• राजेश मिश्र

श्रीपञ्चमी अथवा वसन्त पञ्चमी सनातन हिन्दूहरूको विशेष पर्व यस वर्ष माघ १२ गते बिहीवारको दिन मनाइँदै छ । यस दिन विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । यो पर्व हरेक वर्ष माघ शुक्ल पञ्चमीको दिन पर्दछ ।

विद्यालयहरूमा पूजाको तयारी शुरू भइसकेका छन् । शिक्षक, विद्यार्थी तथा विविध पेशाकर्मीहरू श्रीपञ्चमीको दिन सरस्वतीमाताको पूजा र आराधना गरी धूमधामले मनाउने चलन सदियौंदेखि निरन्तर छ । युवाहरूले समूह बनाएर आआफ्नो चोक–टोलमा सरस्वतीपूजा गर्ने चलन राम्रो हो । यद्यपि मनोरञ्जनको नाममा अभद्र गीत, सङ्गीत र नृत्य प्रतिध्वनित गर्ने कार्य किमार्थ उचित होइन । यो नितान्तरूपमा संस्कृतिमाथि विकृतिको द्योतक हो । त्यस कारण संस्कृतिको संरक्षणप्रति युवा पुस्ताको ध्यान केन्द्रित हुनु जरुरी छ । सभ्य तरीकाले देवी सरस्वतीको भव्य पूजा गर्नु उत्तिकै आवश्यक छ ।

देवी सरस्वतीको उत्पत्ति तथा वसन्त पञ्चमीको महत्वको बारेमा पुरोहितको विचारसँगै विविध क्षेत्रका व्यक्तित्वहरूसँग भएका संवादको संक्षिप्त अंश प्रस्तुत छः–

पण्डित अरुण मिश्र

(रानीघाट, वीरगंज)

 “या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।

या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।।

या ब्रह्माच्युत शङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता ।

सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।१।।”

अर्थात् “जो विद्याकी देवी भगवती सरस्वती कुन्दको फूल, चन्द्रमा, हिमराशि र मोतीको हार जस्तै श्वेत वर्णकी हुनुहुन्छ र जो सेतो वस्त्र धारण गर्नुहुन्छ, जसको हातमा सुन्दर वीणा–दण्ड शोभायमान छ, जो श्वेत कमलमा आसन ग्रहण गर्नुभएको छ तथा ब्रह्मा, विष्णु र शङ्कर आदि देवताहरूद्वारा जो सदैव पूजित हुनुहुन्छ, उनै सम्पूर्ण जडता तथा अज्ञानबाट मुक्त गर्ने भगवती सरस्वती हाम्रो रक्षा गर्नुहोला ।”

माघ १२ गते श्रीपञ्चमी परेको छ । नेपाली समय अनुसार बिहान ७ बजेर २७ मिनेटदेखि दिउँसो १२ बजेर ४५ मिनेटसम्म पूजाको शुभ मुहूर्त छ । यससँगै यस वर्ष चारवटा शुभ योग अर्थात् शिवयोग, सिद्धियोग, सर्वसिद्धियोग र रवियोगमा पूजा र आराधना गर्नु वाञ्छिनीय छ ।

देवी सरस्वतीको उत्पत्ति

हिन्दू धर्मग्रन्थहरूमा देवी सरस्वतीको उत्पत्तिबारे प्रसङ्ग यस्तो छ– सृष्टिको प्रारम्भिककालमा भगवान् विष्णुको आज्ञा अनुसार ब्रह्माजीले जीवहरूको सृष्टि गर्नुभयो । मनुष्य योनीको रचना गरिसकेपछि भगवान् ब्रह्मा खुशी हुनुभएन । किनभने उहाँलाई केही कमी महसूस भयो । पुनः भगवान् विष्णुको अनुमति लिएर ब्रह्माजीले आफ्नो कमण्डलबाट जल लिएर पृथ्वीमा छर्कनुभयो । लगत्तै पृथ्वीमा कम्पन हुन थाल्यो । यसपछि एक अद्भुत नारी शक्तिको उत्पत्ति भयो । प्रकाट्य एक चतुर्भुज सुन्दर स्त्रीको प्रत्येक हातमा क्रमशः वीणा, वरमुद्रा, पुस्तक तथा माला थियो । ब्रह्माजीले देवीसँग वीणावादन गर्ने अनुरोध गर्नुभयो । जब देवीले वीणाको मधुरनाद गर्नुभयो, तब संसारका समस्त जीवजन्तुहरूलाई वाणी प्राप्त भयो ।

ब्रह्माजीले ती स्त्रीलाई वाणीकी देवी सरस्वती नामकरण गर्नुभयो । देवी सरस्वतीलाई बागेश्वरी, भगवती, शारदा, वीणावादनी, वाग्देवी, सरस्वती, शारदा, जगत्माता, कौमार, वरदायिनी, कामधेनु आदि अनेकौं नामले पूजा गरिन्छ ।

ज्ञान, बुद्धि, संयम र विवेक प्रदायिनी देवी सरस्वतीको कृपाबाट मानवले मस्तिष्कको अथाह ज्ञान प्रयोग गर्दै आजको संसार विज्ञानमय बनेको छ । संस्कार, सभ्यता र संस्कृतिकी स्रोत सरस्वतीपूजाको दिन नाक र कान छेड्नेदेखि विद्याको प्रारम्भ तथा शुभ कार्यहरू आरम्भ गर्दा साइत जुराउनुपर्दैन ।

धातु वा माटोको प्रतिमा वा माता सरस्वतीको चित्र अङ्कित तस्बिरहरू सजाएर पूजापाठ गरिन्छ । पूजामा देवीलाई मन पर्ने दही, दूध, घ्यू, मह, चिनी, नैवेद्य, फलफूल, मिठाइ, कपुर, वस्त्र, भेटी, चन्दन,  बेल, नरिवल आदि अर्पण गरिन्छ । तराई क्षेत्रमा देवी सरस्वतीको माटोको प्रतिमा बनाइ पूजा गर्ने चलन छ । प्रतिमामा प्राणप्रतिष्ठा गरी धूमधामसँग पूजा गरी भोलिपल्ट जलाशयमा विसर्जन गर्ने चलन छ । सरस्वतीमाताको पूजनले व्यक्तिलाई हरेक क्षेत्रमा सफलता प्राप्त हुन्छ भन्ने विश्वास छ ।

पुस्तकमा उल्लेख भए अनुसार देवी सरस्वतीलाई प्रसन्नचित्त गर्नको लागि वन्दना गरिन्छ ः–

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी ।

हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।।१।।

प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती ।

तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी ।।२।।

पञ्चम् तु जगन्माता षष्ठं वागीश्वरी तथा ।

सप्तम् चैव कौमारी अष्टम् वरदायिनी ।।३।।

नवम् बुद्धिदात्री च दशम् ब्रह्मचारिणी ।

एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी ।।४।।

द्वादशै तानि नामानि त्रिसन्ध्यं य पठेन्नरः ।

जिह्वाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती ।।५।।

समस्त भक्तजनहरूलाई देवी भगवती सरस्वतीमाताले कल्याण गरून् । श्रीपञ्चमीको अवसरमा समस्त श्रद्धालुजनलाई शुभकामना व्यक्त गर्दछु ।

सन्दीप रौनियार

(चार्टर्ड एकाउन्टेन्ट, वीरगंज)

सरस्वतीमाताको कृपाले आधारभूत विद्यालयबाट माध्यमिक विद्यालय र त्यसपछि विश्वविद्यालय हुँदै अहिले चार्टर्ड एकाउन्टेन्टको व्यावसायिक पेशामा आबद्ध भएको झन्डै एक दशक भइसक्यो । देवी सरस्वतीप्रति अगाध श्रद्धा आज पनि उत्तिकै छ । म रेलवे मावि, वीरगंजमा पढ्थें । वसन्त पञ्चमीको अवसरमा विद्यालयमा आयोजित हुने पूजन समारोह आज पनि स्मरणमा ताजा छ ।

केही दिनअगावैदेखि सरस्वतीपूजाको तयारी शुरू हुन्थ्यो । शिक्षक तथा विद्यार्थी सम्मिलित पूजा समितिले सबै काम गर्नुपथ्र्यो । कक्षा चार/पाँचमा पढ्दा मलाई याद भएसम्म प्रतिविद्यार्थी दश/पन्ध्र रुपैयाँ चन्दा दिनुपथ्र्यो । पूजन तथा सजावटका सामग्री र खाद्यान्न किन्न बजारमा जाने तर्खर हुन्थ्यो ।

कक्षामा प्रथम विद्यार्थी निगरानीकर्ता (मोनिटर) हुने प्रचलन छ । निगरानीकर्ता विद्यार्थी नै पूजामा बस्ने प्रावधान थियो । त्यस कारण पूजामा बस्ने कुराले पढाइप्रति विद्यार्थीमा प्रतिस्पर्धा जागृत गथ्र्यो । सबैजना विद्यार्थी मिलेर पूजनस्थलको सरसफाइ तथा लिपपोत र विद्यालयको प्राङ्गण सफा गरेर चिटिक्क पारिन्थ्यो । त्यसपछि कोही रङ्गीन कागज विभिन्न आकारमा काट्ने र डोरीमा टाँस्ने काममा जुटिन्थ्यो ।

हामी विद्यार्थीहरू हातमाथि उचाल्दै ठूलो स्वरमा “सरस्वती माताकी जय” भन्थ्यौं । विद्यालयको चौर विद्यार्थीहरूले भरिभराउ हुन्थ्यो । सबै विद्यार्थी सफासुग्घर वस्त्रमा सुसज्जित भएर आउँथे । ठन्डा मौसममा नुहाउन अल्छी मान्ने विद्यार्थीहरू सरस्वतीपूजाको दिन स्नान गरेर र नयाँ वस्त्रमा सुसज्जित भएर एकाबिहान विद्यालयमा आइपुग्थे ।

वसन्त पञ्चमीको एक महीनाअगावैदेखि सरस्वतीमाताको मूर्ति विसर्जन नहुन्जेल विद्यार्थीहरूमा चरम उत्सकुता रहन्थ्यो ।

वीरेन्द्र चौहान

(महाकाली चिनी कारखाना, धनगढी)

मेरो जन्मथलो पर्साको पोखरिया नपा–३ फूलवरिया हो । झन्डै चार दशकअघिको स्मरण गर्न पाउँदा हर्षित महसूस गरिरहेको छु । कक्षा पाँचसम्म गाउँको प्राथमिक विद्यालयमा तथा कक्षा ६ देखि पोखरिया माविमा सरस्वतीपूजा मनाएको क्षण जीवनपर्यन्त बिर्सन सकिंदैन । माघ महीनाको आगमनसँगै वसन्त पञ्चमीको उमङ्गले म मात्रै होइन, समस्त बालबालिकाको मनमा समुद्रको छालझैं खुशीको तरङ्ग प्रवाहित हुन्थ्यो । उहिले सरस्वतीपूजा विद्यार्थी तथा सामान्यजनबाट सङ्कलित चन्दा सहयोगमा निर्भर थियो । विद्यार्थीहरूको जम्मा सङ्ख्यामध्ये झन्डै ६० देखि ७० प्रतिशत विद्यार्थीबाट चन्दा सङ्कलन गर्नु हम्मेहम्मे हुन्थ्यो । घटीबढी आर्थिकपूर्ति शिक्षकहरूले गर्नुहुन्थ्यो ।

वसन्त पञ्चमीको दिन देवी सरस्वतीको पूजनोत्सवको दिन त हुँदै हो, यससँगै अतिरिक्त ज्ञान प्राप्त हुने अवसर पनि हो । समूहमा मिलेर काम गर्ने, सफाइसम्बन्धी ज्ञान अभिवृद्धि हुने, सांस्कृतिक कार्यक्रमले क्षमता अभिवृद्धि हुनेलगायतका विविध प्रकारका संस्कार र संस्कृति आदिबारे जान्ने दिन हो, वसन्त पञ्चमी ।

विद्यार्थीवर्गले पढाइलेखाइको तनावबाट फुर्सत पाइने दिनको रूपमा ठान्छन् । बाल्यकालमा म पनि त्यस्तै ठान्थें । सरस्वतीपूजा धार्मिक संस्कृतिका साथै बालबालिकामा अतिरिक्त क्षमता विकास हुने अवसर पनि हो । सरस्वतीपूजासँगै विविध क्रियाकलापमा सहभागी हुन पाइन्छ । त्यस कारण सरस्वती पूजनोत्सव अत्यन्तै सान्दर्भिक पर्व हो । मिलेर काम गर्ने, रङ्गीन कागज काट्ने र डोरीमा टाँस्ने, विद्यालयको प्राङ्गणमा चारैतिर झुन्ड्याउनेलगायतका कामहरू सिक्ने अवसर हो । उपल्लो कक्षाका अग्रज विद्यार्थीहरूले काम गर्छन् र कनिष्ठ कक्षाका विद्यार्थीहरू संस्कार र संस्कृति सिक्ने अवसर पाउँछन् । यसरी विद्यायलस्तरमा यो प्रक्रिया क्रमशः चलिरहन्छ ।

पूजन सामग्री सीमावर्ती सिकटा बजारबाट खरीद हुन्थ्यो । मावि तहमा पढ्दा कक्षा ९ र १० का विद्यार्थीहरू पूजाको नेतृत्व गर्दथे । धूमधामले पूजा हुन्थ्यो । कक्षा ९ र १० पढ्दा मैले पनि पूजाको नेतृत्वकर्ता समूहमा सामेल हुने अवसर पाएँ । सरस्वतीमाताको पूजा समापन भएपछि पञ्चामृत, चुरण, हलुवा, बयर, शखरखण्ड तथा शीतल केसर गरी पाँच प्रकारका प्रसाद ग्रहण गर्न पाइन्थ्यो । त्यसपछि पङ्क्तिमा बसेर गफ गर्दै पुडी, तरकारी, जलेबी र बुनियाँ पेटभरि खाएको त्यो क्षण वास्तवमा अद्भुत थियो ।

बिएस्सी, केमेस्ट्री अनर्स गरेर झन्डै डेढ दशकदेखि महाकाली चिनी कारखाना, कञ्चनपुर, धनगढीमा कार्यरत छु । सबैजनालाई वसन्त पञ्चमीको हार्दिक शुभकामना !

राखी गौचन

(साहित्यकार, अमेरिका)

प्राथमिक शिक्षा काठमाडौंको बालाजुस्थित होलील्यान्ड विद्यालयमा भयो । गणबहालको पीपलबोट चोकमा टोलका अग्रज, समकक्षी तथा कनिष्ठ आदि सबै उमेर समूहका साथीहरू मिलेर सरस्वतीपूजा गरेको सम्झना छ । वरिपरिका पसलहरूबाट केही कार्टून सङ्कलन गथ्र्यौं । त्यसपछि सोही कार्टूनले सानो आकारको मन्दिर निर्माण गथ्र्यौं । रङ्गीन कागजले सजाएर सुन्दर बनाउँथ्यौं । फूल, अक्षता, प्रसाद, मिठाइ आदिको प्रबन्धको लागि अभिभावकको आर्थिक सहयोग पाइन्थ्यो ।

केही समयपछि कास्की जिल्लाको पोखरा शहरमा बसाइँ सर्यौ । त्यसपछि शैक्षिक यात्रा पोखरास्थित अन्नपूर्ण विद्यालयमा शुरू भयो । माघको महीना थियो । श्रीपञ्चमीको अवसरमा विद्यालयमा सरस्वतीपूजाको तयारी तीव्र थियो । देवी सरस्वतीको पूजापाठ सकेपछि हामी सबैजना विद्यार्थी, शिक्षक तथा आगन्तुकले प्रसाद ग्रहण गर्यौ । निर्धारित कार्यक्रम अनुसार दिउँसो सांस्कृतिक तथा कविता प्रतियोगिता थियो । मैले कविता प्रतियोगितामा भाग लिएकी थिएँ । कार्यक्रम शुरू भयो । मेरो पालो आयो । माइकमा मेरो नाम उच्चारण भएपछि मुटुभित्र ढुकढुकी तीव्र भयो । मानसिक तनावका बावजूद मञ्चमा गएँ । हातमा माइक लिएँ र कवितावाचन शुरू गरें ।

 “पर्दाभित्र रहेको सुख र दुःखलाई मैले चिन्न सकेकी थिइनँ,

मैले आफ्नो आँसुको मौलिकतालाई

कहिले पिइनँ,

वर्षाझैं आँसु झरेर पनि

कहिले सकिएन,

समाजमा यति व्यङ्ग्यात्मक हाँसोले भरिन्छ

भन्ने कुरा मलाई थाहै थिएन,

वनको लाशको चिताझैं जलेर पनि कहिले

खरानीमा परिणत हुन सकिएन,

पर्दाभित्र रहेको … ।”

शिक्षक, विद्यार्थी, अभिभावक तथा आगन्तुकहरूको उपस्थितिमा पहिलोपटक कवितावाचन गर्नु अत्यन्तै कठिन काम थियो । यद्यपि दत्तचित्त भएर कवितावाचन गर्न थालें । अघिदेखि हलचल भइरहेको माहोल पछि शान्त मुद्रामा कविता सुनिरहेको थियो । कवितावाचन गरिरहँदा शान्त माहोल देखेर कविता तथा प्रस्तुति ठीक नभएको हो कि भन्ने आफूलाई आशङ्का भयो । यद्यपि कविताको अन्तिम पङ्क्तिको समाप्तिसँगै तालीको गड्गडाहटले मुटुभित्रको तीव्र ढुकढुकी खुशीमा परिणत भई आँसुकोे थोपा आँखामा उदीयमान भयो ।

देवी सरस्वतीको पूजनोत्सवको अवसरमा कवितावाचन प्रतियोगितामा प्राप्त जीवनको पहिलो पुरस्कारले कवितालेखनप्रति हौसला थप भयो । अहिलेसम्मको जीवनयात्रामा विभिन्न प्रकारका कविता तथा गीत लेख्ने क्रम निरन्तर चलिरहेको छ । गीती एल्बम पनि निकालेकी छु । देवी सरस्वतीको कृपाले लेखन विधामा बेलाबेला पाउने पुरस्कारले साहित्यक क्षेत्रमा जिम्मेवारीपूर्ण लेखन झन् बढ्दो छ । अमेरिकाको क्यालिफोर्निया राज्यमा बसेर विविध व्यस्तताका बावजूद वाग्मती खोलामा पानी बगेझैं नेपाली साहित्यिक यात्रामा निरन्तर प्रवाहित भइरहेकी छु । सरस्वतीपूजाको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here