प्रस, निजगढ, १ माघ/

छ वर्षदेखि ३६ वर्षीय छोरा सुरेश आलेमगर बेपत्ता पारिएको भन्दै जीतपुरसिमरा उपमहानगरपालिका–१८ बडहर्वाका हस्तबहादुर आलेमगरले जिल्ला प्रहरी कार्यालय, कलैयामा लिखित उजूरी दिएको चार वर्ष बित्दा पनि प्रहरीले सुरेशको अत्तोपत्तो लगाउन सकेको छैन ।

६/७ वर्षअघिदेखि तपस्वी बमजनको तपस्यास्थल र आश्रममा बस्दै आएका सुरेश छ वर्षदेखि आफन्तको सम्पर्कमा समेत छैनन् ।

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि सोही वर्षको जेठ महीनामा घर गएका सुरेशलाई बमजनका नजीक रहेर काम गर्ने जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवाका जसबहादुर वाइवाले बिहानको खाना खाँदै गरेका सुरेशलाई मोटरसाइकलमा चढाएर बमजनको आश्रम सिन्धुपाल्चोक लगेको उनका बुबा हस्तबहादुर र आमा नन्द कुमारीले बताइन् ।

सुरेश घर आएको एक/दुई दिनपछि तारन्तार मोबाइलमा चाँडै आऊ भन्दै फोन आइरहने गरेको आमा नन्द कुमारीले बताइन् ।  सुरेशलाई आश्रममा मोलमङ्ग भनेर बोलाउने गर्थे । सुरेशका पिता हस्तबहादुरले वाइवा चाहिं काठमाडौं छ भन्ने सुन्दै आएको तर छोराको भने अहिलेसम्म अत्तोपत्तो नलागेको बताए ।

दुई दिदीबहिनीमा एकमात्र छोरा सुरेशले अङ्ग्रेजी विषयमा ठाकुर राम बहुमुखी क्याम्पस, वीरगंजबाट स्नातक गरेका थिए । छोराको अङ्ग्रेजी राम्रो थियो । तपस्यास्थलमा विभिन्न मुलुकका विदेशीहरू आउने जाने भएकाले  उनीहरूसँग कुरा गर्न सुरेशलाई लगिएको उनले बताए ।

तपस्वी कहाँ जति जानु गइहाल्यौं, अब हाम्रो बुढेसकालको सहारा भएर घरमा नै बस्न भन्दै आएको उनले बताए । भड्काएर हो कि भित्रभित्रै डरत्रास देखाएर हो, वाइवाले लगेको र त्यसपछि छोरासँग आजसम्म कुनै सम्पर्क नभएको बुबा हस्तबहादुरले बताए ।

उनले छोराको बारेमा पटक–पटक तपस्वी बमजनको आश्रम र बमजनसँग जोडिएका व्यक्तिहरूसँग भेटेर सोधपूछ गर्दा पनि कसैले यकीन कुरा नबताएपछि केही सीप नलागेर उनको खोजी गर्न प्रहरीमा गुहार गरेको बताए ।

उनले छोराबारेमा वाइवालाई भेटेर सोध्दा उनले ‘थाइल्यान्ड गएको छ, फेसबूकमा मैले हेरेको, छोरा मान्छे हो, आउँछ’ भनेर आश्वस्त पारेको बताए । शुरूको एक वर्षसम्म छोरा सुरेशको बाटो कुरेर बसेको थिएँ । तर पनि कुनै खबर आएन । त्यसपछि प्रहरीमा उजूरी दिएको उनले बताए । उजूरी दिएको एक/डेढ महीनापछि प्रहरीले एकपटक जसबहादुर वाइवालाई जिप्रका, कलैयामा बोलाएर केरकार गरेको बताउँदै आफूलाई ‘छोरा थाइल्यान्ड गएको’ भनी गरेको कुराबाट ठाडै इन्कार गरेको बताए ।

आफू बेलाबेलामा जिप्रका, कलैयामा बुझ्न गएपछि प्रहरीको दबाबमा वाइवाको पिलुवामा बस्ने छोरा, आफ्नो ज्वाइँसहित छिमेकी सञ्चारकर्मी पुष्पराज खतिवडा चैतको तेस्रो सातामा भारतको देहरादुन र आसपासका क्षेत्रमा गएर १०/११ दिन खोजेर फर्केको तर सुरेशको पत्तो नलागेको हस्तबहादुुरले बताए ।

देहरादुनकै भिक्षु र प्रहरीहरूको सहयोग लिएर प्रख्यात ठूला बौद्ध बिहार, गुम्बालगायतका स्थानमा खोजी कार्य गरेको, त्यहाँका भिक्षुको सामाजिक सञ्जालमा बेपत्ता सुरेशको फोटो र जानकारीबारे अपलोड गरेको र सुरेशको फोटो पोस्टर बनाइ भारतीय प्रहरीलाई खोजी गरिदिन आग्रहसमेत गरेर घर फर्केको सञ्चारकर्मी खतिवडाले बताए ।

बमजनकहाँ जाँदा सुरेश बाराको हलखोरिया तपस्यास्थल, सर्लाही र सिन्धुपाल्चोकसम्मको आश्रम र कार्यक्रममा पुगेको अभिभावकहरूलाई खबर छ । त्यस बेला रातो वस्त्रमा हिंड्ने सुरेश धेरैजसो बमजनसँगै हुने गरेको बुझिएको छ । बमजनसँगै छोरालाई देख्न पाएपछि त्यस बेला खुशी भएपनि अहिले उनै छोरा घरपरिवारसँग सम्पर्कविहीन भएपछि सुरेशका अभिभावक र आफन्तहरू निराश अनि दुःखी छन् ।

तपस्वीसँग नलाग्दा सुरेशले ट्याक्टर किनेका थिए । सुरेश आफैंले चलाएर दुई/चार पैसा पनि कमाउथ्यो ।

सुरेश नभएपछि चालक खोजेर ट्याक्टर चलाउनुपरिरहेको उनका बुबाले बताए ।

तपस्वी बमजनको आश्रममा लगिएका सुरेश बेपत्ता पारिएको उजूरी जिल्ला प्रहरी कार्यालय, कलैयामा करीब तीन वर्षअघि दर्ता भएपछि पटक–पटक खोजी गर्दा पनि हालसम्म फेला नपरेको जिप्रका, बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए ।

हामी उनको खोजीमा प्रयासरत छौं । तर अहिलेसम्म सफलता पाउन सकेका छैनौं । यस्ता प्रकृतिका कतिपय घटनाहरूमा मानिसहरू सकुशल पनि घर फर्केका छन्, प्रनाउ थापा भन्छन् ।

बमजनमाथि यसअघि नुुवाकोटकी कर्मा तामाङ, हेटौंडाकी फूलमाया रूम्बा, हेटौंडाका सञ्चलाल वाइवा र सर्लाहीकी रीता भनिने युवतीलाई बेपत्ता बनाएको आरोप लागेको छ ।

बमजनमाथि रौतहट घर भई उनको आश्रममा लामो समयदेखि बस्दै आएकी १८ वर्षीया किशोरीलाई बालयौन दुव्र्यवहार गरेको भन्दै सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता छ ।

आरोपित रामबहादुर बमजन भन्ने रामलाल बमजनलाई पक्राउ पुर्जी तपस्वी भनिएका उनै बमजनको निजगढ नगरपालिका–१२ बुङ्गजोरस्थित घरमा प्रहरीले २०७७/७/२४ गते टाँस गरेको थियो ।

यता आफ्ना भाइमाथि लगाइएका आरोपहरू झूटा र निराधार भएको बमजनका दाजु दिलबहादुर बताउँछन् । उनका भाई बमजनमाथि अदालतले जारी गरेको वारेन्ट पुर्जी प्रहरीले घर, वडा कार्यालयमा टाँस गरेको दुई वर्ष भएपनि अहिलेसम्म बमजन भने फेला परेका छैनन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोसहित जिल्लास्थित प्रहरीले सिन्धुलीस्थित पहिरे डाँडामा रहेको बमजनको आश्रममा पटक–पटक छापा मारे पनि उनी भाग्न सफल हुँदै आएका छन् । बमजन अहिले नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ फरार सूचीमा छन् । धार्मिक र राजनीतिक दबाबका कारण तपस्वीको खोजीमा प्रहरी केही समययता निष्क्रिय रहेको आरोप पनि छ ।

बाराको रतनपुरी र हलखोरियामा गरी २०० हेक्टरभन्दा बढी राष्ट्रिय वन क्षेत्रमा कब्जा जमाउँदै आएका बमजनको शिविर प्रहरी, प्रशासनले बलपूर्वक हटाएको छ । पर्सा राष्ट्रिय निुकञ्जको कोर एरिया हलखोरिया वनक्षेत्रमा दोस्रो तपस्यास्थलमा बमजनका अनुयायीहरूको चहलपहल अहिले पनि छ र निकुञ्ज प्रशासन यसमा भने मौन देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here