- सञ्जय मित्र
हरेक चाडपर्वको आफ्नो विशिष्टता हुन्छ । चाडपर्वहरू आफैंमा यसै कारण विशिष्ट पनि हुन्छन् । हरेक चाडपर्वहरूको विशिष्टता र महत्व त मनाउनुमा हुन्छ, मान्नुमा हुन्छ । चाडपर्वको प्राकृतिक स्वरूप बिस्तारै बदलिंदै छ । समय नै परिवर्तनशील छ । समयसँगै बदलिरहेका छन् चाडपर्वहरू । चाडपर्वहरू केही खिइँदै छन्, केही चाडपर्व दुब्लाउँदैछन्, केही चाडपर्वहरू बिस्तारै फैलिंदैछन्, विस्तार हुँदैछन् । नयाँ चाडपर्वहरू पनि आउँदैछन् । नयाँ चाडपर्वहरू विभिन्न कारणले आइरहेका छन् । हामी अहिले सबै किसिमका चाडपर्वहरू मनाइरहेका छौं । हाम्रा चाडपर्वहरूमध्ये कतिपय निकै पुराना छन् । अहिलेको पुस्तामा पुराना चाडपर्वप्रति खासै आकर्षण छैन र नयाँ चाडपर्वप्रति पुराना पुस्ता उदासीन छ । यति हुँदाहुँदै पनि हामीले दुवै किसिमका चाडपर्व मानिरहेका छौं, मनाइरहेका छौं । हामीले मनाउने पुराना चाडपर्वहरूमध्ये एक हो– तिलबा सक्रात ।
शहरबजारको तुलनामा ग्रामीण क्षेत्रमा चाडपर्वको मौलिकता अलिकति बढी पाइन्छ । यसको कारण यो पनि हुन सक्छ कि ग्रामीण समुदायमा परिवर्तनशीलता शहरबजारको तुलनामा कम हुन्छ । तिलबा सक्रातको सन्दर्भमा पनि यो लागू हुन्छ ।
तिलबा सक्रातलाई तिला सक्रात, खिंचडी, माघी, माघे सङ्क्रान्ति, सकरात, सकराति, लाईमुर्ही आदि नामले बोलाइन्छ । यसको विशेषता वा जसलाई जे भन्न सजिलो लाग्छ, त्यही भनेर बोलाइने हुँदा यसो भएको हो । यस पर्वको दुई पक्ष रहेको देखिन्छ– आन्तरिक र बाह्य ।
आन्तरिकरूपमा यो भन्न सकिन्छ कि यस दिनलाई समाजले प्राकृतिक जीवनको रूपमा सम्झेको छ । वर्षमा एक दिन कन्दमूल खाएर बाँच्न सक्नुपर्छ किनभने मानिसले प्रारम्भिक अवस्थामा कन्दमूल खाएर नै बाँच्ने गरेका थिए । कन्दमूलमा हाम्रो प्रकृतिका बासिन्दाका लागि अनेक आवश्यक तŒवहरू हुन्छन्, जो अन्य सामान्य खाद्यान्नमा पाइन्न । यसको बाह्य पक्ष चाहिं अन्य चाडपर्वमा देखिने जस्तो घरको सफाइ, स्नान, पूजा, चाडपर्वमा जस्तो अलिकति नयाँ वा सफा कपडा लगाउने काम । ग्रामीण समुदायमा यो प्रक्रिया निरन्तर चलिरहेको छ ।
यस पर्वको चलन निकै पहिले चलेको कुन रूपमा मान्न सकिन्छ भने यस दिन बिहे भइसकेका छोरी तथा दिदीबहिनीकहाँ तिलबा सक्रातका सामग्री पुर्याउन जाने चलन छ । अहिले त सञ्चारका अनेक साधनको विकास भइसकेका छन् र हरेक क्षण सम्पर्क गर्न सकिने वातावरण बनेको छ तर त्यस युगमा जतिखेर अहिलेको जस्तो सडक थिएन, सञ्चार थिएन, शिक्षा थिएन, सम्पर्कका लागि आफू नै पुग्नुपर्दथ्यो । त्यस युगमा जाडोमा एकपटक कमीबेसी के छ भने बुझ्न जाऊँ भन्दै हेर्न–भेट्न जाने चलन चलेको हुनुपर्छ । चाडपर्वको कोसेली पनि लिएर जाने चलन त्यससँगै विकास भएको हुनुपर्छ ।
अहिले परिवारको आकार सानो हुँदैछ । परिवार टुक्रिंदै छ । धनप्रतिको आसक्ति झन् बढेको छ । स्वार्थ निकै बढेको छ तर पनि सम्बन्धमा मिठास जहाँको तहीं छ । अझै पनि यदि कुनै कारणले कसैको माइतबाट तिलबा सक्रातको दिन कोसेली आइपुगेन भने वा कसैलाई भेट्न माइतबाट कोही आएन भने ती छोरी वा दिदीबहिनीको मनमा जतिखेर पनि माइतको सम्झना भइरहन्छ । किन आउन सकेनन् भन्ने थाहा छ तर पनि माइती फोन गरेर बुझ्छन् । जसकहाँ कोसेली लिएर भेट्न कोही पुग्दैनन्, उसलाई छिमेकी, हितैषीले सोधिरहन्छन् । अनुपस्थितिमा अलिकति होच्याएर कुरा गर्छन् । यस्तै उस्तै पर्दा झोंकमा भनिदिन्छन् पनि “यसको नइहरबाट कोही आउँदा पनि आउँदैन, पबनीतेहारमा अलिकति फर्केर पनि हेर्दैन ।” यसले यो देखाउँछ कि चाडपर्वको अझै पनि सांस्कृतिक र सामाजिक महत्व निकै धेरै रहेको छ । यसले सम्बन्धलाई अझ बलियो बनाउने कुरामा दुई मत छैन ।
मध्यजाडोमा यो चाड आउँछ । जाडोले समग्र जनजीवनलाई प्रभावित पारिरहेको बेला आउने चाडले सर्वसाधारणको दैनिकीमा थोरै भएपनि उत्साह भर्ने र आशा जगाउने गर्दछ । जाडोको विषयमा एउटा कहावत प्रचलनमा रहेको छ–
कात्तिकमे जाढके जलम भेल, अगहनमे लडिकाइ
पुसमे जाढ जमान भेल, माघमे ठाने लडाइँ ।
(कात्तिकमा जन्मेको जाडो मङ्सिरमा बच्चै हुन्छ, पुसमा जवान भई माघमा लडाइँ गर्छ ।) जाडो महीनालाई निकै कठिन महीनाको रूपमा लिइन्छ । सबैमा जाडो थेग्न सक्ने सामथ्र्य हुँदैन । भनिन्छ, दुःखको दिनलाई सानो मान्ने हो भने उक्त दिन छिटै बितेको जस्तो लाग्छ । जाडोको त्रासदीलाई बिसाउने किसिमको एउटा उखान पनि प्रचलनमा रहेको छ– गेल माघ उन्तीस बाँकी । माघको पहिलो दिन अर्थात् तिलबा सक्रातको दिन यस उखानलाई गाउँघरमा निकै सुन्न पाइन्छ । आज तिलबा सक्रात सकियो, अब माघ उन्तीस दिन मात्र बाँकी छ । अब जाडो जाने भयो, पहिलो दिन कट्यो र जाडो जाँदैछ भन्ने आभास भयो । अब जाडो ओरालोतिर लाग्न थाल्यो भन्ने आशावादी सन्देश यस उखानले दिएको हो । साथमा तिलबा सक्रातले पनि यही सन्देशलाई प्रवाहित गरेको छ ।
एक दिन कटेपछि जाबो उन्तीस दिन त बाँकी छ नि भन्ने आशावादी भनाइलाई पुष्टि गर्ने अर्को जनविश्वास पनि ग्रामीण जीवनमा रूढ भएर विराजमान छ । त्यो हो– तिल बराबर भएपनि आजबाट दिन बढ्ने र रात छोटो हुन शुरू हुन्छ । र अर्को पनि छ, जसरी लक्पाँचे (नागपञ्चमी)को दिनदेखि पृथ्वीमा जाडो ओर्लन्छ, त्यसरी नै तिलबा सक्रातको दिनदेखि बिस्तारै जाडो कम हुँदै जान्छ । यस दिन एक तिल बराबर भएपनि जाडो कम हुन्छ । अब पृथ्वीमा जाडो कम हुँदै जाने क्रम शुरू हुन्छ । कठिन दिन अब कम हुँदै जान्छ र पृथ्वीमा ऊर्जा बढ्दै जाने मनोवैज्ञानिक ऊर्जाले जीवनमा आशावादी सञ्चार गरेको हुन्छ । यस पर्वको यो निकै प्रगतिशील दर्शन हो । यस पर्वको अभ्यन्तर हो र जीवनमा आशा जगाउने सन्देशको प्रवाह हो ।
यसरी तिलबा सक्रातले ग्रामीण जीवनमा अद्यपर्यन्त निकै महत्व राख्दछ । यो तिलको लड्डु खाने र रमाइलो गर्ने पर्व मात्र होइन । बालबालिकाका लागि भने हो हातमा लड्डु लिएर उफ्रिंदै रमाइलो गर्ने अवसर भने अवश्य दिन्छ । चाडपर्वको रमाइलो पक्ष हुन्छ पनि । गाउँघरका लोकदेवीदेवताको मन्दिरमा पूजा गर्नु, सफाइ गर्नु, घरको सफाइ, शरीरलाई ऊर्जा दिने परम्परागत भोजनको सेवन, छोरी वा दिदीबहिनीसित भेट, कोसेली आदानप्रदान आदिले अब जीवनमा नयाँ सङ्केत गरेको छ भन्ने चेतना छर्ने तिलबा सक्रात निकै महत्वपूर्ण पर्व हो । कन्दमूल, तिल, खिंचडी, घ्यू, चाकु आदिको वैज्ञानिक महत्व छ । सांस्कृतिक महत्व त नहुने कुरै होइन । यस पर्वको आरम्भ र विस्तारमा कैयौं शताब्दी बितेको छ । हाम्रा पितापुर्खाले निकै अनुसन्धान गरेर यस पर्वको सुरुआत गरेका छन् ।