प्रस वीरगज,२५ माघ/

प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय वीरगंजमा औषधी अभाव भएको छ । सो अस्पतालले ६ महीनादेखि औषधी खरीद नगरेकोले बिरामीहरू समस्या भोग्दै आएका छन् । कार्यालय प्रमुख र कर्मचारीहरूबीच आपसी मनमुटावका कारण औषधी खरीदमा ढिला भएको र त्यसको मार बिरामीहरूले खेप्नुपरिरहेको छ ।

अस्पस्तालका अध्यक्षसमेत रहेका जिल्ला समन्वय समिति पर्साका सभापति अजय सरार्फले कर्मचारीहरूको आपसी द्वन्द्व समाधानका लागि प्रयास भइरहेको बताए । उनले जिल्ला अस्पतालबाट अपग्रेट भएर प्रादेशिक अस्पताल भएपछि औषधी खरीद र आधुनिक प्रयोगशाला निर्माणका  लागि एक/एक करोड रुपियाँ मधेस प्रदेश सरकारले पठाएको तर कर्मचारीहरूको आपसी द्वन्द्वको कारण औषधी खरीद प्रक्रिया र प्रयोगशाला निर्माण कार्य अगाडि बढ्न नसकेको बताए । उनले औषधी खरीद र प्रयोगशाला निर्माणमा ढिला भएको र टेन्डरसमेत प्रकाशित नभएकोले दुई करोड रकम फिर्ता जान सक्ने भनेर चिन्ता जाहेर गरे ।

यो अस्पतालमा गत वर्ष कोटेशनमा औषधी खरीद भएको थियो । कोटेशनबाट औषधी खरीद गर्दा अनियमितता हुन सक्ने भनेर एकथरी कर्मचारी टेन्डर गर्नुपर्ने अडानमा छन् भने एकथरी पुरानै तरीकाबाट कोटेशनबाट औषधी खरीद गर्ने मनसाय बनाएर बसेका छन् । तर न कोटेशनबाट औषधी खरीद भएको छ, न औषधी खरीदका लागि टेन्डर प्रक्रिया नै अगाडि बढाइएको छ ।

कार्यालय प्रमुख डा. रमेश मिश्रले  लेखापाल रामबालक यादवले हस्तक्षेप गरेको कारण औषधी खरीद हुन नसकेको दोषारोपण लगाए । उनले विवादमा पर्नुभन्दा अन्यत्र सरुवा हुन चाहेको बताए । उनले प्रदेश सरकारसँग सरुवा माग गरेको बताए । लेखापाल यादवले भने प्रमुखसँग विवाद नरहेको बताए । उनले खरीद प्रक्रियाका लागि प्रमुख र स्टोर शाखाको दोष भएको बताए । प्रक्रियागत रूपमा खरीद भएका वस्तुको भुक्तानी मात्र गर्ने भन्दै आफूलाई अनाहक विवादमा पार्न नहुने बताए । उनले अहिलेसम्म प्रमुखले भनेको स्थानबाट औषधी खरीद हुँदै आएको पनि बताए ।

प्रादेशिक अस्पताल मातहत रहेका पर्साका चौधवटा स्थानीय तहमा अहिले औषधि अभाव भएको छ । ६ महीनादेखि औषधी आपूर्ति नहुँदा नागरिक आरोग्य सेवा केन्द्र पर्सागढीको बडनियार, छिपहरमाई, पटेर्वासुगौली, बहुदरमाई र वीरगंजको बिर्तामा रहेका केन्द्रहरूमा औषधी छैन । स्थानीय तहले जिम्मा पाएको विन्ध्यवासिनी, जगरनाथपुर, पोखरियाको बैरियाबिर्ता र रानीगंज, ठोरीमा रहेको आयुर्वेदिक औषधालयमा पनि औषधि छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here