प्रस, वीरगंज, २९ पुस/

जिल्ला प्रहरी कार्यालय, पर्साले शुक्रवार पत्रकार सम्मेलन गरी पुस महीनामा दर्ता भएका मुद्दाको जानकारी गराएको छ ।

प्रहरी उपरीक्षक कोमल शाहले पुस महीनामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आत्महत्या, लागूऔषध, सवारी ज्यान, अपहरण, शरीर बन्धक, बैंक तथा वित्तीय कसूर, जबरजस्ती करणी, बाल यौन दुव्र्यवहार, चोरी, अभद्र व्यवहार, ठगी तथा आपराधिक विश्वासघात, बैंकिङ कसूर, मानव बेचबिखन तथा ओसारपसारलगायतका मुद्दा गरी १७० वटा मुद्दा दर्ता भएको बताए ।

पुस महीनामा सबैभन्दा बढी ५१ वटा बैंकिङ कसूर, ४४ वटा अभद्र व्यवहारका मुद्दा, २१ वटा चोरी, २२ वटा लागूऔषध, मानव बेचबिखन तथा ओसारपसारका तीनवटा, जबरजस्ती करणीका छवटा, कर्तव्य ज्यानका तीनवटा मुद्दा दर्ता भएको बताए । उनले लागूऔषधमा ३३ जना पुरुष, एकजना महिला परेको र यो महीनामा ३८४ किलो गाँजा, २१ ग्राम हेरोइन, १३५ वटा फेनारगन, १२८ वटा डाइजिल्याब, नूर्फिन १३५ र नाइट्रोभ्याट ट्याबलेट १४९९ र कोरेक्स ४४ बोतल बरामद गरेको बताए । यसैगरी, फरार अभियुक्तहरू ३५ जना, आठजना प्रतिवादी पक्राउ गरिएको उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा प्रउ साहले आफू आएपछि तस्करीलगायतका अपराधजन्य कार्य निरुत्साहित गर्ने कार्यलाई प्राथमिकतामा दिएर कार्य गरेको र अहिले सो कार्य गर्नेहरू तिलमिलाएको बताए । उनले खुला सीमानाकाबाट घरायसी सामान र तस्करीका सामान पहिचान गर्न गार्हो भएको र ससाना परिमाणमा ल्याइने सामानहरू पनि तस्करीसँग सम्बन्धित रहेको भन्दै उनले तस्करी नियन्त्रणमा आफूले प्राथमिकता दिएको बताए ।

उनले मादक पदार्थ, यौनजन्य क्रियाकलाप अपराध वृद्धिका शृङ्खला भएकाले सोको नियन्त्रणलाई आफूले प्राथमिकता दिएको जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here