प्रस, वीरगंज, १ माघ/

स्व गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार महेश दासलाई प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाको सभाहलमा आइतवार आयोजित कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले २५ हजार राशिको पुरस्कार पत्रकार दासलाई प्रदान गरे ।

सो अवसरमा नगरप्रमुख सिंहले पत्रकारिताको विकासका लागि महानगर सदैव प्रयत्नशील रहने बताए । उनले पत्रकारिताको समग्र विकासका लागि आफूले पत्रकारको संयोजकत्वमा समिति निर्माण गरेको र सबैले त्यसबाट सहयोग पाउने बताए । उनले वीरगंजको पत्रकारिता शुरूदेखि आलोचित भएको चर्चा गर्दै यसको प्रगतिको लागि महानगरले कार्य गर्ने बताए ।

पत्रकारितामा रहेको विकृति, विसङ्गतिलाई महासङ्घले हटाउने प्रयास गर्नुपर्ने र यसका लागि महानगरले सहकार्य गर्ने बताए ।

उनले स्व गिरी पत्रकारिताका साथै समाजसेवी र राजनीतिज्ञ पनि भएकाले उनको कदमलाई अनुसरण गरेर अगाडि बढ्न पत्रकारहरूलाई सुझाए ।

नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहानले स्व गिरीको हत्या भएपछि आफूले एउटा कुशल अभिभावक गुमाएको र पर्सेली पत्रकारिता क्षेत्रमा पनि ठूलो क्षति पुगेको बताए ।

पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले स्व गिरी पर्साको पत्रकारिता क्षेत्रका लागि उदाहरणीय व्यक्तित्व भएको र उनको स्मरणमा शाखाले पुरस्कार व्यवस्था गरी निरन्तरता प्रदान गर्दै आएकोमा प्रशंसा गरे ।

स्व गिरीका ज्येष्ठ छोरा गिरीश गिरीले पिताजीको स्मरणमा शाखाले दुई दशकदेखि पुरस्कार प्रदान गर्दै आएकोमा आभार व्यक्त गरे ।

उनले पिताजीको नाममा स्थापित पुरस्कारले दुई दशकसम्म निरन्तरता पाएकोमा खुशी व्यक्त गर्दै लामो समयसम्म पुरस्कार जीवन्त रहनु उदाहरणीय कार्य भएको बताए ।

उनले यसअघि पुरस्कारमा आफ्नो परिवारले रु १० हजार सहयोग गर्दै आएकोमा आगामी वर्षदेखि रु २५ हजार राशिको पुरस्कारलाई रु ५० हजार बनाउन पारिवारिक सहयोग हुने बताए ।

पुरस्कृत व्यक्तित्व पत्रकार दासले आफू विभिन्न पुरस्कारबाट पुरस्कृत भएको तर आफ्नो जिल्लाबाट स्व गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुन पाउँदा अत्यन्तै गौरवान्वित महसूस गरेको बताए ।

नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा बारा शाखाका पूर्वअध्यक्ष कमल अधिकारी, पत्रकार राघव साहले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम शाखा उपाध्यक्ष युवराज खड्काले सञ्चालन गरेका थिए भने सहसचिव जीतेन्द्र साहले स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here