प्रस, निजगढ, २३ पुस/
निजगढ नगरपालिका–८ स्थित गौरीशङ्कर माविमा २०४७ सालको एसएलसी ब्याजका विद्यार्थीहरूको समूहले शनिवार विद्यालयमा पानीको फिल्टर जडान गरेको छ ।
त्यस बेला विद्यालयमा कार्यरत एकमात्र कार्यालय सहयोगी पियन बाजे ८४ वर्षीय चन्द्रप्रसाद दाहाललाई प्रमुख अतिथि बनाइ उनकै हातबाट फिल्टरको उद्घाटन गरिएको छ । आफूहरू पढ्दाको समयमा निजगढमा खानेपानीको चरम अभावको बेला पनि पियन बाजेले कुनै झर्को नमानी दैनिक ७०/८० गाग्री पानी ५/७ सय मिटर परबाट काँधमा बोकी गर्मीयामका बेला आफूहरूलाई लाइन लगाएर कक्षाकोठाहरूमा ल्याइ खुवाएको सम्झना गर्दै पियन बाजेलाई प्रमुख अतिथि बनाइ कार्यक्रमको उद्घाटन गरिएको पूर्वविद्यार्थीहरू मनोज भारती, ऋषि बडाल, माधव अधिकारीलगायतले बताए ।
पूर्वविद्यार्थीहरूको समूहले दिएको सम्मानले आफू निकै हर्षित भएको पियन बाजे दाहालले बताए ।
त्यस बेला झन्डै अढाई सय मिटर तल इनारबाट पानी बाल्टिनमा तानेर विद्यार्थी र मास्टरहरूलाई खुवाउनु गा¥हो काम थियो । आफूले सकेको सेवा २१ वर्षसम्म निरन्तर गरेकै कारण विद्यार्थीहरूले यसरी बेलाबखत सम्झिरहेकामा आफूलाई निकै खुशी लागेको उनले बताए ।