प्रस, वीरगंज, २५ माघ/
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रीन सिटी सामुदायिक सेवा केन्द्रको आयोजना र वीरगंज महानगर र राष्ट्रपति चुरे तराई मधेस विकास समिति भरतपुरको सहयोगमा बुधवार वीरगंज मनपाको मुख्य सडकको डिभाइडरमा वृक्षारोपण गरिएको छ ।
नगरप्रमुख राजेशमान सिंहले वृक्षारोपण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । उनले हराभरा स्वच्छ वीरगंजको लागि वृक्षारोपण गरिएको बताए । वृक्षारोपण गर्नु मात्र पुरुषार्थ होइन भन्दै उनले यसको संरक्षणमा ध्यान नदिंदा यस अघिका कार्यक्रम प्रभावहीन भएको बताए ।
वृक्षारोपण गरेर त्यसको संरक्षण गरेमात्र फल प्राप्त हुने भन्दै कार्यक्रमलाई औपचारिकता दिनुभन्दा वृक्षारोपणसँगै संरक्षणमा पनि ध्यान दिन सुझाए । नपाले वृक्ष संरक्षणको लागि काम गर्दै आएको उनले दाबी गरे ।
घण्टाघरदेखि पावरहाउससम्मको क्षेत्रमा खाली रहेका डिभाइडरमा आज म्याङ्गो स्टीक, सिङ्गापुरी, रातोरानी र गुलाबगरी दुई सयवटा बिरुवा रोपिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी, सहायक प्रजिअ महेशराज तिम्सिना, प्रहरी उपरीक्षक कोमल शाह, सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया, भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत नीतेश कुमार, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, पर्सा प्रहरी प्रवक्ता निर्मल बुढाथोकी, व्यवस्थित वीरगंज अभियानका दिलीपराज कार्की, महानगर सरसफाइ अधिकृत सर्फुद्दीन मियाँ, ज्येष्ठ नागरिक वसन्तप्रसाद उपाध्याय, वीरगंज युवा समाजका कमल चौगाईलगायत विभिन्न संस्थाका पदाधिकारीहरूको सहभागिता थियो ।