प्रस, वीरगंज, २९ पुस/
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजले ११ हजार भोल्टको तार–पोल गैरकानूनी तरीकाले सारेको छ । वीरगंज–११ श्रीपुरमा शुरूदेखि रहेको ११ हजार भोल्टको तारलाई सोर्स–सिफारिश र आर्थिक लाभबाट प्रभावित भई पोल सारिएको स्थानीयले आरोप लगाएका छन् ।
वीरगंज–१३ राधेमाईस्थित वडा प्रहरी कार्यालय, श्रीपुरको दक्षिणबाट गएको ११ हजार भोल्टको तार सडकपारि वीरगंज–११ श्रीपुर भएर गएको थियो । वर्षौंदेखिको ११ हजार भोल्टको तार सो क्षेत्रबाट गएको तर अहिले आएर स्थान परिवर्तन गरिएको छ ।
एकजना व्यक्तिको १८ कट्ठा जग्गामाथिबाट ११ हजार भोल्टको तार गएको र सो तारलाई स्थानान्तरण गर्दा आर्थिक लाभ लिएको विद्युत् प्राधिकरणमा अहिले चर्चाको विषय छ । प्राधिकरणका एकजना कर्मचारीले यो समस्या वीरगंजको पावरहाउस–श्रीपुर, रानीघाट हुँदै आदर्शनगरसम्म रहेको यसैगरी प्रतिमाचोकदेखि खानेपानी संस्थानसम्म, छपकैया, घुसुकपुर क्ष्Fेत्र र नगवा, भेडियाही क्षेत्रमा छ ।
यी सबै ठाउँमा रहेका ११ हजार भोल्टका तार पूर्ववत् स्थानमा छन् र स्थानीयले समस्या झेल्दै आएका छन् । नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख जीतेन्द्र झाले सरुवा हुनुअघि पुस १४ गते फाइल सदर गरेकाले पनि यो घटनामा ठूलो आर्थिक चलखेल भएको प्राधिकरणका कर्मचारीहरू बताउँछन् ।
प्रमुख झाले सरुवा हुनु एक दिनअगावै यो फाइल सदर गरेर रवाना लिएर गएका र त्यसपछि सो ठाउँमा रहेको ११ हजार भोल्टको तार सारिएको हो । शुरूमा ११ हजार भोल्टको तार जग्गाको बीच भागमा थियो भने अहिले उत्तरतर्फ किनारबाट लगिएको छ । यसो गर्दा सो जमीन ११ हजार भोल्ट तारमुक्त भएको छ । एकजना पीडितले आफ्नो खर्चमा नगवा, भेडियाहीमा रहेको ११ हजार भोल्ट तार सार्नको लागि प्रादेशिक कार्यालय, जनकपुरमा निवेदन दिएको लामो समय भएपनि सो कार्य नभएको गुनासो गरेका छन् ।