• विश्वराज अधिकारी

स्वावलम्बी मनोविज्ञान

अमेरिकी युवाहरूमा स्वावलम्बी मनोविज्ञान बाल्यकालदेखि नै विकास भएको हुन्छ । उनीहरूको लालनपालन नै उनीहरूलाई स्वावलम्बी तुल्याउने किसिमको हुन्छ ।

उनीहरूले बाल्यकालदेखि नै मैले आफ्नोलागि अध्ययन (कलेज र विश्वविद्यालय)को व्यवस्था, रोजगारको खोजी, विवाह तथा गृहस्थी आरम्भ आदि आफैंले नै गर्नुपर्छ भन्ने तथ्य बोध गरेका हुन्छन् । मेरा अभिभावक (मातापिता वा अन्य)हरूले मेरोलागि केही गरिदिने, धनसम्पत्ति दिने भन्ने आस गरेका हुँदैनन् । अर्थात् बाल्यकालदेखि नै उनीहरूमा स्वावलम्बी मनोविज्ञान हुर्कंदै गरेको हुन्छ । यो कारणले गर्दा पनि अमेरिकी युवाहरूले आफ्ना मातापिताको धनसम्पत्ति पाउँला, उनीहरूको ख्याति (ठूलो पद, प्रसिद्धि) प्रयोग गरौंला जस्तो सोंच मनको कुनै कुनामा पनि सानैदेखि राखेका हुँदैनन् । आफूलाई परिचित गराउनुपर्याे भने आफ्नो नामबाट परिचित गराउन रुचाउँछन्, आफ्नो मातापिताको नाम (ख्याति, पद, शक्ति) जोडेर परिचित गराउन रुचाउँदैनन् । मेरा मातापिता यस्तो धनाढ्य थिए, सरकारी सेवाको उच्च पदमा थिए, ठूला नेता थिए भन्दैनन् ।

अमेरिकी युवाहरूको पहिलो प्राथमिकतामा सरकारी जागीर पर्दैन । यसैगरी, कुनै निजी वा सार्वजनिक संस्थाहरूले पनि उनीहरूलाई रोजगारको लागि अति आकर्षित गर्दैन पनि । रोगजारको लागि उनीहरूको पहिलो प्राथमिकता भनेको आफैंले आफ्नोलागि कुनै रोजगारको सिर्जना गर्नु हो । स्वरोजगार हुनु हो । आफैंले कुनै पेशा, व्यवसाय वा व्यापारको विकास गर्नु हो । कुनै संस्थामा गएर कसैको अधीनमा रहेर कसैद्वारा निर्देशित भएर काम गर्नुभन्दा स्वतन्त्ररूपमा आफूले रोजेको र खोजेको काम गर्न रुचाउँछन्। 

अमेरिकी युवाहरूको लागि तुलनात्मकरूपमा सरकारी जागीर पाउन सजिलो छ तर ख्यातिप्राप्त कम्पनीहरूमा काम पाउन गार्हो छ । दक्षिण एशियाका युवाहरूमा सरकारी जागीर गर्ने प्रबल इच्छा भएझैं अमेरिकी युवाहरूमा हुँदैन । सरकारी जागीर पाउनु र गर्नुलाई प्रतिष्ठासँग जोडेर हेर्दैनन् पनि ।

कुनै नयाँ काम काम गरेर, कुनै नयाँ किसिमको कम्पनी स्थापना गरेर धन कमाउने लालसा अधिकांश अमेरिकी युवामा हुन्छ । र त्यस्तो कार्य परिवारको कुनै सदस्य (आर्थिक, पदीय)को सहयोगविना गर्न चाहन्छन् । विश्वविख्यात माइक्रोसफ्टका संस्थापकमध्ये एक बिल गेट्स, संसारकै सर्वाधिक ठूलो अनलाइन सपिङ (अमेजन)का संस्थापक जेफ बेजोस, विश्वप्रसिद्ध व्यापारी एलन मस्क, संसारभरिमा नै सर्वाधिक ठूलो (कर्मचारी  भण्डार सङ्ख्याको हिसाबले) रहेको खुद्रा भण्डारका संस्थापक साम वाल्टन, फोर्ड मोटर कम्पनीका संस्थापक हेनेरी फोर्ड र चर्चित व्यापारी एवं लगानीकर्ता वारेन बफेटले व्यापार प्रारम्भ गर्दा आफ्नै पूँजीले आरम्भ गरेका थिए, मातापिताको आर्थिक सहयोगले होइन । यी ख्यातिप्राप्त व्यक्तिहरूले आफैंले आफ्नोलागि रोजगार सिर्जना गरे, त्यसलाई सफल पार्न कठिन एवं अनवरत् सङ्घर्ष पनि गरे, अनि सफलता पनि प्राप्त गरे । परिवारका सदस्यहरूमा आश्रित रहेर वा उनीहरूको धन, पद आदिको प्रयोग गरेर सफलता प्राप्त गरेनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here