प्रस, वीरगंज, १ माघ/
थारू संवत् २६४७ को अवसरमा वीरगंजमा गरिएको थारू महोत्सवमा विभिन्न सांस्कृतिक, नृत्य, कला, संस्कृति झल्कने घाटो नाच, सामा–चकेवा, झम्टा, थारू पूर्वी नाच, थारू कलाकारहरूले प्रस्तुत गरेका थिए ।
थारू महोत्सवमा यसपटक थारूसँगै मारवाडी, नेवारी, मैथिली र स्थानीय परिकारहरूको स्टलहरू राखिएका थिए । महोत्सवको उद्घाटन समाजसेवी लक्ष्मी चौधरीले गरेका थिए ।
कार्यक्रममा प्राडा दीपक शाक्य, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोध गुप्ता, उपाध्यक्ष हरि गौतमलगायतको सहभागिता रहेको संयोजक रामसुन्दर चौधरीले बताए ।
ओमप्रकाश चौधरी, सेढवा/
पर्सा जिल्लाका पाँचवटा पालिकामा आइतवार माघी महोत्सव धूमधामका साथ मनाइएको छ ।
वीरगंज महानगर–१० आदर्शनगरस्थित पुरानो बसपार्क, पर्सागढी नगरपालिकाको बडनिहार, सखुवाप्रसौनी गापाको पंचगावाँ, पटेर्वासुगौली गापा–४ सुगौली र जीराभवानी गापा–५ सखुवनिया बजारमा माघी महोत्सव मनाइएको छ ।
वीरगंजमा माघी मूल समारोह समितिको आयोजनामा पुरानो बसपार्कमा धूमधामका साथ माघी महोत्सव मनाइयो । घण्टाघरबाट थारू समुदायले विभिन्न झाँकीसहितको ¥याली निकालेर नगरपरिक्रमा गरेको थियो । कार्यक्रमस्थल पुरानो बसपार्कमा माछा, घोङ्गी, परेवाको मासु, केकडा (गङ्गटो) लगायत खानाका परिकारहरूको स्टल लगाइएको थियो । कार्यक्रममा सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिएको थियो । वीरगंजको आदर्शनगर रङ्गशालामा मनाइँदै आएको माघी महोत्सव यस वर्ष भने पुरानो बसपार्कमा मनाइएको हो । माघी महोत्सव हेर्न विभिन्न समुदायका मानिसहरूको ठूलो सङ्ख्यामा भीड थियो ।
थारू संस्कृति तथा उत्थान मञ्च, शङ्करसरैयाको आयोजना तथा जीराभवानी गापाको सहयोगमा सखुवनियामा माघी महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
वडाध्यक्ष दारासिंह राउत थारूको अध्यक्षतामा भएको महोत्सवका प्रमुख अतिथि प्रदेशसभा सदस्य शङ्कर चौधरीले उद्घाटन गरेका थिए । महोत्सवमा थारू जातिका परम्परागत पहिरन, पौराणिककालदेखि प्रयोग गर्दै आएका विभिन्न सामग्रीहरूको प्रदर्शन गरिएको थियो । यसका साथै कार्यक्रममा थारू संस्कृति अन्तर्गत लोप हँुदै गएका झम्टा, घाटोलगायतका गीत प्रस्तुत गरिएको थियो । महोत्सवमा माछा, घोङ्गी, परेवाको मासु, केकडा (गङ्गटा)लगायत खानाका परिकारहरूको स्टल थियो ।
कार्यक्रममा गापाध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, वडाध्यक्ष रामसरण खवास, महादेव महतो, सुरजराय थारू, राजेश्वरदास थारूलगायतको सहभागिता थियो । कार्यक्रममा राष्ट्रिय थारू गायक खेम चौधरी, अञ्जु कुस्मी, अस्मिता चौधरीले गीत, नृत्य प्रस्तुत गरेका थिए ।
यसैगरी, पटेर्वासुगौली गापामा दोस्रो माघी खिंचडी महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गापाको सहयोग तथा माघी मूल समारोहको आयोजनामा भएको कार्यक्रम गापाध्यक्ष दिनेशकुमार चौधरीको अध्यक्षतामा भएको थियो । महोत्सवको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरीले गरेका थिए । कार्यक्रममा थारू जातिले प्रयोग गर्दै आएका हलो, माछा मार्ने जाल, खोकी, डेली, बेवा तथा डोकनी (काठको भाँडा) प्रदर्शनीमा राखिएका थिए । महोत्सवमा उपाध्यक्ष ममता महतो, परमेश्वर महतो, मुकेश गौरोले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यसैगरी, कलाकार वीर चौधरी, समु चौधरी, बिरू चौधरी, मुस्कान चौधरी र नेपाली निरहुवाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
बलिराम शुक्ला, बडनिहार/
पर्सागढी नगरपालिकाको बडनिहारमा आइतवार तेस्रो पर्सागढी माघी खिंचडी महोत्सव सम्पन्न भएको छ ।
थारू कल्याणकारिणी सभा नगर मूल समारोह समिति, पर्सागढीको आयोजना तथा पर्सागढी नगरपालिका कार्यालयको सहयोगमा आदिवासी थारूहरूको महान् पर्व तथा नयाँ वर्ष थारू संवत् २६४७ को अवसरमा महोत्सव सम्पन्न भएको हो ।
पर्सागढी नगर मूल समारोह समितिका अध्यक्ष जङ्गबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको वयोवृद्ध समाजसेवी ब्रह्मदेव महतोले उद्घाटन गरेका थिए ।
महोत्सवमा प्रदेशसभा सदस्य श्याम पटेलले सबै जातजातिको धर्म, रीतिरिवाज, संस्कृतिको संरक्षण गरिनुपर्ने बताए । महोत्सवमा नगरप्रमुख गोकर्ण पाठक, उपप्रमुख पूजा चौधरी, पूर्वनगरप्रमुख लोकनारायण यादव, पूर्वउपप्रमुख अर्चना चौधरी, थारू नेता भागवत चौधरी, राजेश्वर चौधरी, मनोज चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा थारू भेषभूषा, झाँकी, नाँच, झमटालगायत थारू राष्ट्रिय कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्वागत कमल चौधरी र सहजीकरण योगेन्द्र चौधरीले गरेका थिए ।