प्रस, सिम्रौनगढ, २२ पुस/
सिम्रौनगढ नगरपालिका–६ र ७ छुट्याउने कङ्काली पुल जीर्ण हुँदै गएकोले दुर्घटनाको खतरा बढेको छ ।
सिम्रौनगढ बजार कङ्कालीचोकस्थित सो पुलबाट आवागमन बढी हुने गरेको छ । पर्यटकीय एवं धार्मिक स्थल कङ्काली मन्दिर र रानीवास रामजानकी मन्दिर जोड्ने सडकको पुल जीर्ण हुँदा दुर्घटनाको सम्भावना बढेको छ ।
पाँच दशकपूर्व कङ्काली पुल तत्कालीन नारायणी अञ्चल सिंचाइ विकास योजनाले बनाएको थियो । यसभन्दा पहिले यो पुल काठको थियो । पुलको दक्षिणपट्टिको भाग भत्किएको छ । जसले गर्दा जुनसुकै बेला दुर्घटनाको सम्भावना छ । एक दशकदेखि पुल जीर्ण भएपनि सम्बन्धित निकायले कुनै चासो देखाएको छैन ।
पुलमा सवारीसाधनको अत्यधिक चाप हुने गरेको तथा वर्षात्को समयमा बाढीले पुल ध्वस्त हुन सक्ने भएकोले यथाशीघ्र पुलको निर्माण गर्न स्थानीयले माग गरेका छन् ।