प्रस, ठोरी, १२ माघ/

ठोरी गाउँपालिकामा पहिलोपटक स्नातक तहको अध्ययन शुरू हुन लागेको छ । विजयबस्ती क्याम्पसमा अध्यक्ष लालबहादुर श्रेष्ठले स्नातक तह अध्ययनको बिहीवार औपचारिकरूपमा उद्घाटन गरेका छन् ।

उनले ताम्रपत्रको अनावरण गर्दै क्याम्पसको औपचारिक शुभारम्भ गरे । वसन्तपञ्चमीको अवसरमा मावि विजयबस्तीमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा वक्ताहरूले क्याम्पस स्थापना गर्नुभन्दा पनि सञ्चालन गर्न चुनौतीपूर्ण रहेकोले दिगो आर्थिक व्यवस्थापनका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

अध्यक्ष श्रेष्ठले क्याम्पसलाई दीर्घकालसम्म सञ्चालन हुने वातावरण निर्माण गर्न गापाले सहयोग गर्ने बताए । उनले क्षमताले भ्याएसम्म ठोरीमा गापाले स्नातक तहसम्म निश्शुल्क शिक्षाको व्यवस्था गर्ने बताए । हाल ठोरीमा कक्षा १२ सम्म निश्शुल्क पठनपाठन हुँदै आएको उनले बताए ।

कार्यक्रममा गापा उपाध्यक्ष गोकुली रेग्मीले क्याम्पसले आवश्यक ठानेमा निश्शुल्क अध्ययन गराइने बताइन् ।

नेपाली काङ्ग्रेस मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठले क्याम्पसको जगेर्ना गर्ने पहिलो दायित्व ठोरी गापाको भएको र आफूहरूको पनि साथ रहने प्रतिबद्धता व्यक्त गरे । ठोरी गापाका पूर्वअध्यक्ष पदमलाल श्रेष्ठले क्याम्पस सञ्चालनमा साथ र सहयोग रहने बताए ।

कार्यक्रममा वडाध्यक्ष मानबहादुर थिङ, नेका, ठोरी सभापति सन्तोष श्रेष्ठ, एमाले, ठोरी अध्यक्ष खगेन्द्र श्रेष्ठ, मावि विजयबस्तीका प्रधानाध्यापक नारायण लामा, विव्यसका पूर्वअध्यक्ष रामबहादुर श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रेम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस स्थापनामा महत्वपूर्ण सहयोग पुर्याएबापत नेका, ठोरीका सभापति सन्तोष श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा ठोरीका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विद्यालय र सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।

शिक्षाशास्त्र सङ्काय अध्यापन हुने क्याम्पसमा माघ १५ गते आइतवारदेखि नियमित पठनपाठन हुने क्याम्पसप्रमुख गोपीलाल श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here