बङ्गलादेश युवा सङ्गठनले प्लास्टिक प्रदूषणविरुद्ध जनचेतना जगाउन ‘सेभ अर्थ, सेभ बङ्गलादेश’ नाराका साथ प्लास्टिकका बोतलको कला प्रदर्शन गरेको छ । राजधानी ढाकामा आयोजित प्रदर्शनीमा देशका विभिन्न स्थानबाट अवलोकनका लागि पुग्नेहरूको घुइँचो छ । करीब ३० लाखवटा प्लास्टिकका बोतलबाट बनाइएको प्रदशर्नीमा मुख्य आकर्षण समुद्रमा सङ्कटपूर्ण अवस्थामा रहेका माछाको छ । प्लास्टिक प्रदूषणको कारण जलथल सबैतर्फ प्राणीको जीवनमा सङ्कट थपिंदो छ भन्ने सन्देश प्रदर्शनीको हो । मन छुने किसिमको उक्त प्रदर्शनी अवलोकन गरेपछि अधिकांशले प्लास्टिक प्रदूषणमुक्त अभियानमा समर्थन जनाएको र उनीहरूले प्लास्टिक प्रदूषण आफूबाट अब उप्रान्त नहुने प्रतिबद्धतासमेत जनाएको प्रदर्शनीको आयोजक संस्थाको दाबी छ । प्लास्टिकजन्य सामग्रीको प्रयोग विश्वको निम्ति चुनौती भइरहेको बेला कोरोना महामारीले झन् जटिल अवस्थामा पुर्याएको छ ।
साइन्स जर्नलमा हालै प्रकाशित एक लेख अनुसार कोरोनाले सबै क्षेत्र अस्तव्यस्त पारिरहँदा प्लास्टिकजन्य सामग्रीको प्रयोग भने ह्वात्तै बढ्यो । प्लास्टिक प्रयोगविनाको जनजीवन असम्भवजस्तै लाग्ने भयो । हामी थाहै नपाई दिनमा दर्जनौं पटक प्लास्टिकजन्य सामग्री प्रयोग गरिरहेका हुन्छौं । प्लास्टिक सर्वव्यापी उपभोग्य वस्तु बन्नुको पछाडि यसका केही सबल पक्ष छन् । जस्तै हलुका हुने, चाहेको आकार दिन सकिने, विद्युुत् प्रवाह नहुने, तरल पदार्थ पोका पार्न मिल्ने, सस्तो अनि सर्वसुलभ रहेकाले पनि यसको प्रयोगमा उपभोक्ताहरू आकर्षित भएका हुन् । पृथ्वीमा रहेका जीव, जन्तु, वनस्पति, हावा, पानी, माटो आदि सम्पूर्ण जैविक तथा अजैविक वस्तुहरूको सामूहिक उपस्थिति नै वातावरण हो । स्वस्थ वातावरणले प्रकृतिलाई सन्तुलनमा राख्नुका साथै प्राणीका लागि पोषणसमेत पूरा गर्ने हुँदा पृथ्वीमा रहेका हरेक जीवजन्तुलाई बाँच्न सहज हुन्छ । वातावरण प्रदूषणको कारण वर्तमान अवस्थासम्म आइपुग्दा पृथ्वीमा रहेका केही वनस्पति तथा जीवजन्तुहरू बाँच्न नसकेर लोप भइसकेका छन् भने केही लोप हुने अवस्थामा पुगेका छन् । वातावरण प्रदूषणमा प्लास्टिक प्रदूषणको एउटा कारक तत्व हो ।
प्लास्टिक प्रदूषण अन्त्य गर्ने सम्बन्धमा कानूनीरूपमैं बाध्यकारी बनाउन संयुक्त राष्ट्रसङ्घ विश्वव्यापी सन्धिको तयारीमा छ । केन्याको राजधानी नैरोबीमा गत मार्चमा भएको राष्ट्रसङ्घीय वातावरणसभामा भावी सन्धिका मापदण्डहरू तय गरिएका छन् । त्यसमा प्लास्टिकको पूर्ण जीवनचक्रलाई सम्बोधन गरी समुद्रमा मात्र नभई समग्र वातावरणमैं फोहोरको समस्या समाधान गर्ने विषयसमेत समेटिएको छ । प्लास्टिकको प्रयोग नियन्त्रणका लागि हाम्रो मुलुकमा पनि विभिन्न प्रयासहरू भएका छन् । यस्ता प्रयासहरू सङ्घ, प्रदेश र पालिकास्तरबाट समेत भएका छन् । नेपाल सरकारले प्लास्टिकका फूल, गुच्छा, मालामा प्रतिबन्ध लगाउने निर्णय ग¥यो । सोको निम्ति वन तथा वातावरण मन्त्रालयले बितेको साउन महीनामा देशभर प्लास्टिकका फूलगुच्छा, मालाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिबन्ध लगाएको भन्दै पत्राचारसमेत गरेको थियो । वीरगंज महानगरपालिकाले प्लास्टिकमाथि प्रतिबन्ध लगाएको अघिल्लै कार्यकालमा हो । निर्णय गर्ने, त्यही निर्णयमा अलमलिने, कार्यान्वयनमा कडाइ नगर्ने, मौका परे निर्णय फिर्ता लिने हाम्रो चलन छ । त्यसैले यहाँ प्लास्टिक प्रदूषण ज्यूँका त्यूँ छ ।