प्रस, परवानीपुर, २२ पुस/
वीरगंज महानगरपालिका वडा नं १७ र १९ को दोसाँधमा रहेको तिलावे नदी किनारमा फालिएका फोहरलाई वीरगंज महानगरले व्यवस्थित गरेको छ ।
वीमनपाको सरसफाइ तथा व्यवस्थापन शाखाले दुई दिनअघि निरीक्ष्Fण गरी शुक्रवार हेक्साभेटर लगाएर नदीछेउमा राखिएको फोहर खाल्डो खनेर पुरेर व्यवस्थापन गरेको हो । पुरानो फोहरलाई खाल्डो खनेर व्यवस्थापन गरेको र नयाँ फोहर सो ठाउँमा नफाल्न चेतावनी दिएको छ ।
सरसफाइ शाखाका इन्चार्ज सर्फुद्दीन मियाँले उद्योग, कारखानाका फोहरहरू तिलावे नदीछेउमा डम्पिङ गरिएको बताए । उनले पहिलोचोटि सो कार्यको व्यवस्थापन गरिएको र अब उप्रान्त कसैले फोहर गरे महानगरले कारबाई गर्ने चेतावनी दिए ।
तिलावे नदीछेउमा केही हप्ताअगाडिदेखि फोहर फाल्ने काम भइरहेको थियो । वडा नं १७ का अध्यक्ष सञ्जु छतकुलीले आफ्नो वडाबाट फोहर नफालिएको बताइसकेका छन् भने १९ का अध्यक्ष्F मुकेश चौरसियाले वडाका सार्वजनिक फोहर नदी किनारामा फालिएको बताएका थिए ।
फोहर व्यवस्थापनको लागि महानगरपालिकाले फोहर प्रशोधन केन्द्र सञ्चालनमा ल्याइसक्दा पनि तिलावे नदीछेउमा फोहर फालिएको विषयलाई लिएर स्थानीय युवाहरूले विरोध गरेका थिए । विरोधपछि महानगर तातेको र तिलावेमा फोहर डम्पिङ गर्न रोक लगाएको हो ।