दिनेश मिश्र, वीरगंज, २९ पुस/
पोखरियामा मालपोत, भूमिसूधार, इलाका प्रशासन कार्यालयलगायत सेवाकेन्द्र स्थापनाको लागि पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्नप्रसाद चौहानको टोलीले गृहमन्त्री रवि लामिछानेलाई भेटेको छ ।
पर्साको पोखरिया जिल्लाको दोस्रो सदरमुकाम मानिए पनि मालपोत, भूमिसुधार र प्रशासनिक सेवा सुविधा यहाँको जनताले पाएको छैन । पोखरिया आसपास ग्रामीण भेगका जनता सेवा लिन वीरगंज धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्न गृहमन्त्री लामिछानेलाई नगरप्रमुख चौहानले ज्ञापनपत्र बुझाएका छन् । वीरगंज जान भाडा, खाजा, साना प्रशासनिक कामको लागि पनि दिनभरि समय लाग्ने भएकोले ज्ञापनपत्र बुझाइएको नगरप्रमुख चौहानले बताए ।
गृहमन्त्री लामिछानेले पोखरियामा सेवाकेन्द्र तथा प्रहरी नायब उपरीक्षक खटाउने आश्वासन दिएको नगरप्रमुख चौहानले बताए ।
यसैगरी, पोखरियामा थप शान्ति सुरक्षा बहाल गर्न इलाका प्रहरी कार्यालय, पोखरिया ‘क’ श्रेणीमा परेको हुनाले प्रहरी नायब उपरीक्षकको पदस्थापना गर्न गृहमन्त्रीलाई आग्रह गरिएको नगरप्रमुख चौहानले बताए ।
टोलीमा प्रतिनिधिसभा सदस्य प्रभु हजरा दुसाद, पूर्वसांसद जुनेद अन्सारी, लोसपाका नेता निजामुद्दीन समानी, नेकपा एमाले पोखरिया नगर अध्यक्ष विन्ध्याचल ठाकुर, एमपी साह, सुजीत गिरी, पप्पु चौहानलगायतको सहभागिता थियो ।