्गा अतिक्रमणमा परेको र यो अर्बौ रुपियाँको सम्पत्तिमा महानगर अहिलेसम्म उदासीन छ । माईराम पोखरी अतिक्रमणमुक्त अभियान आजदेखि शुरू भएको होइन । करीब साढे तीन दशकदेखि माईराम पोखरी अतिक्रमणविरुद्ध प्रयास हुँदै आएको छ ।

वीरगंज नगर पञ्चायत हुँदादेखि अहिले महानगर भइसक्दा पनि सो क्षेत्रको अतिक्रमण हटेको छैन । ५७ जनाले तीनदेखि एक कट्ठा जग्गासम्म खरीद गरेको निस्साको आधारमा २०४७ सालको नयाँ नापीबाट पोखरीको जग्गा आफ्नो नाममा गराएर हाल साबिक पनि गराइसकेका छन् । महानगरसँग सो जग्गाको दसी प्रमाण पर्याप्त हुँदाहुँदै पनि अहिलेसम्म अतिक्रमणमुक्त हुन सकेको छैन । पछिल्लो समयमा कात्तिक २१ गते चिल्ड्रेन पार्क खाली गर्ने अभियान शुरू गरिएको थियो । तर श्रीराम अस्पतालको अतिक्रमण हटाउने र केही अतिक्रमित घरमा घन हानेर तर्साउनेबाहेक उपलब्धि हुन सकेन । कात्तिक २१ गतेदेखि अभियान शुरू भएको र माईराम पोखरी (चिल्ड्रेन पार्क)को अतिक्रमण हटाउने भनेर महानगरका नक्शा शाखा प्रमुख  रामसेवक महतोले बताएका थिए । तर अहिले उनी पनि सूचना जारी गरेको, पुनः सूचना जारी गरेको, अब तोड्ने, तब तोड्ने जस्ता आलटाले कुरा मात्रै गर्दैआएका छन् ।

नगरप्रमुख सिंहले भने अतिक्रमित जग्गा खाली गराउने बताए पनि अहिलेसम्म हतौडा र घन चलाउनेबाहेक सो सार्वजनिक जग्गाको अतिक्रमण हटाउन सकेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here