- सञ्जय साह मित्र
अहिलेको प्रतिनिधिसभा निकै फरक भएको छ । सरकारलाई समर्थन गर्ने दृष्टिकोणले भव्य भएको छ । सामान्य नरनारीले कल्पना गर्नेभन्दा बढी समर्थन वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाउनुभएको छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वास दिने वा प्रधानमन्त्री प्रचण्डले विश्वास लिने दिन प्रतिनिधिसभामा उपस्थित सम्पूर्ण सदस्यमध्ये दुईजनाले मात्र विश्वासको मत नदिनु र बाँकी सबैले आफ्नो विश्वास प्रधानमन्त्री प्रचण्डमाथि रहेको दर्शाउनुले यो सङ्केत गरेको छ कि प्रचण्ड देशका करीब सबै दलको मात्र नभई सम्पूर्ण नागरिकको साझा प्रधानमन्त्री बन्नुभएको छ । प्रधानमन्त्री प्रचण्डको मन्त्रिपरिषद्मा कुन दल वा कुन कुन दलले मन्त्री पद पाउँला भन्ने महŒवपूर्ण पक्ष अहिले रहेन । प्रधानमन्त्रीमाथि विश्वासको मत दिंदा यस दृष्टिकोणले प्रतिनिधिसभा करीब–करीब प्रतिपक्षीविहीनको अवस्था बन्न पुगेको छ । प्रधानमन्त्रीमाथि अपार विश्वासको अवस्था रहेको छ । निकै लामो कालखण्ड बितेपछि एउटा युगमा प्रधानमन्त्री प्रचण्डमाथि यतिको प्रचण्ड विश्वास देखिएको हो ।
राजनीतिको क्षेत्रमा कहिलेकाहीं भन्ने गरिन्छ, बरु वर्षाको विश्वास हुन्छ तर राजनीतिको विश्वास हुँदैन । केही दिन पहिलेसम्म प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनुहोला भन्नेमा शङ्का व्यक्त गरिरहेको बेला यसरी पहिले आशङ्का व्यक्त गर्नेहरूले अहिले भन्दा हुन् नपत्याउने खोलाले बगाउँछ । प्रधानमन्त्री प्रचण्डलाई दिइएको विश्वासको धरातल राजनीतिक दृष्टिकोणले फरक होला तर आर्थिक क्षेत्रले भने स्वागत गरेकै छ । प्रधानमन्त्रीमा नियुक्त भएकै दिनदेखि यस देशको आर्थिक अवस्थामा केही सुधारको लक्षण कुन रूपमा देखिएको थियो भने नेप्से परिसूचकमा सुधार हुँदै गएको थियो । सर्वसाधारणमा अलिकति प्रचण्ड सरकारप्रति यस कारण पनि विश्वास लागेको हो कि कठिन समयमा राम्रो काम गर्न सक्ने आँट भएका नेता हुनुहुन्छ प्रचण्ड । भूमिगत बस्नुभएको, जनयुद्ध गर्नुभएको तथा देशलाई गणतन्त्र दिनुभएको नेताले देशलाई अहिलेको अवस्थामा शान्ति दिनुहोला र अर्थतन्त्रमा सुधार गर्नुहोला भन्ने विश्वास हुनुलाई स्वाभाविक मान्नुपर्दछ । त्यसै पनि वामपन्थीहरू आफूलाई निरन्तर आशावादी भन्छन् । आशावादीसित सकारात्मक आशा राख्नुलाई पनि राम्रो वा स्वाभाविक मान्न सकिन्छ ।
अहिलेको राजनीतिक अवस्था पनि निकै तरल थियो । के होला भन्न नसकिने अवस्था थियो । देशको अर्थतन्त्र कमजोर थियो र अहिले प्रधानमन्त्री बन्नुभएको प्रचण्डलाई विश्वासको मत नदिए देशमा राजनीतिक अस्थिरता आउने अनुमान गरिंदै थियो भने देश कतै फेरि मध्यावधि चुनावतिर धकेलिएला कि भन्ने अड्कल गरिंदै थियो । यदि संसद् विघटनतिरको कुनै कदम अगाडि बढेको भए देशको आर्थिक हालत कस्तो हुन्थ्यो भन्ने कुनै निश्चित थिएन । त्यसै पनि समयको दृष्टिकोणले एक वर्षभित्र र आर्थिक वर्षको दृष्टिकोणले दुई आर्थिक वर्षमा देशले दुई चुनाव गरिसकेको छ । दुई चुनावका साथै लगातारको दुई वर्षको कोरोनाको कारणले देशको अर्थतन्त्रमा व्यापक मात्रामा प्रभाव परेको छ । देशको अर्थतन्त्र कमजोर भएको तथा अपेक्षित आर्थिक वृद्धिदर हासिल हुन नसकिरहेको अवस्थामा देशमा बलियो सरकारको आवश्यकता थियो नै । बलियो सरकारको आवश्यकतालाई वर्तमान संसद्ले पूरा गरिदिएको छ । नेपालको इतिहासमा प्रतिनिधिसभा सदस्यको समर्थन तथा प्रतिनिधिसभामा उपस्थित दलहरूको समर्थन दुवै दृष्टिकोणले अपार समर्थन प्राप्त प्रचण्ड सरकार निकै बलियो सरकार बन्न पुगेको छ । यति धेरै शक्तिशाली सरकारको नेतृत्व गर्ने प्रचण्डलाई सबैतिरबाट बधाई त प्राप्त भइरहेकै छ नै निकै चुनौती रहेको पनि सबैतिरबाट आइरहेको छ ।
देशमा वैचारिक र सशस्त्र द्वन्द्व दुवै लड्नुभएका प्रधानमन्त्री प्रचण्डमाथि राजनीतिक दलको विश्वास देखिएको छ । अहिले राजनीतिक वृत्तमा के पनि परिचर्चा भइरहेको छ भने प्रधानमन्त्री प्रचण्डसित वैचारिक विमति राख्ने तथा वैचारिक विपर्यय भएका दलहरूले पनि समर्थन गरेका छन् । समर्थनको दृष्टिकोणले त यो सफलता नै हो तर अब विचार तथा व्यवहारमा सामञ्जस्यता मिलाइराख्नु चुनौतीको रूपमा रहने अनुमान गरिएको छ । पृथक विचारकाले समर्थन पाउनु राजनीतिक दृष्टिकोणले विरोधीको विचारमाथि विजय पाउनु पनि हो वा विरोधीले आफ्नो विचारलाई मान्न तयार हुनु पनि हो तर वर्तमान परिवेशमा विभिन्न किसिमका सम्झौताहरू भएर सरकारको गठन भएको र प्रचण्डमाथि विश्वास भएको देखिएको छ । यहींनिर प्रधानमन्त्री प्रचण्डले अझ बढी सुझबुझ देखाउनु हुनेछ र पृथक विचारका दलहरूलाई पनि साथमा लिएर हिंड्नुहुनेछ भन्ने आशा गरिन थालिएको छ । प्रचण्डप्रति नेपाली नागरिकले अहिले प्रचण्ड आशाको दृष्टिले हेर्नुको पछाडि पनि यही कारण रहेको छ कि अहिलेको अवस्थामा कसरी हुन्छ देशमा विकास चाहिएको छ । देशमा आर्थिक समृद्धि चाहिएको छ र आर्थिक समृद्धिको लागि प्रचण्डलाई आशाको नजरले हेर्नु स्वाभाविक हो । यसभन्दा पहिले चुनाव भएर करीब दुई तिहाइ बहुमतसहित केपीशर्मा ओली प्रधानमन्त्री बन्नुभएको थियो तर कोरोना र आन्तरिक कलहले देशमा अपेक्षित काम गर्न सक्नुभएन । त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभयो तर दुई चुनाव गराउनुभयो । यसरी ओली र देउवाले पाँच वर्षमा सरकारको नेतृत्व गरिसक्नुभएको छ र अबको आशा भने प्रचण्ड नै हुनुहुन्छ । प्रचण्डप्रतिको आशा निराशामा बदलिनुहुँदैन किनभने अहिले आशा गर्नुको विकल्प छैन । प्रधानमन्त्री प्रचण्डलाई देशका सबै दल तथा सम्पूर्ण नागरिकले एकसाथ विश्वास गरेका छन् ।
अब राजनीतिक खिंचातानीलाई विश्राम दिएर देशको उत्थानमा एकता प्रदर्शन गर्ने समय आइसकेको छ । अहिलेको माग भनेको यस देशको विकास हो । हामीले राम्ररी हे¥यौं भने छिमेकी देशहरू भारत र चीन हामीभन्दा निकै अगाडि गइसके । यी दुई छिमेकी देशबाट हामी निकै पछि परिसकेका छौं । अर्को छिमेकी देश भुटान पनि हामीभन्दा अगाडि बढिसकेको छ । अहिले कतिपयले हाम्रो देशको हालत श्रीलङ्कासित हुने अनुमान गर्न थालेका छन् । यतिका अनुभवी नेताहरू हुनुहुन्छ । यति धेरै सङ्घर्ष र त्याग गरेर देशको उच्चासनमा पुग्ने प्रधानमन्त्री प्रचण्ड हुनुहुन्छ । भर्खरै भएको चुनावमा मतदाताले जसलाई मत दिए पनि दललाई दिएका छन् र अहिले सबै दल एक भएका छन् । अहिले प्रधानमन्त्री प्रचण्डलाई सबै दलले समर्थन गर्दा सम्पूर्ण नागरिक एक भएको अनुभव भइरहेको छ । यो संयोग नै मान्नुपर्दछ कि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा देशका सम्पूर्ण दल प्रचण्ड सरकारको मामिलामा समर्थन दिंदा एकीकृत भएका छन् । राष्ट्रिय एकता दिवसले दिने सन्देशलाई एक हदसम्म लागू गरेका छन् । एकताबद्ध भएका छन् । एक दृष्टिकोणले हेर्ने हो भने यस देशको सर्वोच्च निकाय प्रतिनिधिसभामा प्रतिपक्षी नै छैन ।
अब प्रतिपक्षीविहीन अवस्थाको प्रतिनिधिसभाको वैचारिक विविधतालाई पनि हेर्न सकिन्छ । यही वैचारिक विविधताबाट अब फेरि पनि देशोत्थानको यस्तो सूत्रको खोजी गर्नु छ, जसबाट देशोत्थानमा एकता प्रदर्शन गर्न सकियोस् । प्रतिनिधिसभालाई देशका लागि आवश्यक ऐन कानून निर्माण र राष्ट्रिय मुद्दाहरूमा बहसको सार्थक थलो बनाइयोस् । विमति, अन्तर्सङ्घर्ष तथा मतभेदहरू सभामा नै खुलेर आऊन् र सार्थक मन्थनले फेरि पनि एउटा निष्कर्षमा पुगेर देशको हितमा एक भएको सबैले देख्न र सुन्न पाऊन् । अहिलेको आवश्यकता भनेको अनेक विचारमा एकता, अनेक मतभेदमा सामञ्जस्यता, अनेक विवादलाई व्यवस्थापन गर्दै यस देशको विकासको लागि, देशमा शान्तिको लागि, देशको आर्थिक उन्नतिको लागि तथा समग्र विश्वमा देशको शान्तिपूर्ण छविलाई अझ विकासपूर्ण छविमा परिवर्तन गर्नु रहेको छ । यसको लागि आशाको आधार प्रतिनिधिसभा भएको छ । यही आधारमा देशोत्थानको बाटोमा अगाडि बढ्ने प्रेरणा निरन्तर प्राप्त भइरहोस् ।