आइतवार, माघ १ गते काठमाडौंबाट पोखराको लागि उडेको यती एयरलाइन्सको एउटा विमान ६८ जना यात्रु तथा चालकदलका साथ दुर्घटनाग्रस्त भयो । हवाई दुर्घटनामा बिरलै मानिस बाँच्दछन्, त्यो बिरला साइत यहाँ जुरेन । सबै कालको एक गाँस बने । देश स्तब्ध भयो । हुनत यस्ता हवाई दुर्घटनाहरू प्रायः सबै देशमा हुने गर्दछ । अति सम्पन्न मुलुकदेखि सामान्य मुलुकहरूमा हवाई दुर्घटना हुने गर्दछ । मानिस मर्छन् । दुर्घटनाका थुपै्र कारण हुन सक्छ । खासगरी हवाई दुर्घटना यान्त्रिक खराबी, मौसमको प्रतिकूलता, आकस्मिक आपदामा विमान चालकको असफल प्रत्युत्तपन्नमति र एयर कन्ट्रोल प्राविधिकको गलती आदिले दुर्घटना हुने गर्दछ । हवाईमार्गमा प्रायः दुई जहाज जुध्ने कल्पना गरिन्न, किनभने हवाईजहाजलाई उड्नको लागि एयर रूट त हुन्छ तर रेल वा सडकमार्गजस्तो सीमितता बेहोर्नुपर्दैन । तर पनि दुई जहाज ठोकिएर दुर्घटना हुनेजस्तो दुर्लभ क्ष्Fण पनि मानिसले देखेको छ । त्यसैले हवाई दुर्घटनालाई प्रायः भवितव्य मानिन्छ । हत्तपत्त यान्त्रिक वा मानवीय त्रुटि भेटिंदैन । तर कुनै खास विमान घरीघरी दुर्घटनाग्रस्त हुन्छ भने सम्पूर्ण विवरण प्राप्त नहुन्जेल त्यस्ता जहाज उडाउन रोक लगाइएको हुन्छ ।
नहुनु भयो । मानिसले घटना–दुर्घटना भएपछि त्यसको विस्तारित जाँच गरी कुन कारणले भयो, त्यसको निदान खोज्छ । नेपालमा यो पहिलो हवाई दुर्घटना होइन । यहाँ समय क्रममा देशी–विदेशी थुप्रै जहाज दुर्घटनाग्रस्त भएका छन् । सन् १९५५ मा सिमरामा पहिलो हवाई दुर्घटना भएदेखि योसहित नेपालमा अहिलेसम्म १०८ हवाई दुर्घटना भएको तथ्याङ्क छ । सन् १९२२ मा दुईवटा विदेशी एयरलाइन्स– पहिले थाई एयर र पछि पाकिस्तान एयरलाइन्सको विमान दुर्घटना भएको थियो जसमा क्रमशः ११३ र १५७ जनाको निधन भएको थियो । तर यती एयरलाइन्सको दुर्घटनाले देशवासी मात्र होइन, सरकारलाई पनि यति आहत पार्यो कि शोक दिवस मनाउन सार्वजनिक बिदा भयो । यस दुर्घटनामा मर्ने ६८ जना यात्रुहरूमध्ये ६ जना बालबालिकासहित ५३ जना नेपाली थिए । हाम्रो परम्परागत चाड माघे सङ्क्रान्तिको रमझम शुरू हुन पाएकै थिएन, देशवासीले यत्रो दुःख भोग्नुपर्यो । यसले पनि दुर्घटनाको संवेदशीलता बढायो ।
अन्य मुलुकमा कुनै पनि दुर्घटना हुन्छ भने सरकार र सम्बन्धित निकाय चनाखो हुन्छ । विस्तृत छानबीन हुन्छ, कहाँ त्रुटि भयो भन्ने निदान हुन्छ र सच्याउने प्रक्रिया लागू हुन्छ । हुनत नेपालमा पनि प्रत्येक हवाई दुर्घटनाको पछाडि रहेको कारण केलाउन छानबीन समिति गठन गरिन्छ, समितिले प्रतिवेदन पनि बुझाउँछ तर प्रतिवेदनको निष्कर्ष कार्यान्वयन गरिंदैन । जसले गर्दा यस्ता दुर्घटनाहरू दोहोरिने गर्छ । यसपटक पनि सरकारले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिन अँगाल्नुपर्ने सुझावसहित प्रतिवेदन तयार पार्न पाँच सदस्यीय छानबीन समिति गठन गरेको छ । तर यस प्रतिवेदनको हविगत पनि विगतका प्रतिवेदनझैं हुने कुरामा शङ्का भने छैन । किनकि नेपालमा रीति नै यस्तै छ । आजसम्म सरकारले कुनै काम किन भएन, किन गर्न सकिएन भनेर सोधखोज गरेको इतिहास दुर्लभ छ । राष्ट्रिय महत्वका भनेर घोषित आयोजनाहरू पूरा नभएको वर्षौं बित्दा त सोधीखोजी हुँदैन भने ‘केही मानिस मर्दैमा’ सरकारलाई तातोछारो लाग्ला भन्ने आस गर्नु व्यर्थ हो । त्यो पनि त्यस बेला, जब संसद् लगभग प्रतिपक्षविहीन छ ।