ओमप्रकाश चौधरी, सेढवा, ५ माघ/
पटेर्वासुगौली र जीराभवानी गाउँपालिकाबीच खोलाको विषयलाई लिएर विवाद बढ्दो छ । जीराभवानी गापाले यही पुस ८ गते भलुवाही खोलाको नदीजन्य पदार्थ उत्खननको लागि निकालेको ३० दिने सूचनाविरुद्ध पटेर्वासुगौली गापाले उच्च अदालत वीरगंज इजलासमा रिट दायर गरेको छ ।
जीराभवानी गापाले जारी गरेको सूचना खारेज गरी पाऊँ भनेर उच्च अदालतमा दिएको रिटको अहिले सुनवाइ भएको छैन । यसअघि पनि दुई गापाबीच पर्ने भलुवाही र जमुनिया खोलाको विषयलाई लिएर विवाद हुँदै आएको थियो । आवमा २०७५/७६ मा पटेर्वासुगौली गापाले जमुनिया खोलाको ठेक्का लगाएको थियो र सो ठेक्का लगाउँदा दुवै गापाले आधा/आधा रकम पाउने गरी निर्णय भएको थियो । तत्कालीन प्रहरी प्रशासनको रोहबरमा भएको सो निर्णयविरुद्ध पटेर्वासुगौलीले लगाएको ७० लाखको ठेक्काबाट ३५ लाख जीराभवानीलाई दिनुपर्नेमा अहिलेसम्म दिइएको छैन । जीराभवानी गापाका तत्कालीन अध्यक्ष्F रामप्रीत महतो र पटेर्वासुगौली गापाका तत्कालीन अध्यक्ष हरिनारायण चौधरीबीच यस्तो सहमति भएको थियो ।
जीराभवानी गापाका प्रमुख प्रशासकीय अधिकृत प्रFण मेहताले पटेर्वासुगौलीले रु ३५ लाख भुक्तान नगरेको बताए । उनले स्थानीय प्रहरी प्रशासनले यसअघि भलुवाही खोलाको हकमा थरुहट सडकको पुलदेखि उत्तर बगाराडोभसम्म जीराभवानीको क्षेत्र र त्यसपछि सबडिभिजन वन कार्यालयसम्मको क्षेत्र पटेर्वासुगौलीको निर्धारण गरेको र सोही अनुसार ठेक्काको सूचना जारी गरिएको बताए ।
विवादकै कारण आव २०७६/७७ मा भलुवाही र जमुनिया खोलाको ठेक्का लाग्न सकेन । आव २०७७/७८ मा क्षेत्र छुट्याएपछि ठेक्का लगाइएको हो । यसअघि जीराभवानी गापाका अध्यक्ष अनोज चौधरी, पटेर्वासुगौली गापाका अध्यक्ष दिनेशकुमार चौधरी, वडाध्यक्षहरू, दुवै गापाका अमिन र मेन्टेनेन्स नापी शाखाका अमिनले नापजोख गरेर दश दिनअघि भलुवाही खोलाको ४० प्रतिशत भाग जीराभवानीमा पर्ने र बाँकी ६० प्रतिशत पटेर्वासुगौलीमा पर्ने देखाएको थियो । सोही अनुसार जीराभवानीले आफ्नो क्षेत्रमा पर्ने खोलाको ठेक्का गरेको प्रमुख प्रशासकीय अधिकृत मेहताको भनाइ छ ।