प्रस, गरुडा, ११ माघ/

मधेस प्रदेशकै सबैभन्दा ठूलो काठ फर्निचर मेला शुरू भएको छ । एक दशकभन्दा बढी समयदेखि गरुडा नगरपालिका–१ जयनगरमा काठबाट बन्ने विभिन्न फर्निचरहरूको ठूलो मेला लाग्दै आएको छ । फर्निचर मेलामा सर्लाही, बारा र रौतहटका विभिन्न गाउँबाट फर्निचर व्यवसायीहरू आउने गरेका छन् ।

मुख्यगरी काठबाट निर्मित फर्निचरको ठूलो बिक्री मेलामा हुने गरेको छ । एक महीनाभन्दा लामो समयसम्म चल्ने फर्निचर मेलामा पलङ, खाट, कुर्सी, दराज मुख्य आकर्षण हुने गरेको भएपनि घरायसी प्रयोगका अन्य विभिन्न सामग्रीहरू पाइन्छन् । गाउँघरकै काठ तथा प्लाइवूडको प्रयोगले बनेका अधिकांश फर्निचर निर्माणमा श्रमिक पनि फर्निचर उद्योगका मालिक, आफन्त तथा कम ज्यालाका ग्रामीण मजदूरहरू हुने भएकाले बजारको तुलनामा मेलामा निकै सस्तो फर्निचर पाउने गर्छ ।

काठबाट निर्मित फर्निचर सस्तो पाइने भएकाले धेरै ठाउँका ग्राहकहरू फर्निचर मेलामा पुग्ने गरेका छन् । जयनगर फर्निचर मेलाबाट काठमाडौं, जनकपुर, पोखरा, वीरगंजका साथै सर्लाही, रौतहट र बाराका विभिन्न गाउँमा काठे फर्निचर पुग्ने गरेका छन् । साथै भारतका विभिन्न ठाउँसम्म पनि मेलाबाट घरायसी प्रयोजनका लागि ग्राहकहरूले फर्निचर लैजाने गरेको बुझिएको छ ।

मेलामा करीब दश करोड रुपैयाँको फर्निचर बिक्री हुने गरेको स्थानीयको भनाइ छ ।

हरेक वर्ष मेलाको विस्तार हुँदै गएको छ । फर्निचर मेलाले गाउँको मान बढाएको वडाध्यक्ष शेख ओहावले बताएका छन् । श्रीपञ्चमीको एक/दुई दिन पहिलेदेखि एक महीनाभन्दा लामो समयसम्म फर्निचर मेला लाग्ने गरेको वडाध्यक्ष ओहावको भनाइ छ ।

गौर–चन्द्रनिगाहपुर मुख्य सडकखण्डसँगै लाग्ने काठे फर्निचर मेलाबाट फर्निचर व्यवसायी तथा उद्योगीहरूले पनि राम्रो आम्दानी लिने गरेका छन् । फर्निचरको एकमुस्ट बिक्री हुने गरेकाले व्यवसायीहरूलाई फाइदा हुने गरेको एकजना व्यवसायीको भनाइ छ ।

घरायसी प्रयोजनका साथै दाइजो तथा उपहारमा दिनका लागि पनि मेलामा फर्निचर बिक्री हुने गरेको फर्निचर व्यवसायीहरूको भनाइ छ । विभिन्न ठाउँका फर्निचर व्यवसायीहरू मेलामा आफ्ना सामग्रीसहित जम्मा हुँदा फर्निचरको कला, लागत तथा अन्य विषय आदानप्रदान हुने गरेको व्यवसायीहरूको बुझाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here