• डा शिवशङ्कर यादव

ब्रेन र स्नायुतन्त्रको विवेचना हुनेछ, जुन लामो छ । हाम्रो सभ्यतामा त मस्तिष्क र उसको घर टाउकोलाई ब्रह्माण्ड नै भनिन्छ । मैले आफ्नो लेखमा ब्रेन भनेर नै उल्लेख गर्नेछु किनभने युरोपमा नै यसको वृहद् अध्ययन भएको छ । ब्रेन भने लैटिन ब्रेजेन शब्दबाट ब्रेन भएको हो । फासिलको अध्ययनमा ५२१ मिलियन वर्ष पहिले समुद्री जीवमा ब्रेनको प्रमाण पाइएको छ तर आधुनिक ब्रेनको इतिहास ४० हजार वर्षभन्दा बढी भएको छैन । १७० बिसीमा रोमन गेलेनद्वारा ब्रेनको भेन्ट्रिकल भन्ने खाली ठाउँको विवरण पाइएको छ । तर आधुनिक स्नायु विज्ञानको पिता फ्रेन्च सान्टियाग रैमन वाई, कैजेललाई मानिन्छ, जसले सन् १८८८ मा यो कुरा साबित गरे कि न्युरोन आफैंमा एक पूर्ण कोष हो र यसको संवेदना कन्टिग्युटीले हुन्छ, न कि कन्टिन्युइटीले । यसको मतलब यो हुन्छ कि न्युरोनको एक्सन एकअर्कासँग जोडिएको होइन अलग हुन्छ र संवेदना कुदेर एकबाट अर्कोमा जान्छ, न कि कुनै बिजुलीको तारमा लगातार विद्युत् प्रवाहित भएजस्तो । यस खोजको लागि कैजलले सन् १९०६ को नोबेल पुरस्कार पनि पाए । त्यसपछि त पचासौं स्नायु वैज्ञानिकले नीत नयाँ उद्घाटन गर्दै गइरहेका छन्, जसमा क्याम्ब्रिजका ट्रेभर डब्ल्यु रोबिन मशहुर हुन् । कैजलको स्थान १९औं शताब्दीका मशहुर बायोलोजिस्ट डार्बिन र लुइस पाश्चरसँग मात्र होइन, बरु सर्वकालिक वैज्ञानिक कोपर्निकस, गैलिलियो गैलिली र न्यूटनको साथमा राखिएको छ ।

भन्नु परोइन कि ब्रेन खोपडी भन्ने मजबूत किल्लामा निवास गर्छ । लैटिनमा कार्टेक्सको मतलब हुन्छ बोक्रा । बोक्राको मतलब हुन्छ कुनै अङ्गमा सबभन्दा बाहिर रहने कुरा । अतः ब्रेनको पनि सबैभन्दा बाहिर रहेकोलाई कार्टेक्स भनिन्छ । फरक के छ भने अन्यमा बोक्रा महत्वहीन हुन्छ तर ब्रेनको कार्टेक्स नै सबैभन्दा महत्वपूर्ण मात्र होइन, बरु ब्रेनका सारा रहस्य यसै कार्टेक्समा बसेको हुन्छ । बे्रनलाई ब्रह्माण्ड नै भनिन्छ । जसरी ब्रह्माण्डको रहस्य सम्पूर्णतामा प्राप्त गर्न सकिएको छैन । त्यस्तै, ब्रेनको रहस्य पनि सम्पूर्णतामा पत्ता लगाउन सकिएको छैन । त्यस कारण स्नायुतन्त्रबारे विद्यार्थीलाई सबैभन्दा पहिले यो बताइन्छ ः नर्भस सिस्टम इज ए माउन्टेन एन्ड वी आर स्टील अन द बटम । चन्द्रमा, मङ्गल र सूर्य पत्ता लगाएर नै मान्छेले के के न पत्ता लगाएँ भन्ने दम्भ गर्छ । सूर्यले हाइड्रोजनको फ्युजनले अनन्त ऊर्जा पैदा गर्छ भने कुरा भर्खर प्रयोगशालामा प्रयोग गर्न थालिएर सफलता भने पाइएको छ । त्यस्तै, ब्रेनको अलिकति पत्ता लगाए पनि के के न पत्ता लगाएको जस्तो मानिसले गर्छ । सानो वर्ममा केही सयकडा नै न्युरोन हुन्छ । त्यति मात्रको रहस्य मानिसले पत्ता लगाउन सकेको छैन भने १०० विलियन न्युरोन भएको मानिसको ब्रेनको सम्पूर्णता पत्ता लगाउन त्यस्तै असम्भव छ, जसरी निहारिका पत्ता लागे पनि त्यसमा पुग्न असम्भव छ । सूर्यबाट किरण आउन दश मिनेट लाग्छ । कोही प्रकाशको गतिले हिंडे पनि लाखौं, करोडौं र अर्बौं प्रकाश वर्ष टाढाको आकाशगङ्गा र निहारिकामा पुग्ने प्रयास स्वप्न सिवाय केही होइन । तर जे जति सम्भव भएपनि ब्रेनबारे मानिसको खोज अद्भुत र अवर्णनीय छ ।

स्नायु दुई प्रकारका हुन्छन् ः सेन्ट्रल र पेरिफेरल । सेन्ट्रलमा ब्रेन, मेड्युला अब्लाङ्गाटा र स्पाइनल कर्ड आउँछ । सेन्ट्रलमा न्युरोन र न्युरोग्लिया भने दुई तह सेलहरूका हुन्छन् । पहिलोलाई ग्रे र दोस्रोलाई ह्वाइट मैटर भनिन्छ । किन ग्रे र ह्वाइट मैटर भनियो यसको पनि कारण जान्नु आवश्यक छ । नर्भस सिस्टम अरू केही होइन, बरु हामीले हेर्ने बिजुलीको तार र बल्ब हो । कुनै बल्बमा भएको तारलाई फिलामेन्ट भनिन्छ, जुन नाङ्गो हुन्छ । त्यस्तै, ग्रे मैटरमा केवल सेल वा बल्ब हुन्छ र त्यसको एक्सन भने तार नाङ्गो हुन्छ । सेलका सबै न्युक्लियस मात्र देखिन्छ, जुन ग्रे रङ्गको देखिन्छ र यस कारण त्यो ग्रे मैटर भयो । ग्रे मैटरलाई छिचोलेर जानुहुन्छ भने सेतो रङ्गको ब्रेन ह्वाइट मैटर भेटिन्छ । बल्बमा तार नाङ्गो भएपनि बल्बको बाहिर तार नाङ्गो हुँदैन, बरु रबरको एक कभरिङ हुन्छ । त्यहाँ रबरको जुन रङ्ग छ, तार त्यही रङ्गको देखिन्छ । त्यस्तै, ह्वाइट मैटरमा नर्भ सेल होइन, बरु त्यसबाट निस्कने केवल तार अथवा फाइबर मात्र हुन्छ, जुन माइलिन भन्ने जसलाई बोसो स्तरले ढाकिएको हुन्छ । त्यस स्तरको रङ्ग सेतो हुन्छ र त्यही देखिन्छ । त्यस कारण त्यसलाई ह्वाइट मैटर भनिन्छ ।

ब्रेनका तीन भाग हुन्छन् ः १. प्रोसेन्सिफैलोन २. मिजेन्सिफैलोन र ३. रोम्वेन्सिफैलोन । प्रोसेन्सिफैलोनलाई फोरब्रेन पनि भनिन्छ । यसको पनि दुई भाग हुन्छ ः टेलेन्सिफैलोन र डायन्सिफैलोन । टेलेन्सिफैलोनमा दुईटा सिरेब्रल हेमिस्फियर हुन्छ र यसैमा नियोकार्टेक्स हुन्छ । डायन्सिफैलोनमा थैलमस, हाइपोथैलमस, मेटाथैलमस र सबथैलमस आउँछन् । २. मिजेन्सिफैलोनलाई मिडब्रेन पनि भनिन्छ । ३. रोम्वेन्सिफैलोनलाई हाइन्डब्रेन पनि भनिन्छ । यसका पनि दुई उपभाग हुन्छन् ः मेटेन्सिफैलोन जसमा पोन्स र सेरिवेलम भन्ने रचना आउँछ । माइलेन्सिफैलोन जसमा मेड्युला अब्लाङ्गाटा र स्पाइनल कर्ड आउँछ ।

पेरिफेरल स्नायुतन्त्र ः न्युरोन उनको तार वा फाइबर मिली शरीरका प्रत्येक क्षेत्रमा जुन स्नायु फैलिएको हुन्छ, त्यसलाई पेरिफेरल स्नायु भनिन्छ । यो दुई प्रकारको हुन्छ ः १. क्रेनियल जो सीधैं ब्रेनबाट निस्केर क्रेनियमका विभिन्न छिद्र वा फोरामेनबाट बाहिर आउँछ । यसको सङ्ख्या १२ हुन्छ यथा ः प्रथम, द्वितीय, तृतीय, चतुर्थ, पञ्चम, छैटौं, सातौं, आठौं, नवौं, १०औं, ११औं र १२औं । यिनको वर्णन पछि विस्तारमा गरिनेछ । २. स्पाइनल कर्डबाट निस्कनेलाई स्पाइनल नर्भ भनिन्छ, जसको ५ सिग्मेन्ट हुन्छ ः सर्भाइकल सिग्मेन्ट जुन सातवटा हुन्छन्, थोरेसिक सिग्मेन्ट जुन १२ वटा हुन्छन्, लम्बर सिग्मेन्ट जो पाँचवटा हुन्छन्, सैक्रल सिग्मेन्ट जुन पाँचवटा हुन्छन् र कोस्जियल सिग्मेन्ट जुन चारवटा हुन्छन् ।

यी दुई पेरिफेरल स्नायुका पनि दुई उपभाग हुन्छन् ः सोमेटिक वा भोल्युन्टरी मतलब मानिसले चाहेको अनुसार चल्ने, अटोमेटिक वा इन्भोलिन्टरी जो हाम्रो इच्छा अनुसार नचलेर स्वचालित हुन्छ र मुटुको स्पन्दन, श्वासप्रश्वास र आन्द्रा आदिको गतिमा पाइन्छ । यस अटोमेटिकको पनि अझ दुई उपभाग हुन्छन् ः सिम्पैथेटिक र पारासिम्पैथेटिक जसको विस्तारमा वर्णन पछि गरिनेछ । अतः ब्रेनको भागमा ः सिरव्रम, मिडब्रेन, पोन्स, सेरिवेलम र मेड्युला अब्लाङ्गाटा र स्पाइनलमा सर्भाइकल, थोरेसिक, लम्बर, सैक्रल र कोक्सिजियल सिग्मेन्ट हुन् ।

उपरोक्त तालिकामा सर्वप्रथम सिरेव्रमकै नम्बर आउँछ । आज त्यसको मात्र विवेचना गरौं । जति विवेचना कार्टेक्स र नियोकार्टेक्सको रूपमा माथि गरिएको छ, त्यो सिरेव्रमको नै विवेचना हो । तर अझ केही थपौं मात्र । यसलाई सिरेव्रल हेमिस्फियर वा सिरेव्रल कार्टेक्स पनि भनिन्छ । हेमिस्फियर किनभने यसको बायाँ र दायाँ दुईटा लोव हुन्छन् । बFयाँ भने शरीरको दाहिने भागलाई र दायाँले भने शरीरको बFयाँ भागलाई नियन्त्रण गर्छ । दुवै एउटा ग्रुभद्वारा दुई भागमा हुन्छन्, जसलाई फाक्ससिरेव्राई भनिन्छ तर दुवै लोव भने तल गएर कर्पसकैलोसम भन्ने रचनाले आपसमा जोडिन्छन् । यी दुवै हेमिस्फियरमा नै नियोकार्टेक्स हुन्छ र यसैलाई सिरेव्रल कार्टेक्स पनि भनिन्छ । यसमा गाइराई र सल्काई भनेर धेरै संरचना हुन्छन् । उठेको भागलाई गाइराई र ग्रुभ जस्तो देखिने भागलाई सल्काई भनिन्छ । सल्कस भने दुईटा गाइरसलाई छुट्याउने भाग हो र यस्तो कार्टेक्समा वितरीत सेन्टरलाई फरक गरी कार्टेक्सको क्षेत्रफल बढाउनको लागि हो, जुन करीब २५०० वर्ग सेमी हुन्छ । कार्टेक्स र नियोकार्टेक्स किन भनियो ? जबकि दुवै एउटै कुरा हो । यो एउटैको इभोल्युसनरी नाम हो । कार्टेक्स त सबै जीवमा पनि पाइन्छ । त्यही कार्टेक्स भर्टिब्रेट र मैमेलियन जनावरमा अझ विकसित हुन थाल्यो र जहाँबाट यो नयाँ रूपले विकसित हुन थाल्यो, त्यहाँबाट यहाँसम्मलाई नियोकार्टेक्स भनिन्छ । यसरी कार्टेक्सको सघनता बढ्न थाल्यो र मान्छेमा त यसको पराकाष्ठा नै देखियो । पुरानो विकासमा यही वृहद् र नयाँ जोडिएकोले यसलाई नियोकार्टेक्स भनियो । यसमा पुरुषमा २३ विलियन र महिलामा १९ विलियन न्युरोन हुन्छन् । यसका पाँच भाग हुन्छन् ः फोरब्रेन, मिडब्रेन, टेम्पोरल, पेराइटल र आक्सिपिटल ।

सबैभन्दा ठूलो ह्वेलको बे्रेन २० पाउन्ड अथवा नौ किलोको भएपनि मानिसको सानो ब्रेनको मुकाबिला गर्न सक्दैन । किनभने ब्रेनको आकार र तौलमा ब्रेनको क्षमता होइन बरु त्यसको सघनतामा निर्भर गर्छ । ह्वेल वा हात्तीमा ठूलो भएपनि सजावट साधारण हुन्छ, जबकि मानव कार्टेक्सको सजावट जटिल हुन्छ । यही जटिलता र सघनताले मानिस सबैभन्दा बढी बुद्धिमान् प्राणी भएको छ । हामी सबैले सुन्दै आएका छौं कि हाम्रो शरीरभित्र नै प्राण, मन र आत्माको निवास छ । त्यो शरीरमा जति खोजे पनि कहीं पाइँदैन । चेतन र अचेतन भने मस्तिष्क अवश्य हुन्छ । जागृत अवस्थामा काम गर्ने मस्तिष्कलाई चेतन भनियो । यसैलाई दार्शनिकहरूले चेतन मन पनि भन्छन् । मतलब यो कि मन भने मस्तिष्कमा नै छ । धेरै काम हामीले भन्छौं कि अवचेतन मनमा सञ्चित कुराको प्रेरणाले नै गर्छौं । त्यसलाई अवचेतन मस्तिष्क वा मन भनियो । तर यो कहाँ छ भन्ने ज्ञान प्राप्त भइसकेको छैन । भनिन्छ कि हामी ८० प्रतिशत अवचेतन मनले प्रभावित हुन्छौं र २० प्रतिशत मात्र चेतन मनले काम गर्छ । यस २० प्रतिशतलाई जाग्रत मस्तिष्क र ८० प्रतिशतलाई सुषुप्त मस्तिष्क मान्न सकिन्छ । मतलब सुषुप्त मस्तिष्कले नै बढी काम गरेको प्रस्ट भयो । यदि त्यो अवचेतन र सुषुप्त हो भने फेरि काम कसरी गर्छ ? यही जटिलता मानिसले बुझ्न सकेको छैन । मनोवैज्ञानिक र परामनोवैज्ञानिक यसलाई बुझ्नमा लागेका छन् । ठूलाभन्दा ठूला वैज्ञानिकका पनि कार्टेक्स सम्पूर्ण सक्रिय पाइएको छैन । पूर्ण सक्रिय भयो भने के होला ? ब्रह्माण्ड जस्तै कठिन छ कार्टेक्स बुझ्नु । त्यसैले त मानव मस्तिष्क प्रत्येक मानिसमा फरक–फरक हुन्छ, जसरी फिंगरप्रिन्ट । यो कुनै कम्प्युटर जस्तो एकनास हुँदैन । अमेरिकामा चलाए पनि उही, नेपालमा चलाए पनि उही । जाडोमा उही, गर्मीमा पनि उही । मानव मस्तिष्कमा शीत उष्मा, पौष्टिक अपौष्टिक खाना आदि सबैले प्रभाव पार्छ । आत्मा त झन् कहाँ छ होला ? छ भने अवश्य कहीं ब्रेनमा नै छ होला किनभने सम्पूर्ण शरीरलाई उधिनी सकियो । ब्रेनलाई मात्र उधिन्न सकिएको छैन र उधिन्न सकिने पनि छैन । संसारका ठूलाभन्दा ठूला वैज्ञानिकका पनि आधाभन्दा बढी कार्टेक्स सक्रिय भएको पाइएको छैन । यस्तो किन ? भन्ने प्रश्न अनुत्तरित नै छ । कहिलेकाहीं अचानक कुनै भाग सक्रिय भएको देखिन्छ । उदाहरणको लागि पक्षघात भएको मानिस कहिले पनि ठीक हँुदैन । तर कुनै दुर्घटनामा त्यो अचानक ठीक पनि भएको पाइएको छ । जब सेन्ट्रल नर्भले ड्यामेज भएपछि दोहो¥याएर काम गर्न सक्दैन भने कसरी यो हुन पुग्छ ? यसको उत्तर यही हुन सक्छ कि निष्क्रिय रहेको सेल अचानक सक्रिय हुन थाल्छ । अन्धोमा आँखाको शक्ति छालाको सेन्टरमा ट्रान्सफर हुन्छ । उसले छामेर नै सबै कुरा थाहा पाउँछ । रामको राजसुय यज्ञमा एक अन्धो मानिसले नै सीताको प्रतिमा बनाएका थिए । यो स्पर्शभन्दा पनि माथिको कुरा भयो । त्यसमा यस्तै कुनै निष्क्रिय न्युरोन सक्रिय भएको हुनुपर्छ । अमेरिकामा हेड इन्ज्युरी भएका एक मानिसले एक रोगीको सटीक औषधि लेखिदियो जबकि ऊ चिकित्सक थिएन । यी सब निष्क्रिय न्युरोन अचानक सक्रिय भएका उदाहरण हुन् । धेरै रहस्यमयी छ नियोकार्टेक्स । कुनै पनि कम्प्युटरमा यस्तो हुने कल्पना पनि गर्न सकिंदैन । मानव मस्तिष्क सुप्रिम कम्प्युटर हो । बुझ्न नसकिने रहस्य ।

कार्टेक्समा ग्रे मैटर छ तहमा तलमाथि गरी सजाइएका हुन्छन्, जसको कारणले कार्टेक्सलाई सिक्सलेयर्ड कार्टेक्स पनि भनिन्छ । ती लेयर क्रमशः मोलेकुलर प्लेक्सिफर्म लेयर, एक्सटरनल ग्रेन्युलर लेयर, इन्टरनल पिरामिडल लेयर, इन्टरनल ग्रेन्युलर लेयर, इन्टरनल पिरामिडल लेयर र मल्टिफर्म वा फ्युजिफर्म लेयर ।

मस्तिष्कको काम भने हामीले जे हेर्छौं, सुन्छौं र विचार गर्छौं ती सबैको अर्थात् भिजन, हियरिङ, सुखदुःख, हर्ष–विस्माद, शीत–उष्मा आदिका साथै विचार, भाषा, बोल्नु, लेख्नु आदि सबै हाइलेबल संवेदनालाई कम्प्युटिङ गर्नु, प्रोसेसिङ गर्नु र त्यस बमोजिम सबै अङ्गलाई आदेश प्रवाहित गर्ने सबै काम नियोकार्टेक्सको नै हो । अहिले मानिस ब्रेनरूपी हिमालयको तलहटीमा नै छ, मेरो विवेचना कति सार्थक हुन्छ सोचनीय छ ।

मस्तिष्कको सुरक्षाका लागि तीन आवरणले ढाकिएको हुन्छ, जुन बाहिरबाट क्रमशः ड्युरामेर, अरेकन्वायडमेटर र पायामेटर हो । सबैभन्दा भित्री आवरण पायामेटरले ब्रेनलाई छोएको हुन्छ । सबअरेकन्वायड र पायामेटरबीचको ठाउँमा सिएसएफ भन्ने एउटा द्रव भरिएको हुन्छ । एक प्रकारले ब्रेन यही सिएसएफमा पौडी खेलिरहेको हुन्छ र कुनै चोटपटकको बेला सक अब्जर्बरको काम गरेर ब्रेनलाई बचाउँछ । अस्तु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here