–शरद् शर्मा
काठमाडौं, २ माघ/रासस
नेपालमा गरिएको नमूना परीक्षणमा सेरोटाइप–३ स्वरूपको डेङ्गु धेरै देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र त्रिभुवन विश्वविद्यालयको प्रयोगशालामा गरिएको अध्ययनमा सेरोटाइप–३ स्वरूपको डेङ्गु पाइएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले जानकारी दिए ।
उनले विगतका वर्षभन्दा यसपटक सेरोटाइप–३ धेरै देखिएको बताए । “यसभन्दा अघि पनि हामीले नमूना परीक्षण गर्दा थोरै मात्रामा सेरोटाइप–३ देखिएको थियो,” उनले भने, “यसपटक भने बिरामी पनि धेरै भएकाले धेरैजनामा सेरोटाइप–३ देखिएको छ ।”
सामान्यतः एकपटक डेङ्गु भएकालाई पुनः डेङ्गु हुँदा सेरोटाइप–३ देखिने सम्भावना रहेको उनको भनाइ छ । उनका अनुसार तीन ठाउँमा गरिएका ३३४ वटा नमूना परीक्षणमा ८१ जनामा सेरोटाइप–३ देखिएको छ भने दुवै खालका स्वरूप (मिक्स) भने छजनाको नमूना परीक्षणमा देखिएको छ ।
सामान्यतया एकपटक डेङ्गु देखिएकालाई अर्कोपटक देखिंदा सेरोटाइप–२, सेरोटाइप–३ देखिने गर्दछ । “सरोटाइप–१ र सेरोटाइप–२ भइसकेका बिरामीले डेङ्गुसँग लड्ने क्षमता बनाइसकेका हुन्छन्,” उनले भने, “यही ती दुर्ई स्वरूपको सङ्क्रमण भइसकेका बिरामीलाई पुनः डेङ्गु भयो भने सेरोटाइप–३ हुन्छ ।”
राष्ट्रिय प्रयोगशाला टेकुमा २७२ परीक्षणमध्ये ५९, त्रिविको ल्याबमा गरिएका ५० नमूनामध्ये १७ र धरानमा १२ नमूना परीक्षणमध्ये पाँचजनामा सेरोटाइप–३ देखिएको छ । यस्तै, टेकुमा सेरोटाइप–१ प्रजाति १२६, सेरोटाइप–२ प्रजाति २९ र ५३ नमूना परीक्षणमा डेङ्गु देखिएको थिएन ।
यस्तै, त्रिविमा ५० जनामा गरिएको नमूना परीक्षणमा सेरोटाइप–१ स्वरूप २१ र सेरोटाइप–२ स्वरूप पाँचजना र छजनामा डेङ्गुको सङ्क्रमण देखिएको थिएन ।
यस्तै, धरानमा १२ जनामा गरिएको परीक्षणमा सातजनामा सेरोटाइप–१ देखिएको थियो ।
महाशाखाले यसअघि २०१९ मा गरेको नमूना परीक्षणमा सेरोटाइप–१ र सेरोटाइप–२ मात्र देखिएको उनले जानकारी दिए । डेङ्गु पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिका लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गु लाग्छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा विमल चालिसेले अघिल्लोपटक बिरामीमा देखिएको डेङ्गुको स्वरूप पछिल्लोपटक फेरि डेङ्गु देखिएकामा स्वरूप परिवर्तन गरी जटिल समस्या देखिने बताउँछन् । “पहिलोपटक सेरोटाइप–१ डेङ्गुको स्वरूप देखिएको छ भने अर्काेपटक सङ्क्रमण हुँदा सेरोटाइप–२ वा सेरोटाइप–३ देखिन्छ,” उनले भने, “यसरी पुनः डेङ्गु देखियो भने बिरामीलाई बढी जटिल बनाउने गर्दछ ।”
उच्च ज्वरो आउने र टाउको दुख्ने, बिरामीमा थकान महसूस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गा¥हो हुने, पेट र खुट्टा सुनिनेजस्ता लक्षण पहिले सङ्क्रमण भएकोभन्दा दोस्रोपटक डेङ्गु भएका बिरामीमा बढी देखिने गर्दछ ।
यस्तै, सामान्य प्रकारको डेङ्गुमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिंडौलाको मासु दुख्ने जस्ता लक्षण देखा पर्दछन् ।
नेपालमा पहिलोपटक सन २००४ मा एकजनामा डेङ्गु देखिएको थियो । सन् २००५ मा भने डेङ्गुका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेङ्गुको सङ्क्रमण देखिंदै आएको छ ।
सन् २०२२ मा ५४ हजार ६३० जनामा डेङ्गु देखिएको र डेङ्गुबाट ८८ जनाको ज्यान गइसकेको छ । महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा दाहालले डेङ्गु सङ्क्रमण पूर्णरूपमा नियन्त्रणमा नआइसकेकाले हप्तामा औसतमा सातदेखि आठजनामा देखिने गरेको बताउँछन् ।
सन् २००६ मा ३२, २०१० मा ९१७, २०१३ मा ६८६, २०१६ मा एक हजार ५२७, २०१७ मा दुर्ई हजार १११, २०१८ मा ८११ र सबैभन्दा बढी २०१९ मा १७ हजार ९९२ जना डेङ्गुका बिरामी देखिएका थिए ।
त्यसपछि कोरोना भाइरसका कारणले नेपालमा डेङ्गुको सङ्क्रमण कम देखिएको छ । सन् २०२० मा ५३० र सन् २०२१ मा ५४० जना डेङ्गुका बिरामी देखिएका थिए ।