पाँच/छ दशकअघि आर्थिक, शैक्षिक, सडक र यातायात जस्ता आधारभूत व्यवस्था उत्साहप्रद थिएन । उहिले गाउँबाट शहर पुग्न पैदल वा बयलगाडा निर्विकल्प संसाधन थियो । त्यस कारण हेटौंडा, नारायणगढ, पोखरा वा काठमाडौंलगायत टाढाको यात्रा निकै चुनौतीपूर्ण थियो । उहिले सडक र यातायातको असुविधाका साथै आर्थिक समस्याले एक ठाउँबाट अर्को ठाउँको यात्रा गर्नु फलामको चिउरा चपाउनु सरह थियो । पछि साइकल, मोटरसाइकल र जीप आदि थपिंदै आज अनेकौं संसाधन उपलब्ध छन् ।
यद्यपि विभिन्न आरोह–अवरोहको बावजूद अघिल्ला पुस्ताहरूमध्ये जसले शिक्षालाई महत्व दिए, सङ्घर्ष गरे, अथक प्रयास गरे, त्यस्ता पात्रहरूले सफलता प्राप्त गरेका उदाहरणहरु प्रशस्त छन् । सोहीमध्ये उनी पनि एक हुन्, जसको जीवनगाथा आजको आलेखमा समेटिएको छ ।
उनले शिक्षार्जन कसरी गरे ? वीरगंज–हेटौडा तथा वीरगंज–काठमाडौको यात्रा तय गर्नु कति चुनौतीपूर्ण थियो ? लोकसेवा आयोगको परीक्षामा असफलतापछि सफलता कसरी प्राप्त गरे ? सामान्य परिचित व्यक्तित्वबाट के सहयोग पाए ? उनी साहित्यकार तथा पत्रकार स्व विजयप्रकाश बिनलाई किन सम्झन्छन् ? लगायतका सन्दर्भ आजका पुस्ताका लागि अनुकरणीय छ ।
वीरगंज महानगरपालिका–२६ सुगौली बिर्ता निवासी रामादयाल मिश्रका तीन छोरामध्ये उनी जेठा हुन् । दुई छोरा र एक छोरीका पिता उनी मालपोत कार्यालयका सेवानिवृत्त अधिकृत तथा हाल ब्राह्मण समाज, नेपालका अध्यक्ष ६२ वर्षीय हरिनारायण मिश्र हुन् । उनीसँग भएको संवादको संक्षिप्त अंश प्रस्तुत छ :–
- राजेश मिश्र
“नित्य उठ सबेरे बिटिया मोर,
चहचह जइसे चिडिया चहकत,
आज बगिया सुन भइल…।”
उपरोक्त भोजपुरी कविता ‘बिटिया से बिछोड भइल’ शीर्षकमा विसं २०४५ मा लेखेको थिएँ । भोजपुरी कविता लेखनमा अभिरुचि बाल्यकालदेखि नै हो । विभिन्न सामाजिक परिवेशलाई शब्दमार्फत डायरीमा अङ्कित गरेको छु । स्व विजयप्रकाश बिनसँग सङ्गत भएपछि मनोबल झन् उच्च भयो । ठाकुर राम बहुमुखी क्याम्पसमा पढ्दाको बेला उनीसँग चिनजान भएको थियो ।
शैक्षिक यात्रा
कक्षा ३ सम्म गाउँकै नेराप्रावि, सुगौली बिर्ता तथा कक्षा ४ देखि ७ सम्म शारदा निमावि (अहिले मावि) बहुअरी–सुगौलीमा अध्ययन पूरा गरें । त्यसपछि कक्षा ८ देखि १० सम्म नेपाल राष्ट्रिय विद्यापीठ मावि, श्रीपुर, वीरगंजमा पढें । जन्मथलो सुगौलीदेखि विद्यालय दुईतर्फी झन्डै ६ किमी दैनिक ओहोरदोहोर गर्नुपथ्र्यो ।
नेराविमाविमा शिक्षक नवराज उपाध्याय संस्कृत तथा नेपाल परिचय, शिक्षकद्वय नारायण सिंह तथा सिबी (चन्द्रबिहारी) दत्त अङ्ग्रेजी, शिक्षक हरिहर शर्मा नेपाली र शिक्षक वसन्त घोष (बङ्गाली) गणित विषय पढाउनुहुन्थ्यो । त्यति बेलाका शिक्षकहरू भन्थे, “ट्युशन किन पढ्ने ? पैसा कहाँबाट आउँछ ? बरु नआएको कुरा घरमा सोध्न आए हुन्छ ।” अहिले विद्यालयको पढाइबाहेक ट्युशन पढ्नै पर्ने रीत स्थापित भइसकेको छ ।
एसएलसीको परीक्षाफल
विसं २०३२ को माघ महीनामा एसएलसीको परीक्षा दिएँ । नतीजाको प्रतीक्षासँगै नववर्ष २०३३ को आगमन भइसकेको थियो । एसएलसीको नतीजा गोरखापत्रमा प्रकाशित भएको कुरा जानकारीमा आयो । नतीजा जान्ने खुल्दुली नबढ्ने कुरै थिएन । माईस्थान चोकको एक पत्रिकापसलमा दुई दिन धाएँ । पत्रिका सकिएको भनेपछि नतीजा बताइदिन हारगुहार गरें । यद्यपि न पत्रिका पाएँ, न परिणाम थाहा पाउन सकें ।
परीक्षाफल प्रकाशित भएको जानकारीमा आएदेखि थाहा नपाएसम्म, मानसिक व्यग्रता कति हुन्छ भन्ने कुरा शब्दमा बयान गर्न कठिन छ । पत्रिकाको खोजीमा भौंतारिंदै दिन बितेको पत्तो हुँदैन थियो । तर रात बिताउन उत्तिकै मुश्किल हुन्थ्यो ।
मेरो व्यग्रता देखेर मसँगै एसएलसी दिएको वीरगंजका एकजना साथीले भन्यो, “सिम्बल नम्बर लेखेर देन, म पत्रिकामा नतीजा हेरेर बताउँछु ।” भोजपुरी लोकोक्ति– ‘जोगिया के भावे ऊ वैदा फुर्मावे” भनेझैं तुरुन्तै सिम्बल नम्बर कागजमा लेखेर उसलाई दिएँ । साथीले यथास्थानमा बस्न भन्दै आफ्नो घर गयो । आधा घण्टापछि ऊ फर्केर बिस्तारै आइरहेको मैले हेरें । यताबाट दौडेर उसको नजीक गएँ र सोधें, “का भइल ह ? देखल ह ? हम पास बानी कि ना ?” ऊ चुप थियो । उसको शान्त मुद्राले मलाई झन् पोलिरहेको थियो । मानसिक उत्तेजना बढ्दो थियो । अन्ततः उसको पाखुरा समातोर झक्झक्याउँदै “बोल ना, बोलत काहे नइखी, इयार ?” भनें । अचानक उसले ठूलो स्वरमा, “पास बाडी इयार” भन्यो । उत्र्तीण भएको कुरा सुनेपछि त कौतूहलता कम हुनुपर्नेमा झन् बढी भयो । किनभने आफ्नै आँखाले नतीजा गोरखापत्रमा देख्ने व्यग्रता बढ्यो । तीव्र खुल्दुलीका कारण साथीको धेरैबेर बिन्ती भाउ गरिइरहें ।
त्यसताका परीक्षाफल प्रकाशित भएको बेला पत्रिका पाउनु त परै जावोस्, हेर्न पनि हम्मेहम्मे हुन्थ्यो । पत्रिकापसलमा परीक्षाफल हेराइदिएबापत उत्तीर्ण हुनेसँग मात्र पैसा लिन्थे । अनुत्तीर्ण हुनेहरूसँग पैसा लिन्थेनन् । त्यसै कारण मेरो खल्तीमा केही खुद्रा पैसा थियो । त्यही पैसा साथीलाई देखाउँदै पत्रिका देखाउन आग्रह गर्न थालें । अन्ततः साथीको घरमा गएँ । साथीले केवल मेरो सिम्बल नम्बर देखिनेगरी पत्रिका दोबे्रर मलाई देखायो । हेरेपछि म हर्षविभोर भएँ । उसको नतीजाबारे सोध्दा साथीले बताएन । म उफ्रिदै सुगौलीतर्फ प्रस्थान गरें । त्यो साथी अनुत्तीर्ण थियो भन्ने कुरा पछि थाहा भयो ।
त्यसपछि ठाकुर राम बहुमुखी क्याम्पसमा मानविकी र शिक्षा सङ्कायमा प्रवेश परीक्षा दिएँ । उत्तीर्ण भएँ । स्वास्थ्य सहायकको प्रवेश परीक्षामा पनि नाम निकालेको थिएँ । तर आर्थिक अभावले न ठाकुर राम, न नर्सिङ क्याम्पस, कतै पनि नामाङ्कन हुन सकेन । पैसा होला र नाम लेखाउँला भन्दै दुई महीना बित्यो । पढाइ शुरू भएको झन्डै दुई महीनापछि जसोतसो गरी ठाराब क्याम्पसको मानविकी सङ्कायमा नामाङ्कन भयो । त्यति बेला इन्टरमिडिएट तह सेमेस्टर प्रणालीमा चार सेमेस्टर पढाइ हुन्थ्यो । मानविकी सङ्कायका गुरुजनहरूमध्ये शिवेन्द्रलाल कर्ण (इतिहास) र कविराज न्यौपाने (नेपाली) सरलाई बिर्सन सक्दिनँ । उहाँहरू विद्यार्थीलाई सधैं प्रोत्साहित गरिरहनुहुन्थ्यो ।
असफलताले हरेश खाइनँ
चौथो सेमेस्टरको परीक्षा दिइसकेपछि परीक्षाफलको प्रतीक्षामा निस्काम थिएँ । त्यसै बेला अर्थात् विसं २०३६ सालमा लोकसेवा आयोगले मुखिया तथा खरिदार पदको लागि विज्ञापन गरेको थियो । मुखिया पदको लागि न्यूनतम शैक्षिक योग्यता कक्षा आठ तथा खरिदार पदको लागि एसएलसी उत्तीर्ण आवश्यक थियो । ती दुवै पदको लागि मसँग शैक्षिक योग्यता थियो । त्यस कारण साथीभाइहरूको लहलहैमा म पनि हेटौंडा हानिएँ । दुवै पदमा फाराम भरें ।
रामानन्द कुर्मी, नवराज शर्मा र म हेटौंडा गएको मलाई आज पनि सम्झना छ । त्यहाँ विद्यार्थीहरूको भीडभाड देखेर भोजपुरी लोकोक्ति– ‘हे हल्ला में देवान के तजिया’ भनेझैं हामी मानसिकरूपले हतप्रभ भयौं । आफूबाहेक सबै प्रतिस्पर्धी प्रतिभाशाली लाग्थे । नकारात्मक सोचले मनमा भय उत्पन्न गथ्र्यो भने सकारात्मक पक्षले ‘जे हुन्छ देखा जाला’ भन्दै सान्त्वना दिएझैं प्रतीत हुन्थ्यो ।
हेटौंडामा लोकसेवा आयोगको परीक्षा दिन गएको बेलाको बिर्सन नसकिने तीतो सम्झना बेलाबेलामा झक्झक्याइ रहन्छ । हेटौंडास्थित एक घनिष्ठ परिचितको घरमा बास बस्न पुगें । ठूलो र भव्य महलको भर्याङमुनि ओत पाएँ । आफूसँगै लिएर गएको संसाधन बिछ्याएर आधामा सुतें र आधाले जीउ ढाकें । हुनत यस्ता कुराहरू याद गर्नु नपर्ने हो । तर त्यो परिस्थितिले सधैं घोंचिरहने मूल कारण हो, उनी हाम्रो परिवारको अति निकटस्थ पात्र थिए । उनीसँग कल्पना गर्न नसकिने व्यवहारको म साक्षात् भुक्तभोगी बनें । बसभाडाको अतिरिक्त पैसा नभएकै कारण उनको घरमा एक रात शरण लिन पुगेको थिएँ ।
जेहोस्, परीक्षा दिएर हेटौंडाबाट फर्केको केही महीनापछि परिणामसँगै अन्तर्वार्तामा उपस्थित हुनेबारे पत्र हुलाकमार्फत आयो । मुखियामा क्रम सङ्ख्या २ तथा खरिदारमा क्रम सङ्ख्या १ मा नाम निस्कनु अत्यन्तै सुखद क्षण थियो । निर्धारित समयमा अन्तर्वार्ता दिन हेटौंडा गएँ । यद्यपि अन्तिम परिणाम सुखद थिएन । असफल भएँ, तर हरेश खाइनँ । अपितु सकारात्मक सोचका साथ आगामी परीक्षाको तयारीमा जुटें ।
असफलतापछि सफल
विसं २०३७ सालमा अर्थ मन्त्रालय अन्तर्गत विभिन्न निकायहरूका लागि १६ वटा खरिदार पदको लागि लोकसेवा आयोगले विज्ञापन गरेको थियो । मैले पनि फाराम भरें । परीक्षा दिएँ । लिखित परीक्षामा उत्तीर्ण भएको र अन्तर्वार्तामा उपस्थित हुनेबारे जानकारी तब थाहा भयो, जब लोकसेवा आयोगको क्षेत्रीय कार्यालय, हेटौंडाले हुलाकमार्फत पठाएको पत्र प्राप्त भयो । निर्धारित समयमा हेटौंडा गएँ र अन्तर्वार्ता दिएँ ।
परीक्षाको तयारी तनमनले गरेको थिएँ । जाँच दिएँ । यद्यपि परिणाम पहिले जस्तै आउँला भन्ने डर पनि लागिरहेको थियो । युवावस्थामा विभिन्न खाले शङ्का–उपशङ्का उत्पन्न हुनु उमेरकै दोष हो । परिणाम आशङ्काविपरीत आयो । गाउँका बुबाका एकजना साथी जिल्ला हुलाक कार्यलय, पर्सामा कार्यरत थिए । उनी पत्र लिएर घरमा आइपुगे । अन्तिम नतीजामा मेरो नाम पनि आएको थियो । नियुक्तिपत्र बुझ्न लोकसेवा आयोगको मध्यमाञ्चल विकास क्षेत्रको मुख्य कार्यालय, काठमाडौं जानुपर्ने भयो ।
विद्यार्थी जीवनबाट कर्मचारीमा रूपान्तरण हुनु अत्यन्तै हर्षको विषय थियो । एकातर्फ काठमाडौंको पहिलो यात्रा र अर्कोतर्फ नियुक्ति पाउने चरम उत्कर्ष थियो । आर्थिक अभावका कारण हुलाकको सामग्री ढुवानी गर्ने ट्रकमा बुबाका साथीले चढाइदिए । म काठमाडौं हानिएँ । लोकसेवा आयोगको मध्यमाञ्चल विकास क्षेत्रको कार्यालय, सिंहदरबार परिसरभित्र बागदरबार पुगें । नियुक्तिपत्र पाइनँ । किनभने क्रम सङ्ख्या एकदेखि क्रमशः वितरण हुने जानकारी दिएर फर्काइयो । दोस्रो र तेस्रो दिन पनि पहिलो दिन जस्तै जवाफ सुन्नुपर्यो । सीमित पैसा थियो । जसोतसो दुईजना अटाउने साथीको कोठामा म पनि थपिएको थिएँ । बिहान खाना खाएर लोकसेवा आयोगको कार्यालय पुग्थें । नियुक्तिपत्र पाइने आशामा साँझ हुन्थ्यो र पुनः कोठामा फर्किन्थें ।
त्यति बेला गोरखापत्रको महाप्रबन्धक भारतदत्त कोइराला थिए । कामविशेषले उनको ओहोरदोहोर वीरगंज भइरहन्थ्यो । एक कार्यक्रममा उनीसँग मेरो चिनजान भएको थियो । एक दिन उनको कार्यालयमा पुगें । चिट लेखेर दिएपछि उनले बोलाए । वीरगंजमा भेट भएको बताएपछि उनलाई स्मरण भयो र चिने । के काम छ ? किन आएको ? उनले सोधेपछि मैले आफ्नो पीरमर्का सविस्तार सुनाएँ ।
उनले मलाई आफूसँगै लिएर लोकसेवा आयोगको केन्द्रीय कार्यालय, कमलपोखरी पुगे । त्यति बेला लोसेआका अध्यक्ष कृष्णबम मल्ल थिए । उनलाई मेरो समस्याबारे अवगत गराए । लोसेआ मध्यमाञ्चलका प्रमुख प्रेम नरसिंह रानालाई बोलाए र सोधे । मल्लले सिफारिश भएका उम्मेदवारहरूमध्ये जो आउँछ, त्यसलाई नियुक्तिपत्र दिंदै जाने निर्देशन दिएछन् । सोही दिन मैले नियुक्तिपत्र पाएँ । कर्मचारीहरूको बदनियतका कारण मैले दुःख भोग्नुपरेको थियो ।
वीरगंजमा बहाली
अर्थ मन्त्रालय अन्तर्गत रहेको तत्कालीन ‘कोष तथा तहसिल कार्यालय’ विसं २०३६ सालमा ‘मालपोत कार्यालय’ मा परिणत भएको थियो । त्यसैको लागि लोकसेवा आयोगले कर्मचारी माग गरेको थियो । अन्ततः मालपोत कार्यालय, वीरगंजमा बहाली भएँ । मसमेत ऋषिराम कटवाल, टङ्क भट्टराई तथा मोहन रिजाल गरी चारजनाको नियुक्ति मालपोत कार्यालय, वीरगंजमा भएको थियो ।
विसं २०५१ सालमा मालपोत कार्यालय, कलङ्की सरुवा भयो । त्यहाँ जग्गा प्रशासन शाखामा कार्यरत थिएँ । नायब सुब्बामा आन्तरिक बढुवाको लागि विज्ञापन भएको थियो । मैले पनि फाराम भरें । अन्तिम नतीजामा मेरो नाम थिएन । नायब सुब्बा पदको लागि न्यूनतम शैक्षिक योग्यता इन्टरमिडिएट पास चाहिन्थ्यो, जुन मैले पेश गरेको थिएँ । केही प्रतिस्पर्धीहरूले स्नातक तहको शैक्षिक योग्यता पेश गरेका रहेछन् । स्नातक तहकालाई बढी अङ्क दिएको कारण म बढुवामा परिनँ । ‘मरता क्या नहीं करता’ भनेझैं म अदालतको शरणमा पुगें । रिट दायर गरें ।
कात्तिक महीना थियो । छठ पूजाको लागि घरपरिवारसँगै म पनि व्यस्त थिएँ । काठमाडौंबाट फोन आएको भन्दै गाउँको एकजना बच्चाले बोलाउन आयो । त्यति बेला भिएचएफ प्रणालीको सञ्चार सेवा गाउँमा थियो । कसले फोन गरेको हो ? भन्दै मनमा कौतूहलता उत्पन्न भयो । म पिसिओमा गएँ । फोन गरेको साथीसँग संवादको क्रममा उताबाट जे सुनें, त्यो मेरो जीवनको सबैभन्दा बढी उत्साहप्रद क्षण थियो । उनले अदालतको फैसलाबारे मलाई जानकारी दिनको लागि फोन गरेका थिए ।
अदातलको फैसलाले मेरो पद बढुवा सम्भव भयो । विसं २०५५ सालमा खरिदारबाट नायब सुब्बा पदमा बढुवासँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौचरमा पदस्थापित भएँ । कर्मचारी प्रशासन महाशाखा अन्तर्गत उड्डयन शाखामा झन्डै छ महीना कार्यरत रहें । त्यसपछि मैचुअल गरी जिल्ला प्रशासन कार्यालय, काभ्रे सरुवा भएँ । भोजपुर, जलेश्वर, रौतहटलगायतका थुप्रै स्थानमा सेवा गरेको छु । केही समयपछि जिप्रका, काभ्रेबाट मैचुअल गरी मालपोत कार्यालय, वीरगंज आएँ । विसं २०५८ सालमा पद बढुवा भई अधिकृत तहमा जिम्मेवारी वहन गर्न थालें । विसं २०७४ माघ महीनामा अनिवार्य अवकाश भई अहिले सेवानिवृत्त जीवन पत्नी, छोरा–बुहारी तथा नातिनातिनाहरूसँग बिताइरहेको छु ।
लगनगाँठो
विसं २०३७ सालमा पर्साको तत्कालीन लहावरथकरी गाउँ पञ्चायतको मैनपुर निवासी मथुरा तिवारीकी छोरी शोषिता मिश्रसँग वैवाहिक सूत्रमा बाँधिएँ । विवाहमा कुनै प्रकारको तडकभडक थिएन । म पालकी चढेर विवाह गर्न गएको याद छ । जन्ते साइकल र बयलगाडामा गएका थिए । पहिले तिलकोत्सव भयो र सोको एक सातापछि वैवाहिक कार्यक्रम थियो । विवाहसँगै दुलही बिदाइ भएकीले गौना गर्नुपरेन । दोङ्गा चाहिं भएको थियो ।
सेवाग्राही जागरूक हुनुपर्छ
सेवाग्राहीहरूको सर्वाधिक भीड हुने कार्यालयहरूमध्ये मालपोत कार्यालय पनि एक हो । कतिपय कार्यालयमा कर्मचारी अभावमा सेवाग्राहीको काम समयमा नहुने समस्या छ भने कतिपय सेवाग्राहीले द्रुत सेवाबापत कर्मचारीलाई प्रलोभन दिने समस्या विद्यमान छ । कामको चाप अनुसार दरबन्दी थप गर्नु वा दरबन्दी बमोजिम कर्मचारी खटाउनु सरकारको दायित्व हो । त्यस्तै कानूनविपरीत कार्य नगर्ने शपथ खाएका कर्मचारीले आचरणविरुद्ध क्रियाकलाप गर्नु निन्दनीयबाहेक केही हुन सक्दैन ।
जुनसुकै कार्यालय किन नहोस्, सबै कर्मचारी एकै मानसिकताका हुँदैनन् । समाजमा कोही आफ्नो प्रतिष्ठालाई महत्वपूर्ण ठान्छन् भने कोही पद र प्रतिष्ठाको शून्य ख्याल नगरी अर्थोपार्जनमा केन्द्रित रहन्छन् । कुनै पनि अनियमितताशून्य कामकार्यवाहीको सन्दर्भमा सेवाग्राही जागरूक हुनु बढी जरुरी छ ।
अहिले तीन तहको शासन प्रणाली छ । त्यसमध्ये आमजनताको सबैभन्दा नजीक स्थानीय सरकार हो । स्थानीय तहहरूले पालिकास्तरमा मालपोत कार्यालयको काम, कर्तव्य र अधिकारबारे जनचेतना प्रवाह गर्नु नितान्त आवश्यक छ । कुन कामको लागि सरकारी दस्तुर कति लाग्छ ? कति समय लाग्छ ? कुन काम कुन फाँटको हो ? यसको अलावा जग्गाजमीनसँग सम्बन्धित कागजातहरू जस्तै नक्शा, ट्रेस, श्रेस्ता, फिल्डबूक, क्षेत्रफल र चौहदी आदि जग्गालाई प्रमाणित गर्ने आधारहरूबारे जागरूक गराउनुपर्छ । सेवाग्राहीलाई भ्रममा पारेर अतिरिक्त लाभ लिने दलालहरूको समाजमा कमी छैन । त्यस कारण आफू जागरूक भए मात्र अरूले लाभ लिन सक्दैन वा त्यस्ता कर्मचारी वा लेखनदास वा दलालहरूको प्रतिकार गर्न सकिन्छ ।