ओमप्रकाश चौधरी, सेढवा २५ माघ/

पर्साका सुरक्षा निकायका अधिकारीहरूले बुधवार जगरनाथपुर गाउँपालिका– १ मा रहेको सीमा स्तम्भको अनुगमन गरेका छन् । सुरक्षा अधिकारीहरूले नेपाल–भारत सीमास्थित ओरिया खोलामा भेटिएका सीमा स्तम्भको अवलोकन गरेका हुन् ।

ओरिया खोलामा रहेको सीमा स्तम्भहरूमध्ये १६ वटा सीमास्तम्भ केही समयदेखि हराइरहेको थियो । सो ठाउँबाट हालै ४२२, ४२२/१ नम्बरको सीमास्तम्भ बालुवाले पुरिएको अवस्थामा भेटिएको छ ।

भारतीय पक्षले टेन्डर गरी खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्दा दुईवटा हराएको सीमास्तम्भ फेला परेको हो ।  हराएका १६ वटा सीमास्तम्भमध्ये १४ वटा अझै फेला पर्न सकेको छैन । भारतीय पक्षले दशगजा क्षेत्रमा समेत उत्खनन गरेको देखिएपछि नेपाली अधिकारीहरूले सो कार्य रोक्न एसएसबीलाई सुझाएका थिए । घटनास्थलमा आज भारतीय एसएसबीका जिम्मेवार अधिकारी उपस्थित नभएकाले उच्च अधिकारीहरूसँग छलफल गरी उत्खननबारे निर्णय गर्ने बताएको गापा अध्यक्ष श्रीकान्त यादवले जानकारी गराएका छन् ।

अनुगमन टोलीमा पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी, प्रहरी उपरीक्षक कोमल साह, सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया, प्रहरी निरीक्षक किशोर आचार्य, वडाध्यक्ष लक्ष्मी साह, सुभाष यादवलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here