प्रस, गरुडा, २३ पुस/

रौतहटको गरुडामा बज्जिका साहित्यिक गोष्ठी सम्पन्न भएको छ । गरुडास्थित रेडियो मधेस मसला एफएमको सभाकक्षमा शनिवार बज्जिका साहित्य सङ्गम, रौतहटले हरेक महीना आयोजना गर्ने साहित्य शृङ्खलाको ५४औं गोष्ठी सम्पन्न भएको हो । सङ्गमले हरेक महीना आयोजना गर्ने साहित्यिक गोष्ठी तीन महीनापछि शनिवार सम्पन्न भएको हो ।

सङ्गमका अध्यक्ष किशुनदयाल श्रीकृष्णको अध्यक्षतामा भएको कार्यक्रममा सर्लाही, रौतहट र बाराका बज्जिका साहित्यकारहरूको सहभागिता थियो ।

कार्यक्रममा बज्जिका भाषाका साहित्यकार तथा नेपाल साहित्यिक पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष सञ्जय साह मित्र, सर्लाहीका साहित्यकार सञ्जय सुदामा, बाराका बज्जिका साहित्यकार तथा नवसर्जक साहित्य चौतारी नेपाल मधेस प्रदेशका कोषाध्यक्ष अभिजितकुमार राम, साहित्यकार रेणु गुप्ता, सङ्गीता सहनी, मोमताज रायभाट, चन्दनकुमार यादव, बज्जिका गायकद्वय रवीन्द्रकुमार पटेल, कुमार चन्दनलगायतले आआफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

मधेस प्रदेशसभामा मातृभाषा बज्जिकामा शपथ लिने प्रदेश सांसदहरूप्रति धन्यवाद व्यक्त गर्दै मधेस प्रदेशसभामा मातृभाषाहरूमध्ये बज्जिकालाई सबैभन्दा ठूलो मातृभाषा बनाउने सांसदहरूप्रति सङ्गमले आभार पनि व्यक्त गरेको छ ।

कार्यक्रममा आगामी दिनमा बज्जिका भाषा र साहित्यका लागि थप प्रभावकारी कार्यहरू गर्नुपर्ने सुझाव सहभागीहरूले दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here