प्रस, परवानीपुर, २२ पुस/
पर्सा, बहुदरमाई नगरपालिका–४ तिलावे पुलदेखि दक्षिणमा निर्माण भइरहेको छठघाटको भर्याङ खस्दा वडा नं ५ भौराटोल बस्ने २० वर्षीय राजा महतो धानुकको ज्यान गएको छ भने पटनीटोलका ३५ वर्षीय अमर कुशवाहा गम्भीर घाइते भएका छन् ।
मृतकको शव नारायणी अस्पतालमा राखिएको छ भने घाइते कुशवाहालाई नारायणीमा भर्ना गरिएको वडा नं ५ का अध्यक्ष सुनील महतो कोइरीले जानकारी गराए ।
जिल्ला समन्वय समिति, पर्सामार्फत संसदीय विकास कोषको बजेटबाट निर्माण भइरहेको छठघाटको भ¥याड्ढो ढलान आठ दिनअघि भएको थियो । त्यसैको सेन्ट्रिङ खोल्न जाँदा सो दुर्घटना भएको हो । ढलान गरेको न्यूनतम १५ दिनमा सेन्ट्रिङ खोल्ने गरिन्छ तर सोको आधा अवधिमा खोल्दा सेन्ट्रिङ भस्किएर एकजना मजदूरको मृत्यु भएको र अर्को घाइते भएका हुन् ।
सो कार्य स्थानीय जीतेन्द्र यादवको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिले बहुदरमाई नगरपालिका–४ बहुअरी पिडरीका ठेकेदार रामनारायण मण्डलद्वारा गराइरहेको थियो । घटना भएपछि अध्यक्ष यादव र ठेकेदार मण्डल दुवैजना फरार छन् ।
पीडित पक्षले आवश्यक कारबाई तथा क्षतिपूर्तिको माग गरेको छ ।
बहुदरमाई नपा–२ का अध्यक्ष जीतेन्द्र पटेलले यस्तो घटना हुनुमा नगरपालिकाको चरम लापरवाही रहेको आरोप लगाएका छन् ।
नपाले विनासूचना गोप्यरूपमा बजेट सिध्याउन काम गराइरहेको र त्यसमा गुणस्तरहीन काम भएकोले दुर्घटना भएको दाबी गरेका छन् ।
मृतक परिवारजनले घटनामा संलग्न सबैजनालाई कारबाईको दायरामा ल्याउनुपर्ने माग गरे । साथसाथै पीडित परिवारलाई नगरपालिकाले क्षतिपूर्ति दिनुपर्ने स्थानीयवासीको माग छ ।