प्रस, वीरगंज, ७ माघ/
वीरगंज महानगरपालिका–१ बजार छपकैयामा सशस्त्र प्रहरी बल प्रधान कार्यालयको टोलीले शुक्रवार स्थानीयसँग भेटघाट छलफल गरेको छ ।
सशस्त्रको टोलीले सीमा क्षेत्रमा बसोवास गर्ने जनतासँग समस्या बुझेका थिए । सशस्त्र प्रहरी बल प्रधान सशस्त्र प्रहरी उपरीक्षक राजकुमार खनाल नेतृत्वको टोलीले जनताको समस्याबारे सुझाव सङ्कलन गरेको थियो ।
सो अवसरमा स्थानीयले सीमापारीबाट घरायसी प्रयोजनका लागि ल्याइने सामानहरूमा पनि दुःख दिने गरेको गुनासो पोखे । उनीहरूले खेतीका लागि ल्याउने एक बोरा मल पनि समात्ने गरेको बताए । यसैगरी वैवाहिक कार्यक्रमका लागि ल्याइने समानहरूमा पनि सशस्त्रको रोकावट हुने गरेको उनीहरूको आरोप थियो ।
दुई देशबीच वैवाहिक कार्यक्रमहरू हुँदै आएको तर सो प्रयोजनका लागि खरीद गरेर ल्याइने समान पनि सशस्त्रले रोकेर दुःख दिने गरेको उनीहरूले बताए । सशस्त्र प्रहरीले घरायसी सामान ल्याउँदा समेत दुःख दिने गरेको बताए ।
सीमाका बासिन्दाले सीमामा रहेको ३९१ जङ्गी पिलर र ३९२ को सहायक पिलर हराइरहेको जानकारी गराएका थिए । स्थानीयले सोही वडाको भकुवा मन्दिर अगाडिको तीन फिटको लच्का काठेपुल सशस्त्र प्रहरीले तोडी दिएको आरोप लगाए ।
सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रवक्ता निमित्त सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बस्नेतले सीमा नाकाका मानिसलाई सशस्त्र प्रहरीले खासै दुःख नदिएको बताए । उनले केही व्यक्तिले घरायसी सामान भनी कमाइ खाने भाँडो बनाएको र सशस्त्रको अनाहकमा बदनामी गर्ने कार्य भएको बताए । उनले विशुद्ध घरायसी प्रयोजनका सामानहरू नरोकिएको तर सानो परिणाममा सामान ल्याएर सीमामा भण्डार गर्नेहरूलाई भने रोक्ने कार्य भएको बताए ।
कार्यक्रममा वडाध्यक्ष बैजु स्वर्णकार, स्थानीय मनोज गुप्ता, कौशलकिशोरलाल दास, शैलकिशोरलाल दास, सशस्त्र प्रहरी बल प्रधान कार्यालयका सप्रउ लेखनाथ खनाल, इन्जिनीयर सञ्जयकुमार मण्डल, बिओपि सिर्सियाका तेज पोखरेल, विओपि भन्सारका रवीन्द्र भट्टलगायतको सहभागिता थियो ।